अन्तरवार्ता भिडियो कभर स्टोरी

कांग्रेसमा जिल्ला सभापतिहरुको चलखेल : नेतृत्वलाई गलाउने प्रयास (भिडियोसहित)

कांग्रेसमा जिल्ला सभापतिहरुको चलखेल : नेतृत्वलाई गलाउने प्रयास (भिडियोसहित)

नेपाली कांग्रेसमा जिल्ला सभापतिहरुको सक्रियता अझै बढ्न थालेको छ । पछिल्लो महासमिति बैठकमा महाधिवेशन प्रतिनिधि हुँदा सबै चुनिएर आउनुपर्ने र एउटै व्यक्तिले सधैं आरक्षण पाउन नहुने मुख्यतः दुईवटा मुद्दा उठाएर जिल्ला सभापतिहरुले नेतृत्वमाथि राजनीतिक दवाव सृजना गरेका थिए । 

तर, केन्द्रीय समिति बैठकले महासमिति बैठकबाट पारित भएको भनिएका मुद्दालाई उल्ट्याएपछि जिल्ला सभापतिहरु रीशले चुर हुँदै विशेष महाधिवेशनको तयारीमा लागेका थिए । त्यसका लागि उनीहरुले भित्रभित्रै हस्ताक्षर अभियान पनि चलाए । तर, पछिल्लो केन्द्रीय समिति बैठकले पनि ‘अर्ली महाधिवेशन’  वा चार वर्ष भित्र गर्नुपर्ने ‘रेगुलर  महाधिवेशन ’ पनि नगरी एक वर्ष केन्द्रीय समितिको म्याद थप्ने संकेत देखाएपछि जिल्ला सभापतिहरुको चलखेल फेरि बढेको छ । 

कांग्रेसमा अलोकतान्त्रिक निर्णय

नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्य भन्छन्, ‘ महासमिति बैठकले पारित गरेका विषय केन्द्र्रीय समितिले बहुमतको आडमा उल्ट्याउने निर्णय नेपाली कांग्रेसको इतिहासमा अहिलेसम्मकै अलोकतान्त्रिक कदम हो । यो विधान विपरित निर्णय हो । ’

नेता आचार्य भन्छन्, ‘ पार्टी बहुमत हुनेहरुको मात्र हो ? सभापति र वरिष्ठ नेताले देशभरका प्रतिनिधिसामु कबुल गरेको कुराको कुनै अर्थ हुँदैन ? पार्टी लथालिङ्ग र भताभुङ्ग हुनुको एउटा कारण यस्तै कार्यशैली ले हो । यसको सम्पूर्ण नैतिक जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्छ । ’

सभापतिहरुको प्राथमिकता 

आचार्यका अनुसार जिल्ला सभापतिहरुले पार्टीमा गुट बनाएको नभइ पार्टीलाई जिवन्त बनाउने काम मात्र गरेका छन् । बिभिन्न समयमा भेटघाट गरी आपसी अनुभव आदानप्रदान गरी समसामयिक विषयमा धारणा बनाउनु जिल्ला सभापतिहरुको परम्परा नै हो । यसले पार्टीमा गुट निर्माण होइन, बैचारिक तथा सांगठनिक अभियानलाई थप मजबुत बनाउँछ । 

अहिले जिल्ला सभापतिहरु मुख्यतः दुईवटा काममा बढी केन्द्रीत छन् । 

क) सरकारका काम कारवाहीप्रति खवरदारी
ख) कांग्रेसलाई बलियो बनाउने

नेता आचार्य भन्छन्, ‘ वर्तमान सरकारका कारण जनता प्रताडित भएका छन् । जताततै भ्रष्टाचार, महंगि, लुट, गुण्डागर्दी, बलात्कार, असुरक्षा, जथाभावी कर । हर्ष मान्नुपर्ने कुनैपनि काम यो सरकारले गर्न सकेन । यो विषयमा जनतालाई छर्लङ्ग पार्न जरुरी छ । हामी जिल्ला सभापतिहरु यो अभियानमा लागेका छौं । ’

हुँदा हुँदा मन्त्रिपरिषद्ले गर्ने निर्णयमा अख्तियारले हात हाल्न नपाउने ऐन ल्याउने तयारी छ । यो त सरासर हामी भ्रष्टाचार गछौ, कसैले केही बोल्न पाउँदैन भनेको जस्तो भएन ? 

अझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल दुवईको विलासी भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्रमाथि खनिएका छन् । उनले आफूले जनतासामु गरेका कबुल पूरा गर्ने कि वहकिने ? यो के हो भने समग्र नेकपा पार्टी, यो सरकार र प्रचण्ड जी गलत बाटोमा हिंडिरहेका छन् । यी विषयमा गाउँगाउँका जनतालाई अवगत गराउने दायित्व जिल्ला सभापतिहरुले लिएका छन् । 

दोस्रो कुरा आफ्नै पार्टीलाई बलियो बनाउने हो । अहिले कांग्रेसमा सबैभन्दा ठूलो योग्यता भनेको गुटमा पर्नु हो । नेता कार्यकर्ताको निष्ठा, योगदान, लगाव र इमान्दारिताको कुनै कदर छैन । कुनै नेता विशेषको खल्तीको मान्छे भए त्यो योग्य, नभए अयोग्य हुने स्थिति बन्यो । यसले कांग्रेसलाई ध्वस्त पारेको छ । 

अर्को कुरा कांग्रेसमा ‘लोकतान्त्रिक समाजवाद’ हराउन थालिसक्यो । जनताका आधारभूत कुरा, शिक्षा, स्वास्थ्य, समावेशीता, समग्र आर्थिक नीतिका विषयमा स्पष्ट दृष्टिकोण अझै बनाउन सकिएको छैन । अन्योलको यात्राले दुर्घटना मात्र गराउँछ । जिल्ला सभापतिहरु अहिले यसमा पनि केन्द्रीत छन्, नेतृत्वलाई यी विषयमा लगातार खबरदारी गरिंदै छ । 

नेता कि नीति ?

कांग्रेसमा छिटो भन्दा छिटो महाधिवेशनको माग हुनुको एउटै कारण हो –नेतृत्व परिवर्तन । 

सभापति आचार्य भन्छन्, ‘ नेतृत्व ठूलो कुरा होइन, हामीले नीतिमा जोड दिनुपर्छ । नेतृत्व त के भयो र, सभापति देउवा मात्र होइन, हामी सबैको पद पनि जानसक्छ । जितेर आए फेरि नेतृत्वमा पुगिन्छ । यो ठूलो कुरा होइन, मुख्यतः नीतिमा जोड दिने हो । ’

नीतिको सवालमा अहिले संविधानमाथि कम्तिमा दश वर्ष प्रश्न उठाउन हुँदैन । अहिले कांग्रेस भित्रै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विषयमा असन्तुष्टि उठेपनि त्यो हतारो भयो । कम्तिमा दश वर्ष यो संविधान कार्यान्वयनमा ध्यान दिनुपर्छ । धेरै असन्तुष्टि व्यक्त गरे त्यसले अस्थिरता मात्र दिन्छ, कसैलाई फाइदा हुँदैन । 

जहाँसम्म यो सरकारको अलोकप्रियता कुरा छ, यसलाई ५ वर्ष चल्न दिनुपर्छ । कुनैपनि अवैध ढंगले सरकार ढाल्ने कुरा गर्नु हुँदैन । उनीहरु चुनाव जितेर आएका हुन, पाँच वर्षसम्म चलाउन पाउनुपर्छ । खराब कर्म गर्नेहरुलाई जनताले सजाय अवश्य दिन्छन् । अबको निर्वाचनमा यीनीहरु नराम्रोसंग हार्छन्, हेर्दै गर्नुहोला ।