खेल

बिग बास लिगः १२औँ म्याचका लागि पनि टिममा अटाए सन्दीप

बिग बास लिगः १२औँ म्याचका लागि पनि टिममा अटाए सन्दीप

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आफ्नो १२ औँ म्याचका लागि मेलबर्न स्टार्सले टोली घोषणा गरेको छ । मेलबर्नले आज ग्लेन म्याक्सवेलको कप्तानीमा १३ सदस्यीय टोली घोषणा गरेको हो । 

१२ औं खेलका लागि पनि नेपाली लेग स्पिनर सन्दीप लामिछाने टीममा मौका पाएका छन् । सोमबार हुने सिड्नी सिक्सर्स विरुद्धको खेलमा नाथन कल्टर–नाइललाई मेलबर्नले विश्राम दिएको छ । उनको स्थानमा अर्का फास्ट बलर ज्याकसन कोलम्यानलाई मौका दिइएको छ ।

अघिल्लो खेलमा कोलम्यानलाई सामान्य चोटका कारण आराम दिइएको थियो । उनले आफ्नो पहिलो खेलमै शानदार बलिङ गरेको थिए । र,कोलम्यान ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । ११ म्याच खेल्दा मेलबर्नले १० म्याचमा जित हासिल गरेको छ । उसले एडिलेट स्टाइकर्स विरुद्धको खेलमा मात्र झिनो रन अन्तरले हार बेहोरेको थियो ।

मेलबर्नले १० खेल जित्दै २० अंक जोडेको छ । र, सन्दीपआवद्ध स्टार्स अंक तालिकाको शीर्ष स्थानमा छ । यता सिड्नी सिक्सर्सले ११ म्याचमा ६ खेल जितेको छ । र, उसले १३ अंक बनाएको छ । मोइसिस हेनेरिक्स कप्तान रहेको सिक्सर्स अंक तालिकाको दोस्रो स्थानमा छ । सिक्सर्समा टम करन, जेम्स विन्स, नाथन लायनलगायत स्टार क्रिकेटर छन् । 

सिक्सर्सविरुद्ध खेल्ने मेलबर्नको टीमः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, ज्याक्सन कोलम्यान, बेन डंक, सेब गोच, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, निक म्याडिन्सन, जोनाथन मेर्लो, लान्स मोरिस, मार्कस स्टोइनिस र डानियल वर्रल । 

मेलबर्नविरुद्ध खेल्ने सिक्सर्सको टीमः  ओस्टिन अभेन्डानोऽ ज्याक्सन बर्ड, टम कुरान, बेन द्वारशुइस, मिकी एडवर्ड्स, मोइज हेनरिक्स (कप्तान), ड्यान ह्युजेस, जेम्स विन्स, नाथन लायन, स्टीभ ओकिफ, जोस फिलिप, लोयड पोप र जोर्डन रेशम । 

 


 

बिग बास लिग बीबीएल सन्दीप लामिछाने