समाचार अपराध सुरक्षा

भीआईपी र भीभीआईपी एरियामा सुरक्षा ‘हाइअर्लट’ !

भीआईपी र भीभीआईपी एरियामा सुरक्षा ‘हाइअर्लट’ !

काठमाडौँ - काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । प्रतिबन्धित विप्लव समूहले बुधबार साँझ नागार्जुन र बालुवाटारमा एकै समयमा बम विस्फोट गराएपछि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको हाे ।

गृह मन्त्रालयको ठाडो निर्देशनमा उपत्यकाका भीआईपी र भीभीआईपी बसोबास तथा आवतजावत गर्ने स्थानहरु ‘लोकेटेड’ गरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले बताएको छ । बम विस्फोट लगत्तै गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए ।

बादलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन् । काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु तथा विभिन्न दलका नेताहरु बसोबास गर्ने स्थानहरुमा सुरक्षा व्यवस्था थप कडा पारिएको हो ।

माघ १ गते बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लव समूहले बम विस्फोट गराएको थियो । त्यस्तै सोही दिन ललिता निवास परिसरमै पनि कुकर बम विस्फोट भएको थियो । यी दुवै घटनाको जिम्मेवारी नेकपा विप्लव समूहले लिएको छ ।

सो समूहले राज्यको सम्पत्ति व्यक्तिले चरम रुपमा दुरुपयोग गरेको भन्दै सो प्रकरणमा जोडिएकाहरुलाई लक्षित कारबाही थालेको विप्लव निकट एक नेता बताउँछन् । प्रधानमन्त्री, प्रधान्यायाधीश र सभामुखलगायतको निवास रहेको बालुवाटार क्षेत्रमा विप्लव समूहका कार्यकर्ताले बम राखेपछि सुरक्षा चुनौती थपिएको महसुस गर्दै प्रहरीले बम विस्फोटको घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

एसएसपी सुवेदीका अनुसार मुख्य गेट छलेर तारबार गरेको ठाउँबाट उक्लिएर बालुवाटारस्थित ललिता निवास परिसरमा बम राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसएसपी सुवेदी भन्छन्, ‘ विप्लव समूहले थप आक्रमण गर्नसक्ने भन्दै बालुवाटरलगायतका स्थानहरुमा सुरक्षा सतर्कता बढाइएको छ ।’