अन्तरवार्ता भिडियो कभर स्टोरी

दलहरुको इमान्दार प्रयत्न नै संविधानको दीर्घजीवन (भिडियोसहित) 

दलहरुको इमान्दार प्रयत्न नै संविधानको दीर्घजीवन (भिडियोसहित) 

सरकारले संविधान दिवस भव्यतापूर्वक मनाइरहँदा सरकारमै सहभागी समाजवादी पार्टी, नेपालले सरकारी कार्यक्रम बहिष्कार गरेको छ । सो पार्टीले औपचारिक रुपमै संविधान दिवस र कालो दिवस दुवै नमनाउने निर्णय गरेर द्वैध चरित्र प्रदर्शन गरेको छ । उता, राजपा नेपालले भने संविधान दिवसलाई ‘कालो दिन’ भनेर सगौरव घोषणा गरेको छ । 

यी सबै पृष्ठभूमिलाई हेर्दा संविधानमाथिको विवाद झन उग्र भएर जाने देखिन्छ । तर, ठ्याक्कै परिस्थिति त्यस्तो नभएको बताउँछन् वरिष्ठ अधिवक्ता एवम राजनीतिक विश्लेषक महेशकुमार नेपाल । उनका अनुसार संविधान सर्वस्वीकार्य भएको छ । केही झिनामसिना मत मतान्तर भएपनि संविधान अनुसार सबै असन्तुष्ट पक्ष तीनै तहका सरकारमा समाहित भैसकेकाले अब ठूलो विवाद छैन । समाजवादी नेपाल होस् वा राजपा उनीहरु संविधान अनुसार नै चलेका छन्, संविधान अनुसार नै राज्यका पदमा बसेर लाभ लिइरहेका छन् । 

नेपाल भन्छन्, ‘राजपा र समाजवादी पार्टी दुवैले संविधान संशोधनका नाममा राजनीतिक मोलमलाई गरे । राजनीतिक खपतका लागि संविधान संशोधनको नारा उछाले । यो काम अहिले पनि गर्दैछन् । तर, वास्तवमा उनीहरुले पनि संविधान संशोधन भित्रैदेखि चाहेका छैनन् । उनीहरु जुन क्षेत्रको नाममा राजनीति गर्छन्, त्यसमा पनि इमान्दार देखिएनन् । नितान्त व्यक्तिगत र पार्टीगत लाभ नै उनीहरुको राजनीतिको प्रमुख उद्देश्य देखियो । आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भएपनि अहिले त्यसको जरुरत छैन । ’

">

दलहरुको द्वैध चरित्र नै संविधानको सुरक्षित भविष्यका लागि खतरा छ । सत्तारुढ दल नेकपा र विपक्षी कांग्रेसमा पनि द्वैध चरित्र देखिन्छ । कांग्रेसले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका सवालमा कहिलेकाहीं प्रश्न उठाएको देखिन्छ । यी विषयमा पार्टीभित्र छलफल चल्नु सामान्य भएपनि परिवर्तन नै गर्नुपर्छ भनेर हिंड्नु उचित होइन । यो विषयमा अब सोच्नु पनि हुँदैन । 

संविधानले अंगिकार गरेको तीन तहका सरकारमा संविधानको सम्पूर्णतामा काम हुन नसकेपनि विस्तारै संविधान कार्यान्वयनको काम भैरहेको छ । यसतर्फ जनप्रतिनिधिहरु सचेत रहेको पाइन्छ । संविधान अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र  बेपत्ता सम्बन्धी आयोग गठन नहुनु, संवैधानिक आयोग प्रभावकारी नहुनु, संविधानसंग बाझिएका कानुनको संशोधन तथा संवैधानिक हकका कानुन निर्माणमा ढिलाइ हुनु केही कमजोरीका रुपमा देखिएका छन् । वर्तमान सरकारले यी विषयमा गम्भीरतापूर्वक काम गरेको देखिन्छ । सरोकारवाला सबैले यसमा साथ दिएर अघि बढनुपर्छ ।

">

नेपालको संविधानप्रति छिमेकी भारतसहित विभिन्न देशहरुको चासो देखिन्छ । अझ भारतले हिन्दु राष्ट्र, राजसंस्था र प्राकृतिक श्रोतहरुमाथि चासो राखेको भन्ने अप्रत्य सुनिन्छ । भारतले स्वागत नगरेसम्म संविधान जहिले पनि जोखिममै रहने कुरा पनि सुनिन्छ । यी सबै विषयबाट पार पाउन नेपालका दलहरु एकवद्ध हुनुको विकल्प छैन । नेपालका प्रमुख दलहरु अझ संविधान जारी गर्ने सबै शक्ति एकताबद्ध हुने हो भने संविधानको आयु धेरै लामो हुनसक्छ । 

संविधानलाई असफल पार्न थुप्रै चलखेल अहिले पनि मुलुकभित्र भैरहेको देखिन्छ । यी शक्तिलाई विदेशी तत्वहरुले पनि खेलाएको हुनसक्छ । नेपालको राजनीतिमा विदेशीले खेल्न खोज्नु सामान्य जस्तै भइसक्यो । यी सबै कुरालाई परास्त गर्न सक्ने गरी अघि बढ्नु नै आजको आवश्यकता हो । 

">