भिडियो Breaking News कभर स्टोरी

नेविसंघको सभापतिमा पुष्पकुमार शाही लगभग निश्चित (भिडियोसहित ) 

नेविसंघको सभापतिमा पुष्पकुमार शाही लगभग निश्चित (भिडियोसहित ) 

नेपाली कांग्रेसले भदौ २४ गतेबाट सुरु गर्न लागेको दोस्रो चरणको जागरणसभामा नेविसंघ लगायत सबै भ्रातृ संगठनहरु उत्साहपूर्वक लाग्ने भएका छन् । सभापति शेरबहादुर देउवाले भ्रातृ संगठनका सम्बन्धमा उत्पन्न समस्या समाधान गर्न पहलकदमी लिए लगत्तै ती संगठनका नेताहरुमा पनि उत्साह थपिएको हो । 

सभापति देउवाले भ्रातृ संगठनहरुको अधिवेशन गर्न केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गरेका छन् भने भदौ मशान्त भित्रै नेविंसंघको तदर्थसमिति गठन गर्ने भएका छन् । हालसम्मको तयारी अनुसार कुनै दुर्घटना भएन भने नेविसंघको सभापतिमा पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पकुमार शाही हुने निश्चित भैसकेको छ । 

शाही भन्छन्, ‘ सभापति देउवासहित पार्टीका बहुमत शीर्ष नेताहरु मेरो नाममा सहमत भैसकेका छन् । यो लगभग निर्णय भए सरह हो । अब घोषणा हुन मात्र बाँकी छ । ’

‘नेविसंघको नेतृत्व चयन गर्दा कुनै नेताको खल्तीको मान्छेको भन्दा पनि उसको सक्षमता र इतिहास हेरिनुपर्ने शाहीको भनाइ छ । संगठनको उसको योगदान कस्तो छ ? नैतिकता र इमान्दारिता कस्तो छ ? व्यक्तिको क्रियाशिलता, सक्रियता, लगाव र समर्पण हेरेर मात्र नेतृत्वका विषयमा निर्णय गर्नुपर्ने हुन्छ । मैले जिल्लास्तरबाट गर्दै आएको काम र आजसम्मको योगदानको मुल्याङ्कनले भोलि पनि राम्रो गर्छु भन्नेमा नेताहरु ढुक्क छन् । म आफूमाथिको विश्वासलाई खरो रुपमा व्यवहारमा उतार्न सक्छु । ’ शाही बताउँछन् । 

आफूले भर्खरै सभापति देउवालाई भेटेर आएको र उहाँले भदौ मशान्त भित्रै नेविसंघको नेतृत्व टुंग्याउने वचन आफूलाई दिएको शाही बताउँछन् । हिजोको दिनमा नेविसंघ जे जसरी चलेपनि अब उपरान्त पुरानो विरासतको झल्को दिने गरी काम हुने उनको भनाइ छ । विद्यार्थी संगठनहरुले विद्यार्थीकै मुद्दा विर्षेको, जनजिविकाका सवालमा उदासिन भएको जस्ता थुप्रै गुनासाहरु अब सुन्नुपर्ने छैन । तदर्थसमिति बनोस मात्रै, नेविसंघ सबैका लागि त्राण  बनेर प्रस्तुत हुनेछ । 

पार्टीमा नेविसंघ लगायत बिभिन्न भ्रातृ संगठनको विषयमा नेता अनुसारको सिफारिस हुनु शाही स्वभाविक ठान्छन् । तर, निर्णय भैसकेपछि सबैले त्यसलाई स्वीकार गर्नुपर्छ । आफू बाहेक नेविसंघको नेतृत्वमा अरु कसैको पक्षमा निर्णय भएपनि आफूलाई आपत्ति नहुने उनको तर्क छ । तर, निर्णय गर्दा कसैमाथि अन्यायपूर्ण व्यवहार नहोस भन्नेतर्फ सचेत हुन भने जरुरी छ । 

शाहीका अनुसार कांग्रेसको दोस्रो चरणको जागरण अभियान सरकारविरुद्ध केन्द्रीत हुनेछ । नेकपा सरकारले गरेका जनविरोधी क्रियाकलाप, भ्रष्टाचार, कुशासन, महङ्गी, लोकतान्त्रिक मूल्य मान्यतालाई सिध्याउन ल्याइएका विधेयकका विषयमा देशभरका जनतासामु यथार्थ कुरा बताइनेछ । जनतलाई सचेत गराइनेछ । 

जहाँसम्म कांग्रेस भित्रको अनुशासनको कुरा छ त्यो त कडाइपूर्वक लागु हुँदैछ । सभापति शेरबहादुर देउवा नै यसमा गम्भीर हुनुहुन्छ । बिभिन्न सार्वजनिक कार्यक्रममा सभापतिले भने अनुसार नै पार्टीमा अन्तर्घात गर्नेहरुमाथि कारवाही प्रक्रिया अघि बढाइसकिएको छ । नेतृत्वविरुद्ध अराजक ढंगले गुटवन्दी गर्ने जिल्ला सभापतिहरुलाई पनि कारवाहीको दायरमा ल्याउनुपर्छ । 


    

ADVERTISEMENT