यौन-शिक्षा परिवार समाज

सुहागरात : बुझे श्रीखण्ड, नबुझे हँसियाको बीँड

सुहागरात : बुझे श्रीखण्ड, नबुझे हँसियाको बीँड

प्रत्येक स्त्री पुरुष आफ्नो जीवनमा अनगिन्ती रात विताउँछन् । तर दाम्पत्य जीवनको पहिलो रात अर्थात सुहागरात यस्तो अमूल्य रात हो, जो बारम्बार प्राप्त हुँदैन । मनोवैज्ञानिक दृष्टिकोणबाट यो रात विशेष उल्लेखनीय छ । किनकी यो रातमा एक पुरुष र एक स्त्रीले आफूलाई एक अर्कामा जीवनभरका लागि समर्पण गर्दछन् । 

विवाहको उमेर पुगेका प्रत्येक युवक–युवती विवाह हुनुभन्दा धेरै अघिदेखि नै आफ्नो सुहागरातको सुमधुर कल्पनामा डुब्न थाल्दछन् । र, वास्तविक सुहागरातमा दुलाहा र दुलहीको हैसियतले के के गर्नुपर्ला भनेर सोच्छन् । तर सुहागरात कसरी सफल बनाउने भनेर धेरै जोडीलाई थाहा हुँदैन । शिक्षित र शहरी युवायुवतीमा सामाजिक सञ्जाल, सिनेमा, पठनपाठनका कारण अर्कै आकर्षण र सोचाइ पैदा गराएको छ । तर त्यस्ता काल्पनिक र अभिनित दृश्यहरु यथार्थमा मिल्छन भन्ने छैन । वास्तवमा सुहागरातलाई यस्तो सुमधुर र अविस्मरणीय बनाउनु पर्छ, जसको सम्झना गर्दा बुढेसकालमा पनि पति पत्नी रोमाञ्चित हुन सकून । त्यो नै सफल सुहागरात हो । 

विश्वका अधिकांश समाजमा पुरुषले स्त्री विवाह गरेर आफ्नो घर भित्र्याउने परम्परा छ । दुलाहाले दुलही भित्र्याउने र पुरुषको दाँजोमा स्त्री लजालु हुने कारण सुहागरात सफल बनाउन दुलाहाको भूमिका महत्वपूर्ण हुन्छ । सुहागरातलाई धेरैजसोले सम्भोगको पहिलो रात मानेका छन् । तर सुहागरातलाई केवल कामुक दृष्टिकोणले मात्र ग्रहण गरेर सम्भोगमा सीमित राख्नु सुहागरातको दुरुपयोग हो । सुहागरातमा एकले अर्कालाई प्रभाव पार्न सकेनन भने भावी दिन सुगम हुन कठिन पर्न सक्छ ।

त्यो रात एकले अर्काको मनमा जति प्रेम र विश्वास जगाउन सक्यो, त्यति नै उनीहरुको भावी जीवन सुखमय हुन जान्छ । त्यसैले सुहागरातलाई दाम्पत्य जीवनको पवित्र मन्दिरको मंगलमय शिलान्यास भन्न सकिन्छ । सुहागरातअघि सम्पन्न भएका सम्पूर्ण वैवाहिक रितिरिवाजहरु सवैका सामु पूरा गरिएका औपचारिकता हुन भने सुहागरातको क्षणमा दुलाहा दुलही मात्र भएर आदान प्रदान गरेका विश्वास र भावुकता अमर, आत्मीय हुन्छन् । 

प्रेम विवाहमै पनि दुलाहालाई सुहागरातमा दुलहीसंग कुन प्रसंगबाट कुराकानी शुरु गर्ने समस्या पर्न सक्छ । यस्तो अवस्थामा दुलाहाले सर्वप्रथम स्थिति, वातावरण र दुलहीको अवस्थातर्फ ध्यान जान जरुरी छ । यदि दुलही माइतीको सम्झनामा रोइरहेकी छ वा अफसोच मानिरहेकी छ भने दुलाहाले उसको अफसोचमा आफू पनि संलग्न भएर सान्त्वना प्रदान गर्नुपर्दछ । यदि दुलही प्रफुल्ल मुद्रामा छन भने उन्मादका कुरा गरेर त्यो क्षणलाई मधुमय बनाउन सकिन्छ । यस अवसरमा दुलहा दुलहीले आआफ्ना भावना, भावुकता आपसमा साटनु पर्छ । एकअर्काका रुचि, स्वभाव, इच्छा, आकांक्षा, वर्तमान स्थिति र भविष्यका योजनाबारे आपसमा कुराकानी गर्नु उचित हुन्छ । तर धाक धक्कु लगाउने, आडम्बरी कुरा गर्ने गल्ती बिर्सिएर पनि गर्नु हुँदैन ।

दुलहीले पनि ठुस्किने, दुलहाका कुरामा चाख नदिने, जवाफ नदिने गल्ती गर्नु हुँदैन । जसरी भएपनि जोडी नै योग्य जीवनसाथी पाएको अनुभव गर्नु पर्दछ । सुहागरातमा कुनै जोडी लम्पसार परिदिन्छन त कोही मदिरा सेवन गरी घिनलाग्दो शैलीमा प्रस्तुत हुन्छन् । यो मूर्खता मात्र नभएर निर्ममता पनि हो । यसले सुहागरातको अमूल्य अवसर खेर जाने मात्र होइन, दाम्पत्य जीवनमै प्रतिकूल प्रभाव पनि पर्न सक्छ । 

सुहागरात मात्र हैन, विवाहका सुरुवाती दिनमा प्रत्येक दुलाहाले दुलहीलाई सहयोग गर्नुपर्छ । किनकी दुलही त्यस घरका लागि अपरिचित हुन्छे । यस्तो अवस्थामा सहयोगको अभावले धेरै हण्डर खानुपरेका उदाहरण छन् । सुहागरातमा सकिन्छ भने एक अर्कालाई उपहार दिइयो भने त्यो प्रभावशाली हुन्छ । त्यो समयमा दिएको उपहार जीवनपर्यन्त सम्झनालायक हुन्छ । सुहागरातका दिन जबर्जस्ती यौनबासनाका लागि हतारो देखाउनाले दुलहीमा हीनभावनाले जरो गाड्न सक्छ ।

सुहागरातपछिका अरु रातहरुमा पनि पत्नीको इच्छा विपरीत गरिएको सम्भोगलाई एक किसिमको बलात्कार वा वा अर्को शब्दमा कानुन नलाग्ने अपराध मानिन्छ । प्रसिद्ध विद्वान बाल्जाकले भनेका छन्– ‘तिम्रो विवाहलाई बलात्कार नगर ।’ पहिलो मिलनमै दुलाहाले हडबडाएर यस्तो अविवेकपूर्ण व्यवहार देखाएका दुलाहाको चरित्रमाथि दुलही प्रश्न उठाउन सक्छिन् । यौन अनुभवली जस्तो व्यवहार देखाएका यसअघि नै यस्ता कर्ममा संलग्न भएको आशंका पर्न जान्छ । कसैले सुहागरातमै र कसैले सुहागरातपछिका  अरु रातमा नवविवाहितासंग यौन सम्पर्क शुरु गर्दछन् , जुन स्वाभाविक कार्य हो । 

वैवाहिक जीवनको शुरुको यौन सम्बन्धमा विवाहअघि यौन अनुभव प्राप्त गरिसकेको वा नगरेको भन्ने कुराले दुवैमा ठूलो महत्व राख्छ । यदि अनुभवी हो भने वैवाहिक जीवन प्रारम्भको सम्भोग क्रिया त्यति रोमाञ्चक, सुखद साथै कष्टप्रद पनि नहुन सक्छ । किनकि रहस्यमयी कुराको रहस्य विस्तार विस्तार थाहा पाउँदा जति आनन्द आउँछ, त्यति नै आनन्द पहिले नै उद्घाटित भइसकेमा प्राप्त हुँदैन ।

यौन क्रियाकलाप पनि एउटा यस्तै रोमाञ्चकारी रहस्य हो, जुन उचित समयमा थाहा पाउनुमा नै बढी आनन्द प्राप्त हुन्छ । तर वर्तमान युगमा यस धारणामा दिनप्रतिदिन ह्रास आएको छ । सुहागरातमा अधिकांश दुलाहालाई लाग्ने कौतुहल उसकी दुलही पूर्ण कुमारी छ छैन भनेर जान्नु हो । उ आफू विवाहअघि यस्ता कार्यमा संलग्न भइसकेको किन नहोस् । विवाहअघि नै अरु स्त्रीसंग सम्पर्क राखिसकेको पुरुषले आफ्नी नवविवाहिता दुलहीको कुमारीत्वलाई एक चरित्रवान पुरुषले बढी महत्व दिएर शंका गर्दछ । 

आफ्नी पत्नी अक्षत कुमारी हो वा होइन भन्ने जाँच्न विभिन्न पुरुषले विभिन्न उपाय अपनाउँछन् । खासगरी कुमारीत्व पर्दालाई कुमारीत्वको प्रमाणपत्र ठान्ने धारणा छ । जुन धारणालाई सतप्रतिशत ठीक मान्न सकिन्न । योनीद्वारमा हाइमेन नभए पनि स्त्री पूर्णतया कुमारी हुन सक्छे र हाइमेन भएपनि कुमारी नहुन सक्छे । हाइमेन एक अति पातलो जालो हो, जसको बीचमा एउटा सानो प्वाल हुन्छ र त्यही प्वालको बाटोगरी मासिक रजस्वला बाहिर निस्कन्छ । कयौं केटीहरुको मासिक रजस्वला हुँदा नै त्यसैसंग हाइमेन पनि गइसकेको हुन्छ ।

कतिको रजस्वला हुनुअघि नै दौड्दा, हामफाल्दा, खेल्दा वा व्यायाम गर्दा योनीको भागमा बल पर्न गई हाइमेन छुट्टिएको हुन्छ । कसैको हाइमेन असाधारण बाक्लो भई बीचमा प्वाल पनि नभएमा रजस्वला योनी मार्गभित्रै थुनिएर रहन सक्छ । यसो भएमा आमा, दिदी, भाउजु वा अन्य आफन्त परिपक्व स्त्री वा चिकित्सकको सहयोगबाट सो हाइमेन हटाई थुनिएर रहेको रजस्वलालाई बाटो खोलिदिनु पर्छ ।

प्रथम रजस्वलामा ढिलाई हुनुका विभिन्न कारणहरुमध्ये अक्सर हाइमेन बाक्लो र प्वालरहित भई छेकिनु पनि एक प्रमुख कारण हुन सक्छ । कति केटीहरुको हाइमेन निक्कै बाक्लो भई रजस्वला साथै सम्भोगमा समेत बाधा परेमा डाक्टरद्वारा सामान्य शल्यक्रिया गरी हाइमेन हटाउने अवस्था पनि आउन सक्छ । यस शल्यक्रियालाई हाइमेनोटोमी भनिन्छ । 

यदि केटीको योनीद्वारमा हाइमेन छ भने प्रथम सम्भोगमा अक्सर त्यो फाटछ । हाइमेन फाट्दा केटीलाई कष्ट हुन्छ । यस अवस्थामा योनीबाट रगत पनि आउँछ । यसो भएमा सफा कपास वा रुमालले योनीमा हल्कासंग थिचेर रक्तश्राव रोक्न सकिन्छ । यदि हाइमेन बाक्लो छ, त्यसको बीचको प्वाल पनि ठूलै छ र योनीद्वार पनि फराकिलो छ भने एक दुईपटकको हल्का सम्भोगमै योनी नफाट्न सक्छ ।

फाटे पनि जालोको टुक्रा अल्झेको हुनसक्छ । योनीको दाँजोमा लिंग सानो भएमा रक्तश्राव नहुन पनि सक्छ । प्रत्येक दिन चार, पाँच पुरुषसंग सम्पर्क हुने पेरिसकी एक नगरवधुको योनीमा पछिसम्म हाइमेन यथावत रहेको बारे सुप्रसिद्ध कानुनवेत्ता सुथरल्याण्डले मेडिकल गजेटमा चर्चा गरेका छन् । मेडिकल जाँच गर्दा ती नगरबधुको हाइमेन  तन्कने तर नफाट्ने किसिमको भएको पाइयो । 

केही दशक पहिलेसम्म नयाँ दुलही पवित्र कुमारी हो होइन भन्ने कौतुहल वा चासो उसको दुलाहालाई मात्र हैन, समाजलाई पनि हुन्थ्यो । त्यसैले नववधु कुमारी हो भन्ने प्रमाण समाज समक्ष प्रस्तुत गर्नुपर्ने प्रचलन पनि त्यो समाजमा रहेको पाइन्छ । बीसौं शताब्दीको पूर्वाद्धमा युरोपेली मुलुकहरुमा अनौठो प्रचलन थियो । त्यहाँ सुहागरातको भोलिपल्ट विहान सबेरै नयाँ दुलहा दुलही सुतेको विछ्यौनामा सेतो तन्ना ढोकामा लगेर टाँग्नु पथ्र्यो । त्यो तन्नामा दाग लागेको छ कि छैन भनेर छिमेकी नाता कुटुम्बहरु उत्सुकतापूर्वक दुलहाको घर पुग्थे । तन्नामा रगत देखिएमा सबैले जोडीलाई बधाई दिन्थे । दाग नदेखिएमा नवबधुको चरित्रका विषयमा विभिन्न टिकाटिप्पणी हुन्थ्यो । 

चीनमा पनि यस्तै खाले चलन थियो । त्यहाँ नवबधु सुहागरातको कोठामा प्रवेश गर्ने बेलामा उसकी सासुले सफा रेशमी फित्ता दिन्थिन । त्यो फिता नवबधुले सुहागरातमा हुने पहिलो सम्भोगका बेला आफ्नो योनीमुनि राख्दथिन । भोलिपल्ट विहान त्यो फिता सासुलाई बुझाउनु पथ्र्यो । त्यो फितामा रगत लागेको छ भने गाउँभरिकालाई देखाएर आफ्नी बुहारीको पवित्रतामा सासु गर्व गर्थिन । यदि त्यो फितामा रगत नदेखिएमा सासु बुहारीको सम्बन्ध त्यही दिनदेखि खस्रो मसिनो हुने सम्भावना बढ्थ्यो ।

त्यसैले चलाख बधुले सम्भोगको बेला स्वाभाविक रुपमा रगत नआए शरीरको अन्य भागमा सामान्य चोट लगाएर त्यसबाट आएको रगत फितामा लगाएर सासुलाई बुझाउँथे । यसरी पनि आफ्नो मर्यादा बचाउने प्रयास हुन्थ्यो । स्पेनको जिप्सी जातिमा विवाहअघि नै विवाहको लागि प्रस्तावित केटीको कौमार्य जाँच गर्न चार सदस्यीय आयोग गठन हुन्थ्यो । त्यो आयोगमा केटा पक्षबाट दुई र केटी पक्षबाट दुई गरी चार महिला रहन्थे । 

अंग्रेजहरुले पनि आफ्नो साम्राज्य फैलिएको मुलुकमा यस्ता कुकर्म गरेका थिए। वालियर द्वीपमा विवाहको पहिलो रात नवबधुमाथि विवाहमा आमन्त्रित पाहुनाको हक रहन्थ्यो । कहिँ नवबधुको कौमार्य भंग गरेबापत भंग गर्ने शासक वा सामन्तले नवबधुलाई दक्षिणा वा उपहार दिने चलन पनि थियो । स्कटल्याण्डमा चाँदीको सिक्का दिइन्थ्यो । प्रथम सम्भोगको अधिकार शासक, सामन्त र उच्च वर्गमा मात्र नभई गुरु, पुरोहित, पुजारी, महन्त र मठाधिशहरुमा पनि थियो । यसको उदाहरण भारतमा पाउन सकिन्छ । जनचेतना र समयको परिवर्तन फलस्वरुप यस्ता घृणित रितिरिवाज धेरै मात्रामा हटेका छन् । आजकल जहाँ पनि पत्नीमाथि प्राधिकार उसको पतिको रहन्छ । 
श्रीरामसिंह बस्नेतकृत जीवनका लागि यौन पुस्तकबाट साभार ।  

स्त्री पुरुष प्रेम विवाह