मुख्य समाचार

इन्द्रजात्रामा राष्ट्रपति,प्रधानमन्त्रीविरुद्ध प्रदर्शनको तयारीमा रहेका शिव सेनाका कार्यकर्ता पक्राउ 

इन्द्रजात्रामा राष्ट्रपति,प्रधानमन्त्रीविरुद्ध प्रदर्शनको तयारीमा रहेका शिव सेनाका कार्यकर्ता पक्राउ 

काठमाडौं । इन्द्रजात्रामा सहभागी हुने राज्यका विशिष्ट पदाधिकारीहरुविरुद्ध प्रदर्शनको तयारी गरेको भन्दै शिव सेना नेपालका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’का अनुसार आज बिहान १० बजे वशन्तपुरबाट पार्टीका करिब ५० नेता कार्यकर्ता पक्राउ परेका छन् । 
अध्यक्ष बस्नेतका अनुसार धर्मनिरपेक्षतावादी राष्ट्र प्रमुख, सरकार प्रमुखले यस्ता धार्मिक कार्यक्रममा भाग लिन नैतिक हिसाबले पनि नमिल्ने भएका कारण पार्टीले प्रदर्शनको तयारी गरिरहँदा प्रहरीले धरपकड गरेको हो । 

करिब १ हजार पार्टीका नेता तथा कार्यकर्ताले कालो पहिरनमा धर्मनिरपेक्षता पक्षधरका विशिष्ट पदाधिकारीविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको बस्नेतले बताए । 
बस्नेतले भने, ‘इन्द्रजात्रालाई सफल बनाउने तर धर्म बेचेवाहरुको इन्द्रजात्रामा सहभागीता अशोभनीय हो भन्ने देखाउन खोजेका हौं  ।’

शिवसेना अध्यक्ष अनिल बस्नेत, पूर्व डिआईजी विजय भट्ट र पूर्व मेजर केशव बस्नेत पनि पक्राउ परेका छन् ।  प्रहरीले गुठी विधेयकविरुद्धको आन्दोलनमा सक्रिय रहेको राष्ट्रिय पहिचान संघर्ष समितिका कार्यकर्ताहरुलाई पनि पक्राउ गरेको छ । 

त्यसै गरी पुनरुत्थानवादी शक्तिका नेता शेखरजंग रायमाझीसहित १३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी भ्यानमा रहेकै बेला फेसबुक लाइभ गरेर रायमाझीले भने, ‘हामी इन्द्रजात्रा मनाउन आएका थियौं । बिना कारण प्रहरीले पक्राउ गरेको छ ।’

फाइल तस्बीर