कभर स्टोरी

नागरिक जागेपछि टेलिकमको विज्ञप्ति, नाफा घटेको स्वीकार, भ्रष्टाचारबारे मौन

नागरिक जागेपछि टेलिकमको विज्ञप्ति, नाफा घटेको स्वीकार, भ्रष्टाचारबारे मौन

काठमाडौँ । सरकारी स्वामित्वको एक मात्र नाफामुलक कम्पनी नेपाल टेलिकमको नाफा यस वर्षमात्रै ७ अर्ब बढीले खस्कियो । टेलिकमको नाफा घट्नुको प्रमुख कारण अन्तर्राष्ट्रिय कलमा आएको गिरावट लगायतले हो । अन्तर्राष्ट्रिय कल विभागमा लामो समय काम गरेका डिल्लीराम अधिकारी अहिले नेपाल टेलिकमका प्रबन्ध निर्देशक छन् ।

यसअघिकी प्रबन्ध निर्देशक पहिलो महिला प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई लगाइएका आरोपमध्ये टेलिकमको स्तरोन्नतिसहित मुनाफा घट्नु पनि थियो । तर जुन आरोप लगाएर उनलाई हटाइएको थियो उनको पालामाभन्दा झण्डै तीन गुणाले टेलिकमको नाफा खस्किँदासमेत सरकारले वर्तमान प्रबन्ध निर्देशकलाई न त कारण सोधेको छ न त यसबारे चासो नै दिएको छ ।

टेलिकम स्रोतका अनुसार नेपाल टेलिकमको फोरजीमा अर्बौँको चलखेल छ, जसमा सरकारले नै साथ दिएको कतिपयको आरोप छ । चिनिया कम्पनी हुवावेका छाया कम्पनीले लिएको ठेक्का पनि आगामी माघदेखि नै पूरा हुने भनिएपनि ग्यारेण्टी छैन ।

संसारभरको दुरसञ्चार सेवामा भाइबर, ह्वाट्स एप जस्ता ओटिटी सेवाका कारण आम्दानीमा असर परेको यथार्थ हो । तर निजी सेवा प्रदायक कम्पनी एनसेलले यस्तो अवस्था दृष्टिगत गर्दै देशभर फोरजी विस्तार गर्यो । उसले आम्दानी बढाएको बढायै छ ।

सरकारी स्वामित्वको कम्पनीको भने आम्दानी घट्दा पनि वार्षिक दश प्रतिशतका दरले मुनाफा बढाउनुपर्ने प्रबन्ध निर्देशकको दायित्वभित्र पर्दापर्दै आम्दानी घट्दै जानुले टेलिकम पनि कतै सरकारी छायाँको शिकार त बन्दै छैन ।

४६ साल यताका नाफामुलक कम्पनी जसरी विस्तारै घाटामा लगी निजीकरण गरिए त्यस्तै त हुने होइन भन्नेबारे सचेत नागरिकहरुले शुक्रबार राजधानीमा टेलिकमविरुद्ध खबरदारी गरे ।

शुक्रबार संघीय राजधानी काठमाडौँको दुरसञ्चार केन्द्रीय कार्यालयअघि ‘भ्रष्टाचार हटाऔँ, नेपाल टेलिकम बचाऔँ’ भन्दै नागरिक अधिकार अभियानले टेलिकम नेतृत्वसहित सरकार, टेलिकमका परियोजना ओगटेर काममा ढिलाई गर्ने हुवावे लगायतका कम्पनीविरुद्ध खबरदारी सभा आयोजना गर्यो ।

टेलिकमलाई दूहुनो गाई बनाएर सिध्याउन सरकारी निकायकै पदाधिकारीहरुको पनि मिलमतो रहेको र यसमा विदेशी कम्पनीहरुले डिजाइन गरिरहेको आरोपसहित उनीहरुले खबरदारी गर्ने सार्वजनिक आह्वानपछि टेलिकमले विहीबार सार्वजनिक विज्ञप्ति जारी भैरहेका कामबारे जानकारी दियो ।

हेर्नुहोस् टेलिकमको विज्ञप्ति

टेलिकमले विज्ञप्ति जारी गरी नाफा घट्नुको कारणहरु उल्लेख गर्दै भनेको छ –‘‘कम्पनीको स्थानीय टेलिफोन सेवाका राजस्वमा कमी आउनुमा उक्त सेवाबाट वायरलेस सेवामा ग्राहक रुपान्तरण हुने क्रम बढेकोले तारसहित सेवाको प्रयोगमा कमी आउनु प्रमुख कारण रहेको छ ।

तारसहितको ब्रोड व्याण्ड सेवा तर्फ एडिएसएल सेवाको रूपान्तरण गरी एफटिटिएच सेवा विस्तार गर्ने कार्यले हाल गति लिएकोले आगामी दिनहरूमा तारसहित सेवाको समष्टिगत राजस्व सुधार हुने अपेक्षा गरिएको छ ।’’ टेलिकमले इन्टरनेट प्रविधिमा आधारित सेवाकै कारण आम्दनी घटेको जनाएको छ । आगामी दिनमा यसबाट राजश्व वृद्धि हुने उसले अपेक्षा गरेको छ ।

तर शुक्रबारको सभामा नागरिकहरुले टेलिकममा भ्रष्टाचारजन्य गतिविधि बढ्दै गएकोबारे चिन्ता जनाएका थिए यसबारे टेलिकमले बोलेको छैन । हुवावेले ४ अर्बमा विस्तार गर्छु भनेको फोरजी विस्तारका लागि टेलिकमले किन १८ अर्ब बढी खर्च गर्दैछ भन्नेबारे टेलिकमले बोलेको छैन साथै फोरजी विस्तारको कामबारे पनि स्पष्ट पारेको छैन । 


हुवावे र एनसेलबारे किन बोलेन ?

टेलिकमभित्र कतिपय कर्मचारीहरु चिनिया कम्पनी कम्पनी हुवावेले सन् २०१२ मा दुई वर्षभित्र सक्ने भनी लिएको ठेक्का हुवावे यस्तो कम्पनी हो जसले ८ वर्षसम्म परियोजना ओगट्यो तर काम गरेन । नेपालमा नेपाल टेलिकमको सिडिएमए परियोजना २०११ मा शुरु गरेको थियो ।

नेपाल टेलिकम र हुवाबेबीचको सम्झौता अनुसार सन् २०१३ भित्रमा सिडिएमए बिस्तारको काम सकिनुपर्ने थियो । तर, सन् २०१८ सकिन लाग्दा पनि काम सम्पन्न हुन सकेन । हुवाबेले सिडिएमएका १८९ टावर ८ वर्षसम्म जडान गरेको थिएन ।

आठ वर्षसम्म परियोजना ओगटेर काम सम्पन्न नगर्ने चिनियाँ कम्पनी हुवावेलाई सूचना तथा सञ्चार  प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले गतवर्ष ३२ करोड रुपैयाँ जरिवाना तिराएको भन्ने समाचार गतवर्ष बाहिर आएको थियो ।

तर खाशमा हुवावेले पहाड र अति विकट ठाउँमा बनाउनु पर्ने टावर निर्माण नगरेकाले सो कम्पनीलाई सजिलो पार्न टावर निर्माण नगरेकोमा कारबाही गर्नुको सट्टा टावर निर्माणको रकम कट्टा गरी विकट ठाउँमा हुवावे जानुपर्ने निर्णय हुवावेको फाइदाको लागि भएको थियो ।

तर सञ्चारमन्त्रीले सो टावर नबनाएको रकम कट्टा गरिएको कार्यलाई नाटक गर्दै जरिवाना तिराएको झुट मिडियामा भनेका हुन् । त्यसरी करिब २५० वटा टावर हुवावेले २०१२/२०१३ मा बनाएर वायरलेस सञ्चालन गरेको भए नेपाल टेलिकमले अहिलेसम्म करिब दुई अर्बको दरले १२ अर्ब थप रकम आम्दानी गर्न सक्थ्यो । 

नेपाल टेलिकमका अधिकांश ठूला परियोजना चिनिया कम्पनी हुवाबे र जेडटीईले ओगटेका छन् । नेपाल टेलिकमका काम समयमैँ नगर्ने तर यिनै कम्पनीले ओगटेका एनसेलका परियोजना समयमै सम्पन्न हुने गरेका छन् ।

यसले पनि टेलिकमका परियोजना वर्षौं होल्ड हुनुमा हुवावेको भित्री चलखेलले काम गरेको धेरैले अनुमान गरेका छन् । यसमा सरकारको पनि नीतिगत संलग्नता भएको कतिपयको अनुमान छ । नेपाल टेलिकम कर्मचारी युनियन अध्यक्ष राजेन्द्र जोशी भन्छन् –‘‘ सरकारकै कारण टेलिकम धराशायी हुँदैछ । सञ्चारमन्त्री र एमडी मिलेर टेलिकम डुबाउन लागेका छन् । कर्मचारीलाई केही कुनै मोटिभेशन छैन । ५८ र ३० वर्षे लगाएर पुराना अनुभवीलाई लखेट्ने खेल हुँदैछ । हामी पनि टेलिकमभित्रको भ्रष्टाचार के रहेछ सरोकारवालासँग समन्वय गरी सार्वजनिक गर्नेतिर लाग्छौँ ।’’


र, यो पनि

► अध्यक्षलाई दिने ज्ञापनपत्रमा टेलिकम प्रबन्ध निर्देशकलाई किन टाउको दुखाई ?

‘जनकपुर चुरोट कारखाना’ झै डुब्दैछ टेलिकम (भिडियोसहित)

नेपाल टेलिकम बचाउन नागरिकहरुले खबरदारी गर्ने

हुवावेको डिजाइनमा एनसेल उकासेर टेलिकम डुबाउने खेल (फोटो फिचर)