अन्तरवार्ता भिडियो

देश चलाउन युवाले इराकमा काटिनुपर्ने, कंगोमा युवतीले नाच्नुपर्ने (भिडियो सहित)

देश चलाउन युवाले इराकमा काटिनुपर्ने, कंगोमा युवतीले नाच्नुपर्ने (भिडियो सहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला अमेरिका भ्रमणमा छन् । त्यहाँ उनले ५० हजार भारतीयलाई एउटै मञ्चमा भेला गरेर अमेरिकी राष्ट्रपति   डोनाल्ड ट्रम्पलाई अमेरिकाभित्र ‘भारतको शक्ति’ देखाइदिए । मोदी र ट्रम्पको ‘बडी ल्याङ्वेज’बाट बुझिन्थ्यो– ‘एक अर्कालाई नरिझाई यी दुई देशको आगामी यात्रा अघि बढ्न सक्दैन ।’ चुनावको संघारमा रहेका ट्रम्प र अभूतपूर्व मत पाएर नयाँ भारत जिम्मेवारी पाएका यी दुई नेताको भेट विश्व राजनीति तरंगित छ । तर त्यही भारतसंग ‘रोटी र बेटी’को सम्बन्ध भनिएको नेपाल कुटनीतिक रुपमा अल्मलिएको छ । 

चर्चित राजनीति विश्लेषक सुरेन्द्र केसी कुटनीतिक क्षेत्रको सारथी नै योग्य नभएका कारण नेपालको कुटनीतिक धरातल झन्झन् कमजोर बन्दै गएको देख्छन् । ‘सार्कको आर्किटेक नै वीरेन्द्र राजा थिए । जुन संस्थाको प्रभाव एशियामै विशिष्ट थियो । अहिले त्यसलाई बिमस्टेकले विस्थापित गरेको छ । सार्कको नामोनिसाना छैन । भन्नका लागि हामी एक चीन नीति भन्छौं तर ‘तिब्बतीयन हब’ बन्दै गएको छ । राष्ट्रसंघको मञ्चमा गएर बोल्ने योग्य कुटनीतिज्ञ हामीसंग छैन् ।’ विगत स्मरण गर्दै प्राध्यापक केसी भन्छन्– ‘हिजोका दिन सरदार यदुनाथ खनाल, हृषिकेश शाह, भेषबहादुर थापा, केसरबहादुर केसी घागडान कुटनीतिज्ञ थिए, जसको नाम लिँदा पनि गर्व छाती ढक्क फुल्छ । तर अहिले सत्य बोल्यो भने प्रतिगामी होइन्छ । नबोल्यो चित्तबुझ्दो एउटा काम हुन्न ।’ 

नेपाल भूपरिवेष्ठित देश भएका कारण यसभित्रका आफ्नै पीडा छन् । डा. केसीको विचारमा अमेरिका आफ्नो स्वार्थ पूरा गराउन आफू आउँदैन, उसले कि संयुक्त राष्ट्रसंघ अघि बढाउँछ कि यस्तै इण्डोप्यासिफिकजस्ता रणनीति अघि सार्छ । भारत, युरोपेली युनियनका पनि आआफ्नै दाउ छन् । तर अब शक्तिशाली मुलुकले हडप्ने, कब्जा जमाएर उपनिवेश बनाउने भन्ने जस्ता काम अबको समयमा सम्भव छैन् । ‘साम्राज्यवादी विस्तार भनेको २० औं शताब्दीको फेनामेना हो । एक्काइशौ. शताब्दीमा विज्ञान, प्रविधि र व्यापारबाट कब्जा गर्ने हो । आर्थिक राष्ट्रवाद सवल भएन भने अब अरु कुनै वादको अर्थ छैन् । नेपालमा नाकाबन्दी हुँदा यहाँका जनताको अवस्था मर्नु न बाँच्नुको स्थितिमा पुग्यो । तर त्यस्तै किसिमको नाकावन्दीले कतारलाई झन् शक्तिशाली बनायो । किनभने कतारले यसलाई अवसरका रुपमा लियो ।’ 

डा. केसीको विचार प्रथम र दोस्रो विश्वयुद्धमा नेपालले सैन्यक्षेत्रका माध्यमबाट खेलेको भूमिकाले नेपालको कुटनीति विश्वमञ्चमा दरिलो बनेको थियो । राजा महेन्द्रको उदयपछि नेपालको कुटनीतिले विश्वमा परिचय पाउने अवसर पायो । भूपरिवेष्ठित मुलुकको हित संरक्षण, पञ्चशील नीतिमा नेपालको विशिष्ट उपस्थिति थियो । 

‘अहिले नेपालको राजनीतिक नेतृत्व कति कमजोर भयो भने यहाँ मन्त्री, राजदूत नेपालमा छानिदैन । नेपालको राष्ट्रिय उत्पादन के हो ? यो प्रश्न सोध्ने हो भने कुनै नेपालीसंग उत्तर छैन् ।’ केसी प्रश्न गर्छन– ‘मौलिक उत्पादन नगर्ने पनि देश हुन्छ ?’ परनिर्भरता यति बढ्यो कि बजेट र व्यापारघाटा समदूरीमा हिँडिरहेका छन् । नेपाली जनताको सेवामा रहेका ट्रलीबस, भृकुटी कागज कारखाना, बाँसबारी छालाजुत्ता, जनकपुर चुरोट कारखाना, हरिसिद्धि इँटा टायल उद्योगका विषयमा नेपालीले प्रश्न सोध्न पाउने कि नपाउने ?

केही वर्षअघि सम्म आर्थिक विकास सूचकांकमा १६ प्रतिशतको योगदान रहेको उद्योगधन्दाको योगदान अहिले ६ प्रतिशतमा खुम्चिएको छ । उद्योग नै नभएपछि समृद्धिको यात्रा कसरी शुरु हुन्छ ?   

सुरेन्द्र केसी अमेरिका बिमस्टेक