अन्तरवार्ता भिडियो Breaking News

राजसंस्था देशका लागि अपरिहार्य, देश विदेशीहरुको क्रिडास्थल भयो  (भिडियोसहित)     

राजसंस्था देशका लागि अपरिहार्य, देश विदेशीहरुको क्रिडास्थल भयो  (भिडियोसहित)     

सुनिल भण्डारी नेपाली कांग्रेसका पुराना वरिष्ठ नेता हुन् । आफनो पार्टीले जे जस्तो राजनीतिक लाइन लिएपनि आफनो स्वतन्त्र विचार राख्न उनी कहिल्यै हिच्कीचाउँदैनन् । मुलुकको वर्तमान परिस्थिति र आफनो पार्टीले लिएको राजनीतिक दिशाप्रति उनको भिन्न मत छ । 

गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली ४  बाट सम्मानजनक मत ल्याएका भण्डारी सैद्धान्तिक र बैचारिक हिसाबले खरो रुपमा फरक बिचार राख्छन् तर कुनै नेता विशेषमाथि व्यक्तिगत आलोचना वा टिप्पणी गर्न चाहँदैनन् । 

मुलुकको राजनीतिमा नैतिकता हराउँदै गएको र नेताहरु सिद्धान्तमुखी नभइ व्यक्तिवादी र स्वार्थ केन्द्रीत हुँदै गएको उनको बुझाइ छ । आफनो राजनीतिक महत्वकांक्षा पूरा गर्न नेताहरु विदेशी शक्तिको गोटी बन्न थालेको र यसले राष्ट्रिय स्वाभिमान र मुलुकको सार्वभौमिकता नै संकटमा परेको उनको निष्कर्ष छ । आफ्नो पार्टी नेपाली कांग्रेसले इतिहासमा थुप्रै गल्ति गरेकाले आज बेहाल अवस्थामा पुगेको उनी बताउँछन् । 

इतिहास कोट्याउँदै उनी भन्छन्, ‘ वीपीले बामपन्थीसंगको सहकार्य कहिल्यै कल्पना गरेनन् । हामीलाई कम्युनिष्टहरुसंगको सहकार्य निकै महङ्गो पर्यो । हामीले मुलुकमा परिवर्तनका लागि कम्युनिष्टलाई पनि सुधार्न सकिन्छ कि भनेर सोच्यौं, तर उनीहरुल घात गरे । त्यो कांग्रेसको चुक थियो । यस्तै, १२ बुँदे समझदारी दिल्लीमा गर्नु अर्को चुक हो । यसमार्फत हामीले आफनो आन्तरिक मामिलामा विदेशीलाई जबरजस्त स्थान दियौं । यसबाट आन्तरिक रुपमा निर्णय गर्न क्षमता हामीले गुमाउँदै गयौं, विदेशी शक्ति हावी हुँदै गए ।’

नेता भण्डारीका अनुसार जनभावना विपरित मुलुकमा संघीयता र धर्मनिरपेक्षता स्वीकार गर्नु पनि कांग्रेसको अर्को चुक हो । जनआन्दोलनमा संघीयता र धर्मनिरपेक्षता चाहियो भन्ने माग कहिंबाट पनि उठेको थिएन । यो विदेशी प्रभावमा आएको हो । आज यी मुद्दाका कारण उत्पन्न  परिणति नेपालीले भोग्दैछन् । जतिसक्दो चाँडो यो देशबाट संघीयता र धर्मनिरपेक्षतालाई विदाइ गर्नुपर्छ । 

राजनीतिक दल र नेताहरुमा जिम्मेवारीवोध र कर्तव्यपरायणता देखिएन । आफनो राजनीतिक महत्वकांक्षा पूरा गर्न जे पनि गर्न थाले । जनतालाई महत्व दिनै छाडे । राष्ट्रियता नेताहरुको प्राथमिकता पर्न छाड्यो । कहिल्यै देश र जनताप्रति केन्द्रीत भएनन् । यसले जनतामा आक्रोश बढाएको छ । यही कारण देशभरका जनता नेताहरुप्रति मात्र होइन, यो व्यवस्थाप्रति नै असन्तुष्ट छन् । सानो कुनै झिल्को भेट्यो कि सडकमा आक्रोश पोखिने कारण यही हो । 
जनताको आक्रोश र असन्तुष्टिलाई समेटेर अघि बढ्ने नेतृत्वको अहिले अभाव छ । देशमा नेता नै देखिएन । तर, यो जनआक्रोशले कुनै न कुनै रुप अवश्य लिन्छ । त्यहींबाट आकस्मिकरुपमा नेतृत्वको जन्म हुन्छ । त्यो नेपाली सेना पनि हुनसक्छ । 

तर, यो देशमा राजसंस्थाको आवश्यकता छ । राष्ट्रिय एकता कायम गर्न, जनताको गुमेको आत्मविश्वास फर्काउन, मुलुकको अखण्डता र सार्वभौमिकताको रक्षाका लागि पनि राजसंस्था अपरिहार्य छ । यसका लागि बेलायत, जापानमा जस्तो संवैधानिक राजसंस्था कायम गर्न नेपाली जनता एकजुट हुनुपर्छ । 

नेपालमा हुने राजनीतिक परिवर्तन आन्तरिक संघर्षबाट मात्र सम्भव छैन । यसमा छिमेकी भारत र चीन तथा युरोपेयिन युनियन र अमेरिकाको भूमिका पनि महत्वपूर्ण रहन्छ । 

पछिल्लो समय भारत र चीन भन्दा नेपालमा पश्चिमा शक्ति हावी हुँदै गएका छन् । पश्चिमा शक्तिहरुको नेपालमा जबरजस्त प्रभाव देखिन्छ । होली वाइन, अमेरिकाको इण्डोप्यासिफिक रणनीति, अमेरिकी सेनासंग संयुक्त अभ्यास लगायतका विषय त्यत्तिकै भैरहेका छैनन् । त्यसकारण, नेपालमा हुने राजनीतिक परिवर्तनमा यी सबै शक्ति निर्णायक हुने हुँदा ठ्याक्कै यही नै भैहाल्छ भन्ने स्थिति तत्काल देखिदैन । 

नेता भण्डारीका अनुसार वर्तमान नेकपा नेतृत्वको सरकारले विश्वसनियता गुमाइसकेकाले हेर्दा दुई तिहाइ देखिएपनि कुनैपनि बेला आफनै कारणले ढल्न सक्छ । जनताको नजरमा गिरीसकेको सरकार अंक गणितले ठूलो देखिएपनि त्यसको अर्थ हुँदैन । त्यो मरेतुल्य हुन्छ । नेकपा सरकार अहिले मरेतुल्य अवस्थामा छ । 

जहाँसम्म नेकपा पार्टी छ, यो कुनै सिद्धान्त र दृष्टिकोणले बनेको नभइ स्वार्थको गठवन्धन मात्र भएकाले यसको आयु पनि लामो छैन । नेकपामा विद्रोहका स्वरहरु एकपछि अर्को गर्दै बाहिर आउन थालेका छन्, अब विष्फोट हुन मात्र बाँकी छ । 

ADVERTISEMENT