समाचार अपराध सुरक्षा समाज

दशैँमा कस्तो छ प्रहरीको तयारी, अपराध रोक्न कुकुरसहितकाे प्रहरी टाेली परिचालन गरिने

दशैँमा कस्तो छ प्रहरीको तयारी, अपराध रोक्न कुकुरसहितकाे प्रहरी टाेली परिचालन गरिने

काठमाडौँ - आउँदो दशै, तिहार लगायतको चाडबाडलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना अपनाएको सूचना सार्वजनिक गरेको छ । विशेषगरी दसैँ, तिहार र छठपर्वमा चोरी हुने तथा अशान्ति फैलाउने विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना बनाएको जनाएको छ।

परिसरका प्रमुख तथा एसएसपी उत्तमराज सुवेदीले चाडपर्वलाई लक्षित गरेर पछिल्ला दिन भन्दा काठमाडौँको सुरक्षा व्यवस्थालाई मजबुत बनाएको बताएका छन् ।

उनका अनुसारसुरक्षा निकायको उच्च समन्वयवाट सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही र शीघ्र सेवा, सहज पहुँचको व्यवस्था मिलाई आम जनसमुदायमा भरपर्दो सुरक्षा वातावरण बनाइएको छ।

उनले भने,‘ काठमाडौँभित्र हुने हत्या, अपहरण, ठगी, चोरी, महिला हिंसालगायत घटनालाई हुन नदिन तीन हजारभन्दा बढी प्रहरीलाई परिचालन गर्ने योजना बनाइएको छ।’

बैंक तथा वित्तीय संस्थामा हुने चोरी लुटपाट, टिकटमा हुने ठगी बढ्न सक्ने हुनाले पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती, मोटर गस्ती सञ्चालन गर्न लागेको उनले बताए।

कलङ्की, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोङ्गबु, गौशाला, चाबहिल, कोटेश्वर र हल्चोक टिकट काउण्टरमा समेत प्रहरी खटाउन लागिएको परिसरले जनाएको छ ।बैंक तथा वित्तीय क्षेत्र, यातायात सञ्चालन हुने क्षेत्र, व्यापारिक कारोवार हुने क्षेत्र, होटल रेष्टुराँ, नाकालगायतका क्षेत्रमा विशेष गस्ती खटाइएको समेत उनले बताए ।

चोरी÷डकैती तथा लुटपाटका घटनापछि अभियुक्त फरार हुन नदिन डीएसपी र इन्सपेक्टरको कमान्डमा ३० टोलीलाई नाकाबन्दी र सर्च एन्ड अपरेसनमा परिचालन गरिएको छ । प्रहरीले चाडपर्वका समयमा लुटपाट र डकैती गरेर भाग्ने आपराधिक व्यक्ति तथा समूहलाई पक्राउ गर्न ३० ठाउँमा कुकुरसहितको ‘धराप टोली’ (एम्बुस टीम) तैनाथ गरेको छ ।