कला साहित्य

हो, अब म दीर्घकालीन र सार्थक प्रेरणा लिन सक्छु

हो, अब म दीर्घकालीन र सार्थक प्रेरणा लिन सक्छु

‘आहा ! आजको सूर्य त कस्तो राम्रो ! सलक्क सप्रेको रसिलो रातो–पहेंलो फलरूपजस्तो, कस्तो पावन पावन ! आजको बिहान त सुनौलो जीवनको सुरुवातजस्तो’ बिहानको स्वर्णीम छवि देखेर अकस्मात् मेरो मन फुरफुरायो ।
आजदेखि मैले नौलो सुरुवात गर्छु भनेको थिएँ प्रकृतिले पनि स्वागत गरेजस्तो लाग्यो । मेरा शरीरका कोष–कोषमा बिहानीको शीतल पवनले ढक्ढक्यायो । मानौँ शरीरका प्रत्येक कोषले ढोका खोलेर स्वागत गर्न छालामा काँडा उमारे । आङै जिरिङ्ग भयो ।

मेरो तन, मेरो मन पनि स्वच्छ भएजस्तो लाग्यो । ‘हो अब मैले नयाँ सुरुवात गर्न सक्छु’ मनमा उत्साह थपियो । एकछिनपछि सूर्यदेवले ऊष्ण नजरले हेर्नुभयो । मेरो मन सेलाउन थाल्यो, बिसाउन थाल्यो । ‘अहँ म सम्झिन चाहन्नँ ती विगतका दिनहरू, अब पुराना परिस्थितिहरूबाट म धोखा खाने छैन, अब म नयाँ दौड लगाउन चाहन्छु’ भन्दाभन्दै मनले पुर्याईसकेछ अतीतमा । यो मनको कुनै भरोसा छैन रहेछ । यसले आफ्नो मनपरि गरिरहेको हुन्छ । केही क्षणअगाडि जोश दिन्छ, अर्को क्षणमै होस लिन्छ । नसम्झिन खोज्दा–खोज्दै सम्झाउन भरसक प्रयास गरिरहेछ । जुन कुरा भुल्न चाहन्छु त्यसै कुरालाई याद गराइदिन्छ । जुन कुरा याद गर्न चाहन्छु, त्यो कुरालाई बोझ बनाइदिन्छ । कस्तो अनुशासनहीन मन । फेरि के नै गल्ती गरेको छु र ? तर मनले सयौँ तरिकाले विश्लेषण गर्न थाल्छ र गल्ती देखाइदिन्छ । गल्ती नै छैन भनेर जिद्दी पनि गर्न सक्छ । यस पटक पनि त्यस्तै ग¥यो । नचाहँदा–नचाहँदै सम्झिनै पर्यो  मेरो विगत ।

बालमनले के–के कुरा खेल्यो, कुन–कुन प्रेरणा लियो, त्याग्यो त्यसको कुनै हिसाब नै छैन होला । ‘ठूलो भएपछि के बन्छौ नानी ! बाबु ?’ भनेर सोध्दा बालओठले झट्ट जवाफ दिन्थ्यो, ‘ठूलो मान्छे’ । सायद सबैले ठूलो मान्छे बन्नू भनेर आशीर्वाद दिने हुनाले नै होला बाल मनोविज्ञानले त्यो कुरालाई अनुशरण गरेको । जति–जति ठूलो हुँदै गएँ प्रेरणा दिनेहरू थपिँदै गए, प्रेरणा लिनेहरू पनि बद्लिँदै गए । पहिले ठूलो मान्छे बन्छु भन्ने मेरा साथीहरू पनि अब ‘म डाक्टर बन्छु, इन्जिनियर बन्छु’ भन्न थालिसकेका थिए । मेरो मनले पनि त्यस्तै एउटा कुरा रोज्थ्यो । कक्षामा प्रथम नै हुनुपर्छ भनेर आफ्ना धेरैको बोलीविष पनि पिएँ ।

यो बन्नुपर्छ भनेर ठूला–बडाको ओठेदवाब पनि भोगी नै रहेँ । बोली अमृतको रूपमा सानालाई प्रेरणा दिने कार्य पनि सुरु भइसकेको थियो । समयको रफ्तारसँगै नयाँ प्रेरणाहरू थपिँदै गए, पुराना प्रेरणाहरू पनि थपघट हुँदै गए । अझ जवानीको जीवनले र जीवनको जवानीले नयाँ–नयाँ प्रेरणाको उतारचढाव नै व्यहोर्न थाल्यो । सिनेमा हेर्दा नायक–नायिका बन्ने, अस्पताल जाँदा डाक्टर बन्ने, हवाइजहाज देख्दा पाइलट हुने, कम्प्युटर देख्दा इन्जिनियर हुने जस्ता प्रेरणाले त साइकलको चक्काले बनाएको वृत्तजस्तै अगाडि बढाइरह्यो प्रेरणाको चक्र ।

प्रेरणा लिनेभन्दा दिनेहरूको पनि कुनै कमी थिएन । ‘हलक्क बढ्न लागेका युवामा त नयाँ जोश र जाँगर हुनुपर्छ । देशलाई नयाँ गति दिन तपाईँहरूजस्ता युवाहरूको आवश्यकता छ’ भनेर आफ्नो पक्षतिर डोर्याउने नेताको बोलीमा नौलो प्रेरणा पाउन थालेँ । तर देशको द्वन्द्वकाल कहिल्यै समाप्त भएन । नेताको बोली युद्धकालिन गोली दुवै एउटै सिक्का बनेँ । युवाहरूलाई प्रेरित गरेर आफ्नो स्वार्थ साध्न सफल भएका नेताहरूको चपेटामा परेको कुरा समयले धेरैपछि देखायो । अब त राजनेताको राजनीतिमा परेर राजतन्त्रमा फसिँदैन भनेर मनले नौलो प्रेरणा लियो । अब आफ्नो कार्यमा लाग्छु, आफ्नो लागि जिउँछु भनेर मनले सोचिसकेको थियो । विक्षिप्त भएको मनमा नयाँ पालुवा पलाउन खोज्दै थियो अर्को नौलो प्रेरणा पाएँ, ‘सत्सङ्गत गर्नुपर्छ, धर्मकर्म गर्नुपर्छ, अनि सबै ठीक हुन्छ, पीडित मनमा ईश्वर चिन्तन, ईश्वर भक्तिले शीतलता दिन्छ । एक चोटि सत्सङ्गतमा आएर त हेर । चित्त नबुझे नआउनू ।’ साथीको कुरा पनि ठीकै हो । एक पटक सत्सङ्गतको अनुसन्धान गर्दा के नै बिग्रन्छ र ? धर्मगुरुको प्रवचन मीठो लाग्न थाल्यो ।

उहाँको शब्द सञ्जालले नौलो विश्वको रचना गरेको जस्तो लाग्यो । सबै मानिसहरू कति शान्त ! कति सहनशील ! कति सहृदयी ! कस्तो अलौकिक वातावरण ! राजनीतिजस्तो राज छैन यहाँ, यहाँ त केवल सेवा छ, ज्ञान छ । यो संसार सबै व्यर्थ हो । वास्तविक ज्ञान अदृश्य छ । श्रद्धा, समर्पण र विश्वास उन्नतिका द्वारहरू हुन् । यस्तो प्रेरणाले समर्पित हुन थाल्यो मेरो समय । तर समयले दिएको प्रेरणा र प्रेरणाले लिएको समय एक–आपसमा विपरीत भएको कुरा समयले नै देखाउन थाल्यो । धर्मगुरुहरू धर्मनेताको रूपमा देखिन थाले । अदृश्य वातावरण दृश्य वातावरणमा रूपान्तरित हुन थाल्यो । अलौकिक आनन्द लौकिक पीडाभन्दा पनि असह्य हुन थाल्यो । राजनेताले त केवल जनताको बाहिरीमनमा प्रेरणा दिएर आफ्नो स्वार्थ सिद्धि गर्थे । धर्मनेताले त झन् प्रेरितको भित्री मनमा प्रभाव पारेर आन्तरिक शासन गर्ने गरेको कुरा प्रष्ट हुन थाल्यो ।

अनेकौँ परिस्थितिले सिर्जना गरेको प्रेरणाले दिएको धोखा र विभिन्न धोखाले दिएको प्रेरणाले अगाडि बढिरहेको जिन्दगी अब पूर्णरूपमा विक्षिप्त भइसकेको छ । तैपनि चन्द्रमाको शीतलता र सूर्यको तापको रापमा प्रेरणाले झझल्को देखाउन भने अझै छाडेको छैन । त्यसैले नै होला कति समयसारिणी बनायो यो मनले । कतिलाई पालना गर्यो, कतिलाई गर्न सकेन प्रेरणाकै कथामा लेखिएको छ । आज पनि बिहानीको नौलो किरणको ऊर्जाले दिन खोजेको नयाँ जीवनको प्रेरणा र सूर्यको प्रकाशपुञ्जसँगै झझल्किएको विगतको तापले फेरि हतोत्साहित गर्न खोजिरहेको छ ।

तर अहिले एउटा नौलो प्रेरणा फुरिरहेको छ । जुन अहिलेसम्मका सबै प्रेरणाको समष्टिगतस्वरूप हुन सक्छ । हो, विगतका परिस्थितिहरू अब पीडा हैन नौलो मार्गदर्शक बन्न सक्छन् । विगतमा भोगेका र भोगिएका दुःखहरू अब बलियो बन्ने आधार बन्न सक्छन् । हो, अब म दीर्घकालीन प्रेरणा लिन सक्छु । अब कालो रातपछिको मायालु निद्राले पाएका प्रेरणाहरू सपनामा रूपान्तरित गर्ने छैन । अब प्रेरणाको लागि बिहानीको शीतलता पर्खिने छैन । यो पल, यो क्षण, यो समयमा नै मैले पाउन सक्छु। 

-सबिन लामिछाने