समाचार

मन्त्री भट्टराईलाई बुद्ध एयरका यात्रुले पारे र्‍याखर्‍याख्ती

मन्त्री भट्टराईलाई बुद्ध एयरका यात्रुले पारे र्‍याखर्‍याख्ती

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बुद्ध एयरको जहाजमा यात्रुले  र्‍याखर्‍याख्ती पारेका छन्। मन्त्रीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि उडान 'होल्ड' गर्न लगाएको आरोप लगाउँदै उनीमाथि गालीगलौज तथा हातपात प्रयास गरेका हुन्।

सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीसहितका केही व्यक्तिहरूको समूहले मन्त्रीको व्यक्तिगत कामका लागि विमान होल्ड गराको र सोही कारण एक घण्टा ढिला भएको भन्दै यात्रुले मन्त्रीविरूद्ध जहाजमै सवाल पनि सोधेको भिडियो सार्वजनिक भएको हो।

बुद्ध एयरको जहाज नेपालगञ्जबाट ६:२५ मा उड्ने तालिका थियो तर, मन्त्रीकै कारणले गर्दा एक घण्टा डिले भएको उनीहरूले आरोप लगाएका छन्। उक्त भिडियोमा निकै आक्रोशित देखिएका यात्रुले मन्त्रीसँग सवाल पनि गरेका छन्।

'तपाईंप्रति हाम्रो विश्वास थियो। प्रधानमन्त्री आउँदा पनि हामीले नै दुःख पाउने। आश गरिएका युवा मन्त्री आउँदा पनि हामीले नै सास्ती पाउने। यो कस्तो व्यवस्था हो?' आक्रोशित यात्रुले मन्त्रीसमक्ष भनेका छन्।

मन्त्री भट्टराई कन्चनपुरको टीकापुर गएका थिए। उनी त्यहाँबाट फर्किंदा केही समय ढिला भएको मन्त्री भट्टराई सामाजिक सञ्जालमार्फत स्वीकार गरेका छन्। उनले सामाजिक सञ्जालमार्पत एक घण्टा ढिला नभइ १५ मिनेट मात्रै ढिला भएको बताएका छन्। उनले आफ्नो कारणले पर्न गएको असुविधाप्रति माफी समेत मागेका छन्।

त्यस्तै सामाजिक अभियान्ता शाहीले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेअनुसार भट्टराईका कारण नेपालगन्ज एअरपोर्ट एक घण्टा कुर्नुपरेको थियो। आक्रोशित यात्रुले मन्त्रीसँग सवाल जवाफ गरेको उल्लेख गरेका छन्।

योगेश भट्टराई