समाचार

संविधान दिवसको दिन हिंसा छाडी विप्लवका सहसचिव नेकपामा प्रवेश

संविधान दिवसको दिन हिंसा छाडी विप्लवका सहसचिव नेकपामा प्रवेश

बाजुरा - प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) समूहका जिल्ला सहसचिव नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा प्रवेश गरेका छन् । बाजुरा जिल्ला सहसचिव दानबहादुर खड्का (किशोर) आज पत्रकार सम्मेलन गरी नेकपामा प्रवेश गरेका हुन् ।

जिल्लाको बूढीगङ्गा नगरपालिका–७ झालबाट विप्लव समूहको सङ्गठन विस्तार र पार्टीको प्रचार गर्दै गरेको गोप्य सूचनाका आधारमा भदौ २७ गते जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेका खड्का आज नेकपा बाजुरामा प्रवेश गरेको पत्रकार सम्मेलनमार्फत प्रेस विज्ञप्ति निकाल्दै नेकपामा गएको उनले बताए।

विप्लव समूहको स्पष्ट कार्यदिशा, राजनीतिक, वैचारिक धरातल नभएका कारण उक्त पाटी परित्याग गरी नेकपामा प्रवेश गरेको विप्लव समूहका जिल्ला सहसचिव खड्काले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले आज जारी गरेको विज्ञप्ति र पत्रकार सम्मेलनमा आम नेपाली जनताको जीवनमा आर्थिक समृद्धि ल्याउन समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात् गर्दै आगामी दिनमा नेकपामा निरन्तर रुपमा लाग्ने विज्ञप्तिमा लेखिएको छ । नेकपा बाजुराले आज सदरमुकाम मार्तडीको पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा खड्का नेकपामा प्रवेश गरेको नेकपा बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेपछि मुद्दा खेपिरहेका खड्का एकाएक नेकपामा प्रवेश गरेको बताइएको छ ।