समाचार

‘हाइप्रोफाइल मर्डर’का अभियुक्त सुरुमा निर्दोष, पछि दोषी

‘हाइप्रोफाइल मर्डर’का अभियुक्त सुरुमा निर्दोष, पछि दोषी

काठमाडौं । पूर्वराजदूत केशवराज झाको हत्या भएकै दिन (४ भदौ २०७५) मा उनका कामदार कान्छामान तामाङलाई प्रहरीले पक्राउ गर्यो । अनुसन्धानका धेरै बाटाहरू उनमै गएर ठोक्किए । तर, २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्दा पनि प्रहरीले उनीमाथि मुद्दा चलाउने पर्याप्त आधार भेटेन । 

घटनाको ठीक एक वर्षपछि गत १ भदौमा तामाङ फेरि पक्राउ परे । यसपटक प्रहरीले उनीविरुद्ध मुदा दायर गर्यो, अदालतले समेत उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ । थप प्रमाण फेला पारेर एक वर्षपछि तामाङलाई मुद्दा दायर गरिएको

होइन । त्यतिवेला मृतकका परिवार आफ्नै कामदारले नै हत्या गरेकोमा विश्वस्त हुन सकेका थिएनन्, अहिले विश्वस्त भएर किटानी जाहेरी दिएपछि प्रहरीले मुद्दा दायर गरेको हो । तामाङविरुद्ध प्रहरीले बलिया परिस्थितिजन्य प्रमाणहरू पेस गरेको छ, तर अन्य अकाट्य प्रमाण भने छैन । इन्कारी बयानका बाबजुद पनि परिस्थितिजन्य प्रमाण बलियो भएकाले त्यसैलाई आधार मानेर अदालतले समेत तामाङलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ ।

यो घटनाले अनुसन्धान पूर्ण नभएसम्म हचुवाको भरमा प्रहरीले मुद्दा दायर गर्दैन भन्ने प्रस्ट हुने महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा बताउँछन् । ‘एक वर्षसम्म बाहिरै राखेर हामीले उनीमाथि अनुसन्धान गर्यौं,’ थापाले भने, ‘अहिले उनीविरुद्ध मुद्दा चलाउने पर्याप्त आधार भयो, त्यसकारण मुद्दा दायर भएको हो । प्रहरीले हचुवा वा कसैको दबाबको भरमा मुद्दा दायर गर्दैन भन्ने यो अनुसन्धानबाट प्रस्ट हुन्छ ।’ यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

केशवराज झा अभियुक्त निर्दोष दोषी हत्या हाइप्रोफाइल