मुख्य समाचार

प्रधानमन्त्रीले भने, ‘प्लाज्मा फेरेसिस’ सफल हुँदैछ, २० गते फर्किन्छु’

प्रधानमन्त्रीले भने, ‘प्लाज्मा फेरेसिस’ सफल हुँदैछ, २० गते फर्किन्छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा सुधार आएको र आउँदो २० गते नेपाल फर्किने बताएका छन् । 

नेकपाका नेता सुवासचन्द्र नेम्वाङसँग आइतबार साँझ टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्रीले यस्तो जानकारी दिएको हुन् ।  प्रधानमन्त्री ओली आफैंले नेता नम्वाङलाई टेलिफोन गरेका थिए । टेलिफोन सम्वादका विषयमा नेम्वाङले भने, ‘उहाँ आफैंले फोन गर्नुभएको थियो । मैले स्वास्थ्यस्थिति सोधेँ । जवाफमा स्वास्थ्य राम्रो भएको र २० गते फर्किन्छु भन्नुभयो ।’

नेम्वाङसँग भएको सम्वादका क्रममा संसद, संसदमा दर्ता भएका विधेयकहरुका विषयमा पनि प्रधानमन्त्रीले चासो राखेका थिए । जवाफमा नेम्वाङले केही दिन अघि भएको सर्वदलीय छलफलबमोजिम नै विधेयकहरुमा छलफल चलिरहेको जानकारी दिएका थिए ।  प्रधानमन्त्रीको शरिरले प्रत्यारोपित मिर्गौला हटाउन एन्टिबडी उत्पादन गर्न थालेपछि ‘न्युट्रलाइज’का लागि प्लाज्मा फेरेसिस भइरहेको छ । 

नेम्वाङले प्लाज्मा फेरेसिसबाट आशातित सुधार भएको बताए ।  प्रधानमन्त्री केपी शर्मा ओली अहिले  सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचाररत छन् ।