मुख्य समाचार

पहिरोले पुरिएर रोल्पा र पाल्पामा ७ जनाको मृत्यु

पहिरोले पुरिएर रोल्पा र पाल्पामा ७ जनाको मृत्यु

दाङ । पहिरोमा पुरिएर रोल्पा र पाल्पामा ७ जनाको ज्यान गएको छ । रोल्पाको थवाङ गाउँपालिका–२, छेर्लवाङमा बिहीबार मध्यरातमा आएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रदेश प्रहरी प्रवक्ता नवराज पोखरेलले पहिरोमा पुरिएर थवाङ–२, छेर्लवाङका २८ वर्षीय शिरकुमारी बुढा, उहाँका चार वर्षीय छोरा असल बुढा, ३८ वर्षीय जय बुढा, ३६ वर्षीय मूलज्योति बुढा, नौ वर्षीय देवस्थी बुढा र दुई वर्षीया करिश्मा बुढाको मृत्यु भएको जानकारी दिए । 

रोल्पा सदरमुकाम लिवाङबाट ७० किलोमिटर उत्तरमा रहेको थवाङको छेर्लवाङमा दुई परिवारका सदस्य बन्दै आएको घर पहिरोमा परेको भन्दै प्रहरी प्रवक्ता पोख्रेलले छ जनाको शव शुक्रबार निकालिएको जानकारी दिए । दुईतले घरको माथिल्लो तला र तल्लो तलामा सुतिरहेका छ जनालाई पहिरोले पुरेको भन्दै प्रहरी प्रवक्ता पोखरेलले घरमा रहेका चौपाया पनि पुरिएको जानकारी दिए । 

यता तानसेन समाचारदाताका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा नजिकै शुक्रबार बिहान खसेको ढुङ्गासहितको पहिरोले सडकमा गुडिरहेका दुईवटा जिप पुरिँदा एक जनाको मृत्यु भएको छ ।  बुटवलबाट पाल्पा आउँदै गरेको लु. १ ज २६१६ नम्बरको जिप र पाल्पाबाट बुटवल जाँदै गरेको लु। २ च ५९३८ नम्बरको स्कार्पियोलाई माथिबाट खसेको पहिरोले पुरेको हो । पहिरोमा लु। १ ज २६१७ नम्बरका जिपका चालक तिलोत्तमा नगरपालिकाका २६ वर्षीय कमल परियारको मृत्यु भएको छ ।

सोही जिपमा सवार बुटवल उपमहानगरपालिका–१२, नयाँगाउँका २० वर्षीय नरेन्द्र हमाल गम्भीर घाइते हुनुभएको छ । यस्तै बुटवल नयाँगाउँकै २० वर्षीय मिलन शाह, गुल्मी जिल्ला पूर्तिघाटका २२ वर्षीय प्रेम सुनार र तिलोत्तमाका ३९ वर्षीय ललित मल्ल घाइते भएका छन् । 

घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सोही जिपमा सवार अन्य नौ जना यात्रु भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । लु. २ च ५९३८ नम्बरको स्कार्पियोमा सवार दुई जना पनि सकुशल नै रहेको प्रहरीले जनाएको छ । यसैबीच पहिरोले  सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । पहिरो खसेपछि बन्द भएको सडक खुलाउन समय लागेका कारण सिद्धार्थ राजमार्गमा दिनभर सवारी सञ्चालन हुन सकेन ।  

दाङ रोल्पा पाल्पा रोल्पा र पाल्पामा