अपराध सुरक्षा

रगत पिउने शोख

रगत पिउने शोख

२६ फेब्रुअरी, १९४९ । लण्डनको चलेसिया पुलिस थानामा ३९ वर्षीय जान जर्ज हेगलाई डूरड डीकन नामकी एक महिला अचानक बेपत्ता भएको सिलसिलामा सोधपुछका लागि उपस्थित गराइयो । बेपत्ता हुनुअघि डीकनलाई हेगसंगै देखिएको थियो । लण्डन प्रहरीद्वारा स्कटल्याण्डमा राखिएको प्रहरी रेकर्डमा हेगलाई प्रहरी मुद्दामा तीनपटक विभिन्न मुद्दामा कैदको सजाय भइसकेको पत्ता लगोपछि ऊ प्रहरीको नजरमा शंकास्पद बनिसकेको थियो । 

प्रहरीले प्रश्न शुरु गरेपछि अन्तिम अवस्थामा उसले नाटकीय ढंगमा भन्यो– ‘मैले सही कुरा बताएँ भने तपाईंहरुलाई नाटकीय, अपत्यारिलो र अकल्पनीय लाग्न सक्छ ।’ यति भनेपछि उसले भयावह आपराधिक घट्नाको वर्णन थाल्यो– ‘यहाँहरुले चासो राख्नुभएको डूरड डीकनको यस संसारमा कुनै अस्तित्व बाँकी छैन् । उनी पूर्ण रुपमा गायव भइसकेकी छन् । मैले उनलाई तेजावमा घोलिसकेको छु । उनको प्रत्येक निसानी नामेठ भइसकेको छ ।’ ऊ अगाडि भन्दै थियो– ‘मैले उनको टाउको पछाडी गोली हानें । त्यसपछि चक्कुले घाँटीनिर प्वाल पारें । हातमा लिएको गिलासमा रगत भरेर तनतनी पिउन शुरु गरें । 

यो अकल्पनीय बर्णनले पुलिस स्तब्ध बन्यो । मानव रगतमा रमाउने त्यो नर पिशाच किन्चित डर नमानी सविस्तार लगाइरहेको थियो । उसले निर्दोष महिलाको हत्या किन गर्यो ? जिउँदो मानिस मारेर रगत पिउनु पछाडि उसको दिमागमा कुन पैशाचिक प्रेरणाले काम गरेको थियो ? यी यस्तै जिज्ञासा केन्द्रविन्दुमा राखेर पुलिसले जाँचबुझ प्रक्रिया अघि बढायो ।

लण्डनको दक्षिण किंगस्टनमा बनेको आनस्लो कोर्ट होटलका स्थायी निवासी विशेषगरी बढी उमेरका विधवा महिलाहरुको नजरमा हेग एक आकर्षक र शालिन व्यक्ति ठहरिएको थियो । उ सबैसंग आत्मीय व्यवहार गर्दथ्यो । यसबाट ती महिलाले उसलाई पारिवारिक सदस्यको रुपमा हेर्दथे । उनीहरुका अगाडि ऊ आफूलाई एक सफल र आफ्नै कारोबार भएको इञ्जिनीयरको रुपमा प्रस्तुत गर्दथ्यो । यस्तै व्यवहारले गर्दा ६९ वर्षीया विधवा वैज्ञानिक डूरड डीकन हेगसंग नजिकिइन । उनले आधुनिक प्लास्टिक डिजाइन उपयोग गरेर व्यावसायिक रुपमा अघि बढ्ने सल्लाह हेगसंग गरिन । उनको प्रस्ताव तत्काल स्वीकारेको हेगले ससेवरमा रहेको आफ्नो कारखानामा गएर उपयोगी प्लास्टिक छानेर त्यसलाई व्यापक उपयोग गर्न सुझाव दियो ।

१८ फेब्रुअरी, १९४९ मा डीकनलाई लियोपोल्ड रोडनिर बनेको आफ्नो कारखानामा लिएर गयो । त्यो कारखाना उसको थिएन । यद्यपि प्रयोगात्मक इञ्जिनीयरिङका लागि एक कोठा सुरक्षित थियो । आफ्नो प्रयोगशालामा उसले पहिले नै तेजावको एक ठूलो जार, बेन्चमा पम्प, रबरको एप्रोन, ४५ ग्यालिन क्षमताको ड्रम जस्ता विविध चीज राखेको थियो । त्यस अनौठो प्रयोगशालामा पुगेपछि अल्मलिएकी डीकनलाई ताकेर ३८ बोरको स्कट रिभल्वरले गर्दनमा हान्यो । जमिनमा ढलेकी डीकनको गर्दनको रक्त धमनी चक्कुले काट्यो र उम्लिएर आएको रगत गिलासमा भरेर घट्घट् पिउन थाल्यो । रगत पिएपछि शबलाई निर्वस्त्र बनायो । गरगहना निकालेपछि अम्लरोधक ड्रममा शब राखी तेजाव भर्न शुरु गर्यो । तेजावले शब गल्दै गयो । 

आफैं हत्या, आफैं उजुरी

यस घटनाको भोलिपल्ट  साथीभाई उनको अनुपस्थितिलाई लिएर शंका आशंका गर्न थाले । उनीहरुलाई हेग र डीकनको निकटताबारे थाहा थियो । त्यसैले हेगसंग डीकनका विषयमा जिज्ञासा राखे । तर उसले आफूलाई थाहा नभएको बताएपछि पुलिसमा रिपोर्ट लेख्न दबाब दिए । हेगले बाध्य भएर पुलिस समक्ष बनावटी रिपोर्ट लेख्यो । बनावटी रिपोर्टले उ थप शंकाको घेरामा पर्यो । स्कटल्याण्डबाट हेगको अपराधी रेकर्ड पत्ता लागेपछि प्रहरी टोलीले कारखानामा रहेको प्रयोगशालामा छापा मार्यो । पम्प, तेजावको जार, रगत लत्पतिएको एप्रोन, रिभल्वर, मानवीय अस्थिपञ्रका १८ टुक्रा, नितम्बको हाड र केही नक्कली दाँत बरामद् भयो । परीक्षण पछि पत्ता लाग्यो– केही दिनअघि महिलाको हत्या भएको थियो ।

तिनी श्रीमती डिकन नै थिइन् । यो घट्नापछि हेगको आपराधिक क्रियाकलाप एकपछि अर्को खुल्दै गयो । आफ्नो शिकारको हत्या गरेर तेजावमा गलाइदिने उसको पुरानो तरिका पनि सार्वजनिक भयो । त्यहाँ अन्य पाँचजनाको पनि उसले यही तरिकाले हत्या गरिसकेको थियो । हरेक पटक हेगले आफ्नो शिकारको हत्या गरेर तेजावमा त्यही ढंगले डुबाउँथ्यो । हेगले आफूले मारेका मानिसको हस्तलेखन नक्कल गरेर उनीहरुको सम्पत्ति हडपेको रहस्य खुल्यो । 

१८ जुलाई १९४९ मा हेगविरुद्ध अदालती प्रक्रिया शुरु भयो । कारवाहीको मुख्य केन्द्रविन्दु यो थियो कि हेग दिमागी रुपले स्वस्थ छ कि विक्षिप्त ? किनकी मानव रगत पानीसरह पिउनेजस्तो जघन्य कुकृत्य एउटा सामान्य मानिसले गर्न सक्दैन । जुरीले १५ मिनेट बीचमा हेगलाई अपराधी ठहर गरी मृत्युदण्डको सजाय सुनाइदियो । 

फाँसीको प्रतिक्षामा रहेको हेगले आफ्नो अन्तिम लिखित अभिव्यक्तिमा भनेको थियो– ‘मेरा आमा, बुवा अत्यन्त माया गर्ने हुनुहुन्थ्यो । तर मैले सानैदेखि साथीभाईसंग रहेर मिल्ने खुशी पाइरहेको थिइँन । मलाई बुवाको यसो गर्नुहुन्न, उसो गर्नुहुन्न भन्ने एउटै मात्र डाइलग याद आउँछ । खेलकुद र मनोरञ्जनमा म पूर्णत बेखबर जस्तै थिएँ । कोइलाखानीमा काम गर्ने मेरो बुवाको निधारमा कोइलाले लागेर एकपटक निधारमा निलो खत बनाएको थियो । जसलाई उहाँ ‘शैतानी निशान’ भन्ने गर्नुहुन्थ्यो । उहाँले मलाई शैतानले यस्तै निशान बनाउन सक्छ भनेर सचेत गराउनु भएको थियो । बुवाको यस कुराले मलाई जिन्दगीभर सशंकित बनाइ राख्यो । त्यसैले सुत्नुअघि सधैं निधार हेर्ने गर्थें ।’

हेगका अनुसार प्रत्येक सपनामा उसले रगत बगेको देख्थ्यो । मार्च १९४४ को एक कार दुर्घटनामा उसको निधारबाट मुखमा रगत पुगेको थियो । यस घटनापछि रगतले भरिएको सपना बारम्बार दोहोरियो । सपनामा उसले ठूलो जंगलमा पानी बर्सिएको देख्थ्यो । हेर्दाहेर्दै त्यो पानी रगतमा परिणत हुन्थ्यो । एउटा मानिस प्रत्येक रुखमा गएर रगत जम्मा गरेर ल्याउँथ्यो र हेगलाई पिउन कर गथ्र्यो । आग्रह टार्न नसकेर सपनामै तनतनी रगत पिइदिन्थ्यो । 

सपना त विहानीसंगै समाप्त हुन्थ्यो । तर हेगका लागि त्यो जीवित दुस्वप्न बनेर रहिरह्यो । यो सपना वास्तविक जीवनमा विपना बनेर प्रकट हुन थाल्यो । हेग त्यो दुस्वप्नबाट केही समयका लागि मुक्ति मिलेको अनुभूति त्यतिबेला गर्न पाउँथ्यो, जतिबेला उसलाई मानिसको हत्या गरेर रगत पिउने अवसर मिल्थ्यो । 

प्रहरी रगत तेजाव हत्या