समाचार

त्यसै महँगो हैन मोती

त्यसै महँगो हैन मोती

मोती र सीपीको नाम नसुन्ने कमै होलान । मोतीलाई मानिसले युगौंदेखि मोतीका रुपमा उपयोग गर्दै आएको छ । मोतीले माला, औंठी, बाजुबन्द आदिमा शोभा पाउने गर्दछ । मोतीले पुरातनकालमा जुन प्रसिद्धि र महत्व पाएको थियो, आजको युगमा पनि त्यतिक्कै महत्व पाएको छ । मोतीप्रति मानिसको झुकाव र मोह दिनप्रतिदिन बढ्दो छ । सक्कली मोती किन्न अन्तर्राष्ट्रिय बजारमा घुइँचो लाग्दछ । मोतीको नाम लिनासाथ जापानको मिकिमोतो कम्पनीको नाम सबैभन्दा अगाडि आउँछ । मिकिमोतो कम्पनीको मोतीले विश्वभर विश्वास आर्जन गरेको छ । सक्कली र नक्कली मोती छुट्याउन कठिन पर्ने भएकाले मोती किन्दा होशियारी अपनाउन जरुरी छ । 

रत्नको रुपमा युवतीको श्रृंगार साधनको रुपमा यथोचित स्थान पाउँदै आएको मोती आखिर के हो ? प्राकृत मोती कसरी बन्छ ? कृत्रिम मोती कसरी बनाइन्छ ? मोतीको खेती कसरी गरिन्छ ? यी थुप्रै प्रश्न हाम्रा अगाडि आउँछन् । यी प्रश्नको उत्तर खोज्न समुद्रवेष्ठित श्रीलंका तथा जापानजस्ता देश पुग्नुपर्ने हुन्छ । विशेषगरी प्राकृत मोतीको इतिहास खोतल्दै जाँदा समुद्रमा डुबुल्की मारेर सीपी र मोती खोज्ने पुरातन जनजातिको इतिहाससंग जोडिन्छ । प्राचीनतम उद्योगका रुपमा सीपी र मोती खोज्ने काम श्रीलंकामा गरिन्छ । समुद्रमा डुबुल्की मार्नेहरु डोरीको सहायतामा समुद्री पीँधमा पुग्छन् । पीँधमा टाँसिएका सीपी हत्तपत्त बटुलेर उनीहरु डोरीको सहाराले माथि आउँछन् । यो काम समुद्रको किनारमा वा डुंगा चढेर समुद्रको अन्य भागमा पनि गरिन्छ । ठूला ठूला छाल आउने ठाउँमा यस्तो काम गर्न सहज हुँदैन । शान्त समुद्र वा खाडीमा यसरी सीपी संकलन गरिन्छ । 

डुबुल्की मार्नेहरु ढुंगामा टेकेर एक हातले नाक थुनेर अर्को हातले डोरी समाई बडो जोखिमपूर्ण तरिकाले समुद्रभित्र प्रवेश गर्छन् । सीपी टिपिसकेपछि ढुंगालाई समुद्री पिँधमै छोडेर उनीहरु डोरीको सहायताले माथि आउँछन् । सतहमा बसेर अरु मानिसले त्यो डोरी तल खसाल्ने र मान्छे उँभो तान्ने काम गर्छन् । नाङ्गो शरीरमा समुद्रभित्र पस्ने हुँदा सामुद्रिक जीवले आक्रमण गर्ने खतरा उत्तिक्कै हुन्छ । ज्यान पाल्नका लागि भएपनि उनीहरु यस्तो चुनौतीपूर्ण काम गर्न बाध्य छन् । यी डुबुल्कीमारले समुद्र पीँधबाट थुप्रै सीपी खोजेर ल्याई थुप्रो लगाउँछन् । सीपी जम्मा गरेपछि त्यसबाट मोती झिक्ने काम गरिन्छ । यो काम गर्न सीपीलाई उम्लिएको पानीमा डुबाइन्छ । सीपीलाई उम्लिएको पानीमा राखेर पकाउँदा सीपीभित्रको किरा मर्दछ । टम्म जोडिएका सीपीका दुई फग्ल्याँटा पट्ट फुट्छन् ।

पानीमा राखेर नउमाल्ने हो भने यसलाई छुट्याउन कठिन हुन्छ । सीपीभित्रको किरा मरेर फग्ल्याँटा छुटिएपछि भित्र मरेको किराको मासुको डल्लोभित्र प्राकृत रुपले बनेको मोतीको दाना खोज्ने काम गरिन्छ । एकपछि अर्को गर्दै किराभित्र मोती खोजिन्छ । मोती पाइएमा धोई पखाली गरी अलग गरिन्छ । यो काम ढिलो हुने भए पनि सावधानीपूर्वक गरिन्छ । विभिन्न सीपीभित्र भिन्न भिन्न खाले मोतीका दाना हुन सक्छन् । कुनै कुनै सीपीभित्र ठूला सेता र चमकदार मोती पाउन सकिन्छ भने कुनैमा मोती नहुन पनि सक्छ । समुद्रभित्र सीपी किराले मोती बनाउन धेरै समय लगाउँछ । धेरै पुरानो सीपीमा मोती पाइने सम्भावना अधिक रहन्छ । नयाँ सीपीमा मोतीका दाना राम्रोसंग बनिसकेका हुँदैनन् । खपटाबाट मोती छुट्याएपछि खपटालाई चूना बनाउन उपयोग गरिन्छ । यस्तो चून उच्च गुणस्तरको हुन्छ । प्रायगरी यो चूना पानका लागि प्रयोग गरिन्छ ।

सीपीको किराको मासु भने मानिसले खान्कीमा उपयोग ल्याउँछन् । प्राकृत मोती कसरी बन्छ त ? भनिन्छ– सीपी किराले आफ्नो जीवनमा एकपटक मात्र मुख बाउँछ । उसका फग्ल्याँटा खुलेका बेला बालुवाका मसिना कण वा ढुंगा प्रवेश गर्न सक्दछन् । त्यो कण सीपीभित्र पसेपछि उसले मोती बनाउने काम गर्छ । सीपी किराको शरीरबाट निस्कने एकप्रकारको रसले त्यो कणलाई विस्तारै विस्तारै ढाक्न शुरु गर्छ । धेरै वर्षपछि बाटुलो र चम्किलो सफेद दानाका रुपमा मोती तयार हुन्छ । मोती पदार्थ अत्यन्तै विशुद्ध खालको क्याल्सियम कार्बोनेट हो । सीपी किराको खपटा पनि क्याल्सियम कार्बोनेट नै हो भन्ने यसबाट बन्ने चूनबाट प्रमाणित हुन्छ । शायद खपटाभित्रको मोती दाना पनि अति शुद्ध क्याल्सियम कार्बोनेटको स्फटिक रुप हो । 

प्राकृतिक मोती बन्न यति धेरै वर्ष लाग्छ भन्ने भएपछि जापानको मिकिमोतोले कित्रिम मोती बनाउन सीपी किराकै सहारा लिने निश्चय गरे । समुद्री छालले नहान्ने र खाडीजस्तो अचल जलराशी भएको ठाउँमा मोती हुनसक्ने उनले पत्ता लगाए । मिकिमोतोले समुद्री पिँधबाट सीपी किरा खोजेर ल्याई तिनका खपटा अलिकति उधारेर मसिना ढुंगा वा बालुवाका कण राखेर पुन खपटा बन्द गरी ती सीपीलाई नियन्त्रणमा लिन सक्ने गरी जालीमा अड्याएर समुद्रको नुनिलो पानीमा डुबाइदिए । यसरी तीनदेखि पाँच वर्ष समुद्रको पानीमा डुबाएपछि ती सीपी समुद्रबाट झिकेर मोती झिक्न थाले । यसरी उत्पादित मोतीलाई कल्चर मोती भनिन्छ । 

मिकिमोतीले यसरी पत्तो लगाएको विधि जापानलगायत विभिन्न देशले अपनाउने गरेका छन् । हिजोआज एकप्रकारले मोतीको खेती नै हुन थालेको छ । यसबाट मोती उत्पादनको परम्परागत अवस्थाबाट ठूलो फड्को मारेको छ । आजकल त अक्सिजनको ग्यासको सिलिण्डर, अनुहार छोप्ने मास्क, शरीर सुरक्षा गर्ने यन्त्रको प्रयोग हुन थालिसकेको छ । यसले मोती उद्योगमा अनुकूल प्रभाव पर्न थालेको छ । 
 

मोती र सीपी समुद्र