समाचार

एक महिनाअघि नै टीका र जमरा लगाएर दसैं मनाइयो !

एक महिनाअघि नै टीका र जमरा लगाएर दसैं मनाइयो !

गोरखा । यस वर्ष असोज २१ मा दसैं परेको छ। गोरखाका केही समुदायले भने भदौ १४ मै जमरा राखेर आइतबार टीका र जमरा लगाइ दसैं मनाएका छन्।

बिहान १० बजेको शुभ साइतमा सामूहिक रुपमा टीका लगाइएको सिरानचोक गाउँपालिका–४ छोप्राकको नेवा गुठी समाजका कुमार श्रेष्ठले जानकारी दिए।

पर्व सुधारअनुसार आइतबार दशमी परेको उनको बुझाइ छ। गुडी समाजमा आबद्ध ४८ घरले दसैं मनाएका हुन्।

‘अस्ति अष्टमी राँगो काट्यौं, हिजो नवमी पूजा गर्‍यौँ, आज दसैं मनाएका हौँ,’ उनले भने। २०६९ सालयता एक महिनाअघि दसैं मनाउन थालेको उनले बताए।

‘खगोल विज्ञानलाई आधार मान्दा २४ घण्टाको एक दिन भनिए पनि ३ दशमलव २७ सेकेण्ड अपुग हुन्छ, दिनदिनै समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुन्छ, २०७६ सम्म आइपुग्दा २४ दिन अघि सरिसक्यो,’ उनले भने, ‘गणितीय र तिथिका हिसाबले दसैं आजै पर्छ ।’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।  

गोरखा दसैं टीका–जमरा
ADVERTISEMENT