समाचार

बिष खुवाएर २ छोराको हत्या गर्ने महिलालाई जन्मकैद

बिष खुवाएर २ छोराको हत्या गर्ने महिलालाई जन्मकैद

दैलेख। घरेलु झगडामा आफ्नै कोखबाट जन्मिएका २ सन्तानलाई विष खुवाई हत्या गर्ने महावु गाउँपालिका–१ खरीगैराकी २४ वर्षीया कल्पना नेपालीलाई जिल्ला अदालत दैलेखले जन्मकैद फैसला गरेको छ । 

सोमवार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले सो फैसला सुनाएको हो । २ जना छोरालाई विष खुवाई हत्या गरेको भन्दै दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।  गत २०७५ कात्तिक १० गते दिउँसो घरमै आमा कल्पनाले खाजामा विष मिसाएर खुवाउँदा उनका ३ र ७ वर्षीय छोरा क्रमशः अमित र आयुष नेपालीको मृत्यु भएको थियो ।

विष लागेको थाहा पाएपछि स्थानीयले अस्पताल लैजाँदै गर्दा आयुषको बाटैमा र अमितको २०७५ कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको थियो । आफन्तले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०७५ कात्तिक १६ गते आमाको नाममा जाहेरी दर्ता गराएका थिए ।

२ वटैको शव परीक्षण प्रतिवेदनबाट विष खुवाएर नाबालकको मृत्यु भएको उल्लेख गरिएको छ । २०७५ कात्तिक २० गते आरोपित आमा कल्पनालाई हिरासतमा लिई विष खुवाई कर्तव्य ज्यान लिएको मुद्दा चलाएको थियो । 

२०७५ मंसिर १० गते प्रहरीले अनुसन्धान सकेर जिल्ला अदालतमा दर्ता गराएपछि आरोपितलाई पुर्पक्षका लागि दैलेख जिल्ला अदालतले जिल्ला कारागार थुनामा पठाएको थियो । २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी कसूर सजाय ऐन २०७४ को दफा १७७ बमोजिम ज्यान मारेको ठहरेको र सोही ऐनको दफा ४१ बमोजिम खाद्यवस्तुमा विष हाली मारेको कारण खुलेकाले जन्मकैद गरिएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए ।

जन्मकैदको अवधि २५ वर्ष हुने ऐनमा उल्लेख गरिएको छ । राजधानी दैनिकबाट 

महिला जन्मकैद