अपराध सुरक्षा

२९ लाख ८० हजार अवैध रकमसहित एक पक्राउ

२९ लाख ८० हजार अवैध रकमसहित एक पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले २९ लाख ८० हजार अवैध रकमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीले भारतीय नागरिक अतुल वर्मा छन् । धनगढी उपमहानगरपालिका–२ स्थित नेपाल–भारत सीमानाका गौरीफन्टाबाट शुक्रबार विहान वर्मालाई पक्रेको प्रहरीले जनाएको छ ।

वर्मा भारत, उत्तरप्रदेशको पलियाखिरी निवासी हुन् । उनी सो रकम लिएर नेपालतर्फ आउँदै थिए ।
प्रहरीले उनको साथबाट २५ लाख नेपाली रुपैयाँ र तीन लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।

युपी ३१ एके ७३४८ नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।

वर्माको साथबाट ६ ओटा विभिन्न बैैंकका ‘एटीएम’ कार्डसमेत प्रहरीले बरामद गरेको छ । उनको साथमा विभिन्न खाली ‘चेक’समेत भेटिएको छ । पक्राउ परेका वर्माको धनगढीमा सुन पसल रहेको प्रहरीले जनाएको छ ।

ठूलो परिमाणको रकम उनले किन लुकाएर ल्याउँदै थिए भन्ने विषय शंकास्पद रहेको प्रहरी उपरीक्षक गिरीले बताए ।