समाचार

एउटा खसीको कर १००, राँगाभैसी र तरकारीको ५ सय!

एउटा खसीको कर १००, राँगाभैसी र तरकारीको ५ सय!

बैतडीः स्थानीय सरकारले लगाएको करको सास्तीमा सर्वसाधारण पर्न थालेका छन् । स्थानीय सरकारले सडकमा ढाट नै तेस्र्याएर पशु निकासीमा चर्को कर असुल्न थालेका हुन् । त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपियाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपियाँ छ । स्थानीय सरकारले निकासी कर लिन ठाउँठाउँमा ठेक्का नै दिएको छ ।

ठेकेदारले खसीबोका र राँगाभैँसी देख्नेबित्तिकै सडकमा तेस्र्याएको ढाटको डोरी तानेर सडक बन्द गर्छन् । खसीबोका र राँगाभैँसी गनेर खनखनी पैसा लिएपछि मात्र ढाट खुल्छ । पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकाले कार्यपालिकाबाट निर्णय नै गरेर खसीबोका हिँडाएको निकासी कर लिने निर्णय गरेको छ ।  

पाटन नगरपालिकाले दशरथचन्द मार्गको अनार खोली र दोगडाकेदार गाउँपालिकाले महाकाली मार्गको सिल्लेगाडा सडकमा ढाट राखेका छन् । नगरपालिका भएर जाने खसीबोका र राँगाभैँसीमा निकासी कर लिने नगर कार्यपालिकाको निर्णयअनुसार कर लिने गरेको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल महराले बताएको छ ।

दोगडाकेदार गाउँपालिकाले खसीमा एक सय र राँगाभैँसीमा पाँच सय रुपियाँका दरले कर लिने निर्णय गरेर ठेकेदारलाई तीन लाख रुपैयाँमा ठेक्का दिएको छ । २०७६ साउनदेखि पुससम्म डेढ लाख रुपियाँ कर असुल भएको दोगडाकेदार गाउँपालिकाका कर्मचारी अम्बादत्त जोशीले जानकारी दिए । पाटन नगरपालिकाले लगाएको अनार खोली ढाटमा तरकारीको समेत निकासी कर तिर्नु परेको किसानले गुनासो गरेका छन् । गाउँगाउँबाट तरकारी सङ्कलन गरेर जिल्लाबाहिर पठाउँदै आएका किसान केशवदत्त भट्टले एक गाडी तरकारी निकासी गर्दा पाँच सय रुपियाँ कर तिर्नु परेको दुःखेसो पोखे। यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो । 

खसी कर बैतडी राँगाभैसी

विशेष