प्रवास

एनआरएन क्यानडाको मिडिया संयोजकमा बद्री तिमल्सिना 

एनआरएन क्यानडाको मिडिया संयोजकमा बद्री तिमल्सिना 

टोरोन्टो । गैरआवासीय नेपाली संघ एनआरएनए क्यानडाका नवनिर्वाचित प्रतिनिधिहरुले औपचारिकरुपमा कार्यभार सम्हालेसंगै कार्यसमितिमा थप नयांँ सदस्यहरु थपिएका छन् । ब्राम्पटन शहरस्थित एभरेष्ट तेक्वान्दो हलमा आयोजित हस्तान्तरण कार्यक्रमपछि बसेको कार्यसमितिको बैठकले विभिन्न क्षेत्रका लागि संयोजक र केही सल्लाहकार नियुक्त गरेको छ । यसरी नियुक्त हुनेहरुमा मिडिया संयोजकमा पत्रकार बद्री तिमल्सिना, पर्यटन समितिको संयोजकमा प्रदीप मरहठ्ठा र आर्थिक समितिको संयोजकमा व्यवसायी अमृतो भट्टराई रहेका छन् भने स्वास्थ्य सम्बन्धिमा सुरेश गौतमलाई संयोजक तोकेको छ । 

क्यानडा खबरका हाल सम्पादक रहेका पत्रकार तिमल्सिना नेपालका नेपाल एफएम नेटवर्क, गोर्खा एफ, कोशी एफएम, न्यूज २४ टेलिभिजन जस्ता संचारगृहमा समाचार वाचन तथा सम्पादन गरिसकेका व्यक्ति हुन् । नवनिर्वाचित अध्यक्ष चिरन्जिवी घिमिरेको अध्यक्षतामा बसेको वैठकले यसअघिको कार्यकालमा कानूनी सल्लाहकार रहेका अतुल सुवेदीलाई यसपटक पनि निरन्तरता दिएको प्रवक्ता दिनेश खतिवडाले जानकारी दिए ।

बैठकपछि अध्यक्ष घिमिरे र निवर्तमान अध्यक्ष गोपीकृष्ण काफ्लेले मनोनित हुने सबै संयोजक तथा सल्लाहकारलाई बधाइ तथा शुभकामना दिएका थिए ।   

यसैबीच नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर एनआरएनए क्यानडाले टोरोन्टोमा नेपाल डे मनाउने भएको छ । यहि सेप्टेम्बर महिनाको १९ का दिन विभिन्न स्थानीय नेपाली संघसंस्थाहरुसँंगको सहकार्यमा टोरोन्टोको क्विन्सपार्कमा हुने कार्यक्रममा ओन्टारियो राज्यका सरकारी प्रतिनिधिहरुको सहभागिता रहने प्रवक्ता खतिवडाले बताए । यसकार्यक्रमबाट क्यानडेली पर्यटकहरुलाई नेपालबारे जानकारी गराइने र नेपाल जान उनीहरुलाई प्रेरित गरिने बताइएको छ ।

यसअघि नेपाल पर्यटनबोर्ड क्यानडालगायतका संघसंस्थाहरुले ब्राम्पटन र मिसिसागा शहरमा गुड्ने सार्वजनिक बसहरुमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी ब्यानरहरु टासेर क्यानडामा सुरुवात गरिसकेका छन् । अहिले यी सहरहरुका बसमा नेपाल सम्बन्धी ब्यानरहरु धेरै जसोमा देख्न सकिन्छ ।