हाम्रो पात्रो विज्ञापन
कला साहित्य

अभावले दिएको दबाव

अभावले दिएको दबाव

काठमाडौं आएको तिन महिना भईसकेको थियो,  त्यसैले म आर्थिक मन्दीको चपेटामा पिल्सिन थालिसकेकी थिएँ। कामको लागि अन्तर्वार्ता दिन त जान्थें तर काम गर्न पनि अनुभव चाहिने रहेछ । अझ चिनेजानेका मानिस चाहिने रहेछ । जागिरको लागि भन्दै मैले फेसबुकको भित्ताहरुदेखि सडकको भित्ताहरुमा टाँसिएका कर्मचारी आवश्यकताका कुनै पोस्टर बाँकी छाडिन। अझ त्यतिबेला म हरेक दिन पत्रिका हेर्ने भएकी थिएँ, कर्मचारी आवश्यकतावाला पाना पल्टाउनका लागि।

एक दिन फोन गरेर गएको पनि थिएँ, खै के के भन्यो केही बुझिन । जागिर पाउनु छ भने एउटा फारम भर्नुपर्छ भनेर लगायो । आफूसँग अब जम्माजम्मी ३०० मात्र बाँकी थियो । त्यहि पनि बुझाईदिएँ । नत जागिर पाईयो न आफूसँग भएको पैसा नै बाँकी रह्यो । भोलिपल्ट कलेज जाने बेला म संग जम्मा १० रुपैंयाँ मात्र बाँकी थियो । त्यसो त कलेज पुग्न मलाई गाडिमा नै आधि घण्टा लाग्थ्यो । फेरि त्यो दिन कलेज जानैपर्ने थियो । त्यसो त म हत्तपत्त क्लास छुटाउने विद्यार्थी पनि थिईन। १० रुपैंयाँ तिरेर कलेज त पुगें । कलेजबाट फर्कने बेला समस्या भयो । आफूसँग पैसा थिएन, हिंडेर कोठासम्म पुग्न सम्भव पनि थिएन।

बाटोमा माग्दै गरेको एकजना माग्नेलाई देखें । उसको कचौराभरी पैसाले भरिएको थियो, आफ़्मो खल्ती भने रित्तो रित्तो । म त्यो माग्ने भन्दा पनि गरिब थिएँ । कत्रो सपना बोकेर शहर पढ्नआएको , समयले माग्ने भन्दा पनि गरिब बनाईदियो, मनमनै सोच्दै बसस्टपतिर लागें । बसस्टपमा धेरैबेरसम्म एकोहोरिएर बसें । धेरै गाडिहरु ओहोरदोहोर गर्दै थिए,तर मलाई लैजाने गाडि भने कुनै थिएन, किनकि म संग १० रुपैंयाँ थिएन । 

त्यत्तिकैमा, एकजना खलासी 'कालिमाटी, कलंकी आउनुस आउनुस' भन्दै लयात्मक शैलिमा चिच्याईरहेको देखें । यसो हेरेको गाउँको भाइ पो रहेछ । 
भाइ तिमी यहाँ ? मैले सोधें।
'अँ दिदी ! पढाइ छाडिहालें । आमाबाबासँग पैसा छैन ।घरमा खान अन्न दाना समेत छैन । के गरेर बस्नु । बरु बसको ढोका ढकढकायो भने त खान पनि पाईने, पैसा पनि हुने अलिअलि' उसले मुसुक्क हाँस्दै जवाफ दियो।

'यो भाइ त कति भाग्यमानी, काम पनि छ दाम पनि छ । खलासीकै काम पाएको भए पनि गर्थें होला बरु ।' मनमनै सोचें ।
दिदी के सोचेको? काँ जाने हो तपाईं ?
म कलंकी 
यसमै चढ्नुस उसो भए । हाम्रो बस नि कलंकी जाने हो । 
मलाई ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो। सरक्क गाडिमा बसें र कलंकीमा ओर्लिए । भाईले मसंग भाडा माग्दा पनि मागेन, मागेको भए पनि थिएन। भोक लागिरहेको थियो । कोठामा पुगेर यसो हेरेको बोरामा चामल त थियो तर तरकारी थिएन । फेरि तरकारी किन्ने पैसा पनि थिएन । खानेपानी सकिएको रहेछ । गाडि भाडा नहुनेसंग पानी किन्ने पैसा कहाँबाट होस् ? जसोतस‍ो छाक टारें । 

काम थिएन अनि दाम पनि थिएन । त्यसै, बिरक्तिएर बसिरहेकी थिएँ । त्यहिबेला दुईजना महिलाहरुले कुरा गर्दै हिंडेको सुनिहालें कि घर बनाउने ठाउँमा दिनभर बालुवा चाल्यो भने ८०० दिन्छ । म उनिहरुलाई पछ्याउँदै बालुवा चाल्ने ठाउँसम्म पुगें र ती दिदीहरुलाई मलाई पनि काम मिलाईदिन आग्रह गरें। 

'तिमी यति सानी, कलिलो छौ, मेरी छोरी जस्तै । तिमीले कसरी काम गर्छौ नानू ? सक्दैनौ , नगर,' दिदीले मायालु स्वरमा भन्नुभयो ।
पैसा र अभावले ममा भित्रै देखि शक्ति जगाईदिएको थिय‍ो । 'म गर्न सक्छु दिदी । मैले पहिला गाउँमा हुँदा पनि यस्तो काम गर्थें ।' मैले भनें । दिदीले मलाई पनि काम मिलाईदिनुभयो । 
म टाउकोमा नातो र कम्बरमा पटुका कसेर बालुवा चाल्न सुरु गरें । दिनभर काम गरेपछि बेलुका ८०० सय बोकेर कोठामा फर्किएँ । थकानले जिउ पुरै दुखेको थियो । खाना बनाउन सकिन । चिया र बिस्कुट खाएर सुतें । कतिबेला निदाएछु पत्तै पाईन। बिहानै बजेको मोवाईलको रिङले ब्युझाईदियो । ममीको फोन रहेछ ।
'छोरी कलेज कस्तो हुँदैछ ? अनि काम पायौ?' ममीले सोधिहाल्नुभयो ।
म उत्तरविहिन थिएँ, मधुर स्वरमा भनें, 'अँ राम्रो हुँदैछ, काम पनि गर्दैछु ।'
'के'मा काम गर्न थालेउ?'
अब झनै जवाफविहिन थिएँ म । 'अँ ममी एउटा कम्पनी छ, त्यसमै हो ।' मैले जवाफ दिएँ ।
हुन पनि हो, मैले जिवनमा सोच्दै नसोचेको कम्पनीमा काम गर्दै थिएँ । बालुवा चालेर खानु नराम्रो कुरा त होईन, तर एउटा १७ वर्षकि केटीले आफ्नो पढाई खर्च ,दैनिकी र हातमुख जोड्नकै लागि वालुवा चाल्नुपर्ने अवस्था आउनु निकै दुख लाग्दो कुरा थियो।

'होर ! मेरी छोरी पनि जागिर खाने भैसकी। मैले भनेकी थिएँ नि तिमीले जे पनि गर्न सक्छौ । देख्यौ अहिले जागिर खाने भयौ।' ममी खुसी हुँदै भन्नुभयो।

ममीले मप्रति जगाईदिनुभएको हौसला निकै सान्दर्भिक थियो । तर म जा...गिर खाईरहेकी थिएँ । गिर्दै थिएँ, आफु आफैसँग गिर्दै थिएँ। ममीको कुराले भक्कानो भुटेर आईसकेको थियो । ममीलाई साँचो कुरा भन्न सक्ने सामर्थ्य पनि थिएन ममा । किनकी म आफ्नो जिद्दीले शहर पढ्न आएकी थिएँ। ममीले त उति बेला नै भन्नुभएको थिय‍ो कि ' छोरी त्यो शहर हामी जस्तो गरिब र पैसा नहुनेहरुको लागि होईन, नजाउ ।
आफ्नो ईमोसनलनलाई कन्ट्रोल गरें । 'ममी पछि फोन गर्छु है' भन्दै फोन राखिदिएँ । 

बाथरुममा गएर आधि घन्टासम्म डाँको छाडेर रोएँ र मन हलुका बनाएँ। मेरो दुख पोख्ने ठाउँ केवल बाथरुम थियो । मेरो दुख सुनिदिने पनि बाथरुमबाहेक अरु कोहि थिएन। दिनभर बालुवा चाल्दा निकै गार्हो हुने रहेछ ।भोलिपल्टदेेखि म त्यो काम गर्न असमर्थ थिएँ । एक दिन दुई दिन गर्दै ८०० सकिन कत्ति बेर पनि लागेन ।
अब के गर्ने? मन ढुकढुक हुन थाल्यो । मेरा हातमुख सुक्ने दिन फेरि फर्किए भनेर । 

म भोकले छटपटिन थालें, चिन्ता र रोगले छटपटिन थालें, शोख नभै शोकले छटपटिन थालें । थाहा छैन अाखिर जिन्दगीले छल्ने र छलाउने क्रम कहिलेसम्म जारि राख्छ। थाहा छैन, अभाव र गरिबीले निम्त्याएको अागो र छटपटिलाई कहाँको पानी खन्याउँदा शान्ति मिल्छ । सायद खाडिको हावाले निभाउन सक्छ ।

मैले भुत, बर्तमान र भविष्यसम्मका सारा लक्ष्यहरुलाई चटक्क छाडेर खाडी जाने निर्णय गरें । भोलिपल्ट म पनि पासपोर्ट बनाउन लाम लागेका युवाहरु संगै मिसिन पुगें । उनिहरुका कथा नि उस्तै रहेछन। घाउहरु मेरा भन्दा पनि निकै गहिरा र पेचिला रहेछन।  

#बाध्यता
ADVERTISEMENT