समाचार

मोदीले गरे ओलीलाई फोन, कालापानीसहित बाँकी विषय समाधान गर्ने सहमति

मोदीले गरे ओलीलाई फोन, कालापानीसहित बाँकी विषय समाधान गर्ने सहमति

काठमाडौंः भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी दुई देशबीचका समस्या समाधान गरी सम्बन्ध थप सुदृढ बनाउने प्रस्ताव गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा शुभकामना दिन मोदीले बुधबार बिहान ओलीलाई टेलिफोन गरेका थिए । 

दुई प्रधानमन्त्रीबीच दुई देशका समस्या समाधान गर्ने सहमति भएको प्रधानमन्त्री ओलीका कूटनीतिक मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए । उनका अनुसार बिहान साढे १० बजे प्रधानमन्त्री ओली र मोदीबीच संवाद भएको हो । संवादमा कालापानी उल्लेख नगरी दुई देशका समस्या समाधान गर्दै सम्बन्ध थप सुदृढ गर्ने सहमति भएको छ । 

‘सन् २०१९ मा नेपाल र भारतको सम्बन्ध सुमधुर रहेको र सन् २०२० मा दुई देशबीच बाँकी विषय समाधान गर्दै सम्बन्ध थप सुदृढ गर्न दुवै प्रधानमन्त्रीहरूबीच सहमति भएको छ,’ टेलिफोन संवादबारे जानकार डा. भट्टराईले  भने । प्रधानमन्त्रीबीच कालापानीलगायत समस्याबारे भने छलफल नभएको भट्टराईले बताए । 

मोदीले पछिल्लोपटक १४ मंसिरमा ओलीलाई चिठी लेखेर स्वास्थ्यलाभको कामनासहित आवश्यक परे भारतमा उपचार गर्न प्रस्ताव गरेका थिए । त्यसको एक महिनापछि टेलिफोन संवाद भएको हो । ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएको भट्टराईले बताए । 

टेलिफोन वार्ताबारे प्रधानमन्त्री ओलीले बुधबार बिहानै ट्विटसमेत गरेका छन् । उनले भनेका छन्, ‘हामीले नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान गर्‍यौँ । दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सन् २०१९ सफल रहेको र बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई अझै उचाइ पुर्‍याउन सन् २०२० सफल रहनेमा हामीले विश्वास व्यक्त गर्‍यौँ । मैले प्रम मोदीलाई नेपाल भ्रमणका लागि पुनः आग्रह गरेँ ।’ तर, टेलिफोन संवादबारे मोदीको व्यक्तिगत ट्विटर ह्यान्डलबाट भने केही उल्लेख छैन । प्रधानमन्त्री कार्यालयको ट्विटरबाट भने बुधबार साँझ जानकारी दिइएको छ । 

प्रधानमन्त्रीद्वयले बाँकी विषयमा समाधान खोज्न छलफल गरेपछि कालापानीसम्बन्धी दुई देशका विदेशसचिवस्तरीय वार्ताका लागि सकारात्मक माहोल बनेको कूटनीतिज्ञहरूको बुझाइ छ । पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराईले प्रधानमन्त्रीद्वयको संवादको परिणाम दुई देशको राजनीतिक र प्राविधिक (प्रशासनिक) तहमा पनि पर्ने जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

कालापानी नरेन्द्र मोदी केपी शर्मा ओली टेलिफोन सहमति