अपराध सुरक्षा

यस्तो लक्षण देखाउने केटाहरुले हत्या गर्न सक्छन् आफ्नै प्रेमिका 

यस्तो लक्षण देखाउने केटाहरुले हत्या गर्न सक्छन् आफ्नै प्रेमिका 

काठमाडौं । सन् २०१७ मा विश्वमा ३० हजार महिलाहरु आफ्नै पति वा प्रेमीबाट मारिए । बेलायतका एक अपराध विशेषज्ञले महिलाहरु आफ्नै पति वा प्रेमीबाट मारिएको घटनाहरुको गहिरो अध्ययन गरे । र उनले निष्कर्ष निकाले कि आफ्ना प्रेमीको व्यवहारमा आएका केही परिवर्तनहरुलाई चिन्न सक्ने हो भने महिला हत्यामा कमि ल्याउन सकिन्छ । 

डा. जेन मोक्टनले बेलायतमा भएका ३७२ हत्याको अध्ययन गरिन् । जसबाट उनले आठ वटा चरण फेला परे । अधिकांशमा ती चरण वा ‘प्याट्रन’ मिल्दा जुल्दा थिए । 

ग्लोस्टरशायर विश्वविद्यालयका प्रोफेसरसमेत रहेकी मोक्टनको भनाइ छ कि यदि कुनै प्रेमीले आफ्नो प्रेमिकालाई पूरै नियन्त्रणमा राख्न खोज्छ भने उसले एउटा अवस्थामा हत्या गर्न सक्छ । 

 हत्याको सिकार भएकी एक महिलाका पिताले अपराधको सो प्याट्रनको जानकारीबाट धेरै महिलाहरुको ज्यान जोगाउन सकिने विश्वास लिएका छन् । 
डाक्टर मोक्टनको भनाइअनुसार आफ्ना साथीबाट मारिनेमा ८० प्रतिशत महिला छन् र उनीहरु अधिकांश आफ्ना पुरुष साथीबाट मारिएका छन्  । 
अध्ययनका क्रममा हत्या अघि केही घटनाहरुको शृंखला पाइएका छन् । ती यस्ता छन्ः 

१. प्रेमिकाको पूर्वसम्बन्धबारे पनि लुकीचोरी चियो गर्नु र ती विषयलाई लिएर उत्पिडन गर्नु ।
२. आपसी रोमान्स गहिरो सम्बन्धमा परिवर्तन हुनु ।
३. प्रेमिकाको निजी विषयहरुमा हावी हुनु । 
४. सम्बन्ध टुटेको घडीमा प्रेमीले आफूलाई नियन्त्रणमा राख्न नसक्नु वा त्यस्तो हाउभाउ देखाउनु । 
५. क्रमिक रुपले  स्थिति बिग्रिनु । लुकीछिपी नजर राख्नु, आत्महत्याको कुरा गर्नु । 
६. सम्बन्ध समाप्त गर्ने सोच आउनु  । विशेषगरी भौतिक रुपले सिध्याएर सम्बन्ध अन्त्य गर्ने सोच आउनु । 
७. अपराधको उद्देश्यले हतियार खरिद गर्नु । 
८. आफ्नो प्रेमि–प्रेमिकाको हत्या गर्नु र घटनास्थलमा रहेका अरुलाई पनि क्षति पुर्याउन सक्नु ।