राजनीति

‘म केही झर्नुपर्छ, तपाईं केही उक्लिनुपर्छ’ 

‘म केही झर्नुपर्छ, तपाईं केही उक्लिनुपर्छ’ 

प्रिय सुवर्णजी,
नेपालको अवस्था बारे आफ्नो धारणा र केही कागजात पठाउँछु भनी मैले तपाईंलाई फोनमा भनेको थिएँ । राजाले नयाँ वर्षको दिन चाल्नेछन् भन्ने ठानिएको कदमका बारेमा विचार विमर्श गर्न हामीले चाँडै भेट्नुपर्छ भन्ने मलाई लागेको हुँदा मैले त्यो काम अहिलेसम्म गर्न सकिनँ । तर त्यस्तो केही पनि भएन र अब मेरो मनमा के धारणा बढेको छ भने हामीले गति नबढाएसम्म कुनै पनि आशातित कदम चालिने छैन । 

राजाले मैले शुशीलामार्फत् अत्यन्त मैत्रीपूर्ण पत्रमा दिएको मेरो पहिलो पहलकदमको कुनै प्रतिक्रिया दिएनन् । मेरो चिठी उनका दरबारियाहरुलाई समेत माथ गर्ने किसिमको अत्यन्त बिनम्र थियो र मौसुफसंग समझदारी बढाउने कुराले भरिएको थियो । अब म उनलाई कहिल्यै पनि चिठी लेख्तिनँ । मेरो इशाराले मेरा साथीहरु जसलाई त्यसको लाभ प्राप्त हुन्छ र जसको आग्रहमा मैले चिठी लेखेँ उनीहरु सबैलाई सन्तोष दिनुपर्दछ । 

जयप्रकाशले पनि राजालाई चिठी लेखेका थिए । राजाको जवाफको प्रतिलिपि संलग्न छ । तपाईंले यो जवाफमा उनले नयाँ अध्याय आरम्भ गर्ने कुनै चाहना नरहेको देख्नुहुनेछ । त्यो जवाफ उनका पिताले चालेका कदमको पक्षमा एउटा शाही तर्कमात्र हो । उनले त्यसमा पञ्चायत प्रणालीको पक्षमा तर्क दिएका छन् । भनौ, त्यो चिठी राजा महेन्द्र आफैंले आफ्नो कुनै वक्तव्यमा पञ्चायत प्रणालीको पक्षमा दिएको औपचारिक प्रतिबद्धताभन्दा फरक छैन् । 
बेब्लर (टिटोका सल्लाहकार र मेरा मित्र) को चिठी पनि यहाँ संलग्न गरेको छु ।

उनी भारत सरकारको आतिथी र बंगलादेशका लागि उच्च दूतको रुपमा यहाँ आएका थिए । उनले बनारसममा मसँग भेट गर्दा मैले उनलाई काठमाडौंको भ्रमण गर्न सल्लाह दिएको थिएँ, जसले उनलाई आवश्यक विश्राम दिनेछ भन्ने मलाई लागेको थियो । उनले शुशीला साथमा जाने सर्तमा मात्र जान सहमती जनाए । मैले उनलाई शेरचन्दको नाम बताएको थिएँ र उनलाई चिठीसमेत लेखेर आतिथ्यकर्ताको भूमिका निर्वाह गर्न भनेको थिएँ । बेब्लरको चिठी उनले त्यहाँ विभिन्न व्यक्तिसंग भेट गरेको एक प्रकारको विवरण र उनले मलाई दिएको सुझावको सार हो । 

स्वभावत बेब्लरले पत्रमा लेखेको जस्तै सोच पूरा गर्न सूयप्रसाद मलाई भेट्न आए । उनी मसँग अत्यन्त मित्रवत साथीजस्ता देखिए । मैले उनलाई बेब्लरको चिठी लेखेर मलाई उनी आउने जानकारी दिएको बताइनँ । किनभने, म उनको सल्लाहअनुसार विषयबस्तु अगाडि बढाउन इच्छुक थिइनँ । मेरो मध्यस्थ र हाम्रो प्रवक्ता हुन योग्य कुनै व्यक्ति छ भने त्यो तपाईंमात्र हुनुहुन्छ, अरु कोही पनि छैन । म यस विषयमा अरु कसैलाई प्रवेश गराउन चाहन्नँ । सूर्यप्रसादले आफू कसैको विवाह वा ब्रतबन्धमा भाग लिन इलाहाबाद जाने क्रममा बनारस आएको मलाई बताए ।

उनले मसँग दुईपल्ट भेट गरे । उनले मसँग नयाँ राजा आएको फलस्वरुप देशको अवस्था कस्तो भएको छ जस्तो लाग्छ भनी प्रश्न गरे । मैले उनलाई आफूले अवस्थामा कुनै परिवर्तन आएको नदेखेको बताएँ । अनि, उनले मलाई राजाले भूतपूर्व प्रधानमन्त्रीहरुसंग परामर्श गरिरहेको र मसँग पनि भेट गर्न इच्छा राख्न सक्ने बताए । उनले मलाई बोलाए भने म निश्चय पनि भेट्न जान खुशी हुनेछु , तर त्यसका लागि उनले नै पहल गर्नुपर्दछ, थप एउटा कुरा पनि छ, छलफल सुवर्णजीबाटै सुरु हुनुपर्छ भनी मैले उनलाई जवाफ दिएँ । कुरा यत्ति हो ।

मलाई लाग्छ, राजा निश्चितरुपमा नेपालमा प्रजातन्त्र ल्याउन इच्छुक छैनन् । यति लामो समयसम्म राजाको मुख ताकेर राजनीतिक पहल रोकियो । तसर्थ, अब हामीले हाम्रो पक्ष अगाडि बढ्ने नीति बनाउनुपर्दछ । मेरो विचार मौलिक नभए पनि म यसलाई स्वीकार गर्दछु । 

१) नेपाली कांग्रेसले अवश्य पनि देशभित्र काम गर्न सुरु गर्नुपर्दछ । अवस्था कस्तो छ भने अब यसले खुल्ला रुपमा काम गर्न सक्छ ।

२) तरुण दललाई लडाकु दस्ताको रुपमा संगठित गर्नुपर्दछ । हामीले विचार र अरु पक्षमा परिपक्व ३०० जना युवा लडाकु अवश्य पनि तयार गर्नुपर्छ । तरुण दलले विगत एक वर्षदेखि काम गर्दै आएको छ । तर यो अझसम्म पनि ठीकसंग संगठित भइसकेको छैन । 

३) नेपाल विद्यार्थी संघलाई संगठित गर्नु र सावधानिपूर्वक निर्देशन दिनुपर्दछ । 

४) पार्टीका पदहरुमा राई, लिम्बु, गुरुङ, मगर आदि समुदायका युवा लडाकुलाई भित्र्याउन ध्यान पुर्याउनुपर्दछ । पार्टी र पार्टीको युवा फाँटमा उनीहरुलाई राख्न विशेष ध्यान दिनुपर्दछ । 

५) हामी दुवैजनाले हाम्रा विदेशी मित्रहरुले दिनसक्ने सहयोगको रुप र परिमाण बारे शुनिश्चित हुन उनीहरुसँग हाम्रा समस्याबारे छलफल गर्ने समय पनि आइसकेको छ । 

६) एउटा सुझाव के छ भने हामीले अपनाएको पार्टीको दुई लाइन नीति त्याग्नुपर्दछ र एउटै लाइन (नीति) अपनाउनुपर्दछ । (मसी परिवर्तन भएकोमा कृपया क्षमा गर्नुहोला ) । हामीले यो सुझाव मानेर मैले केही तल झर्नुपर्दछ र तपाईंले केही माथि उक्लिनुपर्दछ । 

तपाईंको स्वास्थ कस्तो छ ? तपाईंको राम्रो स्वास्थ हामी सबैका लागि ठूलो सम्पत्ति भएकाले तपाईंले त्यसको राम्रो हेरविचार गर्नुपर्दछ । गणेशमानजी यहाँ एक–दुई दिनमा आइपुग्नुहुने अपेक्षा छ । 

भद्रकालीले मलाई फोन गरेर यी विषयहरुमा छलफल गर्न मैले कलकत्ता जानुपर्छ भनेका छन् । मलाई लाग्छ, तपाईंको निजी स्रोतबाट नेपालको अवस्था बारे जानकारी जुटाउनुभयो भने त्यस्तो छलफल र नेपालको अवस्थाको मूल्याङ्कन गर्न सम्भव हुनेछ । हल्लाको भरमा कुनै कुरा बारे छलफल गर्नुको कुनै तुक छैन ।

तसर्थ, मेरो विचारमा जब तपाईंलाई अब छलफल गर्ने बेला भन्ने लाग्छ त्यतिबेला नै हामीले छलफल गर्नुपर्छ । तपाईं काठमाडौंबाट आउने समाचारहरु बुझिरहनु नै भएको होला । जुनसुकै अवस्थामा पनि म तपाईंको रायको प्रतिक्षामा छु । 

कृपया तपाईंकी श्रीमती र कञ्चनलाई मेरो सम्झना भनिदिनु होला । औषधी उपचारको क्रममा कञ्चनको शल्यक्रिया गर्नु नपरेको हुँदा हामी सबै प्रसन्न छौं । स्नेह सहित । 
तपाईंको माया गर्ने
         बीपी

सुवर्ण सूर्यप्रसाद  बीपी