भिडियो Breaking News कभर स्टोरी

राष्ट्र निर्माता पृथ्वीनारायण शाह नेपाल र नेपालीका गौरव ( भिडियोसहित ) 

राष्ट्र निर्माता पृथ्वीनारायण शाह नेपाल र नेपालीका गौरव ( भिडियोसहित ) 

भरत बस्नेत पृथ्वी विचारका अभियन्ता हुन् । पर्यटन व्यावसायी भएपनि बस्नेत राजनीतिक गतिविधि र समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । 

नेपालमा गणतन्त्र आएसंगै पृथ्वीनारायण शाहको अपमान र उनीप्रति घृणा फैलाइएपछि बस्नेत राजनीतिक मैदानमा आएका हुन् । पृथ्वीनारायण शाह राष्ट्र निर्माता भएको र उनी सम्पूर्ण नेपालीका नायक भएको उनको भनाइ छ । कुनै दलमा आबद्ध नभएपनि उनी नेपालमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि अभियान चलाइरहेका छन् । 

बस्नेत भन्छन्, ‘ २०६२/०६३ सालको आन्दोलनपछि तत्कालिन माओवादीले पृथ्वीनारायण शाहप्रति निकै घृणा फैलायो । शाहलाई सामन्तीको नाइकेकारुपमा चिनायो । देशभर शाहका शालिक तोडे । माओवादीको यो गलत कामको नेकपा एमाले र कांग्रेसले विरोध गर्न सकेनन् । उनीहरु पनि माओवादीको लहलहैमा लागे । ’

बस्नेतको भनाइमा पृथ्वीनारायण शाहप्रति अनास्था फैलाउनु भनेको राष्ट्रप्रति नै कुठाराघात गर्नु हो । यो माटोप्रतिको बेइमानी हो । पृथ्वीनारायण शाहले देश एकीकरण नगरेको भए आज यीनिहरु कहाँ हुन्थे ? नेपालीको मनमनमा पृथ्वीनारायण छन् । थुप्रै दलका नेताहरु पनि पृथ्वीनारायण शाहप्रति नतमस्तक छन् । तर, दुई चार जना आफूलाई क्रान्तिकारी भन्नेहरु शाहको अपमान गरिरहेका छन् । उनीहरु आफना कमजोरी लुकाउन शाहको बदनाम गरिरहेका छन् । 

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनु भनेको राजावादी हुनु होइन । राजवादीले पनि धुमधामसंग एकता दिवस मनाइरहेका छन् तर पृथ्वी नारायण शाह राष्ट्र निर्माता हुन् । उनी जन्मदाता हुन् । उनको सम्मान गर्न कुनैपनि नेपाली हिच्कीचाउनु हुँदैन । 

२०६२/०६३ सालको आन्दोलनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भएकाबेला तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रस्तावमा पृथ्वी जयन्तीको विदा काटिएको हो । यो मुलुकमा नेपाली नेताहरुले राष्ट्रहीतमा एउटा पनि राम्रो काम गर्न सकेनन् । तत्कालिन कांग्रेस आईको दवावमा राजसंस्था फाले । युरोपियन युनियनको दवावमा हिन्दु राष्ट्र फाले । बदलामा अकुत धन सम्पत्ति थुपारे ।

आज मुलुकमा भ्रष्टाचारै भ्रष्टाचार छ । आफैले ल्याएको व्यवस्थाप्रति आफै सन्तुष्ट छैनन् । जनताको आक्रोश दिनप्रतिदिन बढिरहेको छ । एउटा असफल राष्ट्रको सूचीमा अंकित हुने स्थिति आएको छ । 

बस्नेत भन्छन्, ‘ मलाई लाग्छ अब दलहरु राजसंस्था र सेनालाई गुहार्ने स्थितिमा पुगिसके । आफना कार्यकर्तालाई राजसंस्था र सेनाको माग गर्न भित्रभित्रै यीनिहरुले परिचालन गर्छन् । जनता सडकमा आएपछि राजसंस्थालाई ‘स्पेस’ दिइनेछ । राजसंस्थासहितको व्यवस्थाले मुलुकलाई निकास दिनेछ । ’