भिडियो Breaking News कभर स्टोरी

‘काण्डै काण्ड’ले सरकार धराशायी, जनता विकल्प खोज्दै (भिडियोसहित) 

‘काण्डै काण्ड’ले सरकार धराशायी, जनता विकल्प खोज्दै (भिडियोसहित) 

नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले  ‘नेपाल सरकारका काण्डै काण्ड’ पुस्तक निकालेपछि अहिले कांग्रेस नेता कार्यकर्ताहरुलाई सरकारविरुद्ध विष वमन गर्न सजिलो भएको छ । महरले आफनो पुस्तकमा सरकारले १८ महिनाको अवधिमा गरेका विवादास्पद कामको नालीबेली प्रस्तुत गरेकाले अब सरकारविरुद्ध भाषण गर्न यो पुस्तक कण्ठ गरे पुग्छ । औंला भाँचेर विषयवस्तु सम्झिरहनु पर्दैन । 

पुस्तकका लेखक महर भन्छन्, ‘यो सरकारले १८ महिनाको अवधिमा मच्चाएका काण्डैकाण्डको दस्तावेज हो । सरकारका गलत कामबारे थाहा पाउन कांग्रेस कार्यकर्ताले मात्र होइन, प्रत्येक नेपाली जनताले यो पुस्तक पढ्नु पर्छ । अहिले देशका कुनकाप्चामा पुस्तक पुर्याउने प्रयास भइरहको छ ।’

पुस्तकमा वाइडबडी, न्यारोबडी, निर्मला बलात्कार तथा हत्या, भेनजुयला, सुनकाण्ड, बालुवाटार जग्गा, गुठी र मिडियासहित विभिन्न विधेयक, बजेट, लोकसेवा, विषादी, सर्लाही हत्या, आइफा लगायतका काण्डबारे विस्तृत रुपमा व्याख्या गरिएको छ । यस्तै, सातवटै प्रदेश सरकारमा भएका विकृति र विसङ्गतिका बारेमा समेत पुस्तकमा बुँदागत चर्चा गरिएको छ । 

लेखक महर भन्छन्, ‘यो पुस्तक सरकारको विरोधमा लेखिएको होइन, सरकारलाई थप जिम्मेवार र सचेत बनाउन लेखेको हुँ । सरकारले आफ्ना गलत कदम सच्याएर जनहितमा काम गरे, भोलि बामपन्थी सरकारका असल कार्य भनेर पनि पुस्तक लेखौंला । तर, त्यो अवसर आउला जस्तो छैन । सरकारका काम दैनिक एकपछि अर्को गर्दै विवादास्पद बनिरहेका छन् । ’

युवा नेता महरले चाँडै कांग्रेसका काम र कमजोरी समेटेर पुस्तक निकाल्ने समेत घोषणा गरेका छन् । यसको तयारीसमेत भैसकेको उनको भनाइ छ । आफूले कुनै पूर्वाग्रह नराखी सत्यतथ्य कुरा पुस्तकमा समेटेको उनको दावी छ । उनी भन्छन्, ‘पुस्तकमा कपोलकल्पित र झूठ कुरा प्रमाणित भए, म राजनीति नै छोडिदिन्छु । ’

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) बीच भएको ६ बुँदे सम्झौता र भाइचाराको नाता उनीहरुका लागि स्वाभाविक भएपनि मुलुकका लागि खतरा हुनसक्ने महरको आंकलन छ । 

महर भन्छन्, ‘नेपालमा चीनको विकास र समृद्धिको मोडल लागू गर्न सकिन्छ । देशको विकास गर्न सी जिनपिङको शैली अनुसरण गर्न सकिन्छ, तर राजनीतिक प्रणाली पनि चिनियाँ शैलीको लागू गर्छौ भनेर कोही भन्छ भने त्यो असम्भव छ ।’

नेपालका कम्युनिष्टलाई जनताले देशको विकास गर्न दुई तिहाइ मत दिएका हुन् । उनीहरु अन्ध राष्ट्रवादको नारा दिएर जनताको आँखामा छारो हाल्न सफल भए । सरकारमा छन्, राम्रो गर्नुपर्छ । तर कम्युनिष्ट राज्य स्थापना गर्ने शैलीमा उनीहरु अघि बढ्न खोजेको भान हुँदैछ । जनताले ‘कम्युनिष्ट स्टेट’ बनाउन मत दिएका होइनन्, यो कुरा नेकपाले ख्याल गरोस् । होइन भने जनताको विद्रोहको ज्वालामा खरानी हुनु सिवाय अर्को विकल्प केही हुने छैन । 

महरका अनुसार नेकपा सरकार लोकतान्त्रिक मूल्य मान्यतालाई सिध्याउँदै अधिनायकवादी शैलीमा अघि बढिरहेकाले कांग्रेस एक ढिक्का भएर अघि बढिरहेको छ । अहिले कांग्रेसको केन्द्रदेखि स्थानीय तहसम्म कुनै विवाद छैन । सबै कुरा मिल्दै आएको छ । नेविसंघ र तरुण दलमा उत्पन्न विवाद पनि केही दिनमा समाधान गर्ने दिशामा नेताहरु लागिसकेका छन् । 

उनी भन्छन्, ‘पार्टीमा संस्था भन्दा व्यक्तिलाई बलियो बनाउने अभ्यास भएकाले समस्या उत्पन्न भएको हो । यो कुराको जागरण नेताहरुमा आइसकेको छ । अब यस्तो गल्ती हुँदैन भन्नेमा हामी ढुक्क छौं । संगठन र नेतृत्वका हिसाबले मात्र होइन, नीतिगत र सैद्धान्तिक रुपमा पनि पार्टीलाई बलियो हुँदैछ ।’