कला साहित्य

आफन्तीका बेजोड व्यंग्यमिश्रित कथा

आफन्तीका बेजोड व्यंग्यमिश्रित कथा

भागबण्डा
एकपटक एकजना काजीले पकाएको एउटा सिंगो पानीहाँस ल्याएर बादशाहलाई चढाउँदै भन्न थाल्यो– ‘गरिबप्रवर ! आज हजुरको जन्म दिन हो । मलाई थाहा छ, हजुरलाई पानीहाँसको मासु असाध्य मन पर्छ । त्यसैले यो मासु आफैंले पकाएर हजुर र परिवारलाई ज्यूनार गराउन ल्याएको हुँ ।’ बादशाहका दुईवटी शाहजादीहरु पानीहाँसका सपेटा र छातीको मासु खान हतारिन थाले । बादशाह र बेगमलाई कुनै उपाय सुझेन । बरु आफन्तीलाई नै न्यायपूर्वक सवैलाई मासु भाग लगाउन आदेश दिए । 

आदेश पाउनासाथ आफन्तीले सबभन्दा पहिले हाँसको टाउको काट्यो र वादशाह सामु पेश गर्दै भन्यो– ‘सरकार हजुर यस मुलुकको शीर ताज होइबक्सन्छ । त्यसैले हजुरबाट शीर नै ज्यूनार हुनुपर्छ । मेरो भित्री इच्छा के हो भने भावी दिनमा पनि हजुर यसैगरी शीरको ताज नै रहिबक्स्योस् ।’ यसपछि उसले हाँसको गर्धन काटेर बेगम समक्ष पेश गर्दै भन्यो– ‘पतिको उपमा टाउकोलाई दिइन्छ भने पत्नीको गर्धनलाई । त्यसैले बेगम साहिवामा गर्धन पेश गर्दैछु । ईश्वरसंग प्रार्थना पनि गर्दछु कि बादशाह र हजुरको सम्बन्ध टाउको र गर्धन झैं सदा जोडिरहोस् ।’

हाँसका दुवै पखेटा काटेर शाहजादीलाई दिँदै भन्न थाल्यो– ‘म चाहन्छु हजुरहरुको विवाह राम्रा घरानाका राजकुमारसंग होस् । यी पखेटा खाएर हजुरहरु टाढा टाढा आफ्ना पतिका घरमा जान सक्षम भइबक्स्योस् । यो पखेटाले राम्रा र नौला ठाउँ घुम्न सधैं उत्प्रेरित गर्नेछ ।’
अब आयो दुई शाहजादाको पालो । उसले शाहजादालाई हाँसको एक एक नङ्ग्रा दिँदै भन्न थाल्यो– ‘हजुरहरु दुवै गद्दीको उत्तराधिकारी होइबक्सन्छ । यो नङ्ग्राले हजुरहरुलाई गद्दीमा राम्रोसंग अधिकार जमाउन सहयोग गर्नेछ ।’

यति भनेपछि अन्तिममा मुसुक्क हाँस्दै भन्यो– ‘अब हाँसको छाती र दुई सपेटा मात्र बाँकी छन् । यदि हजुरहरुबाट  यो ज्यूनार भयो भने दशा लाग्ने निश्चित छ । राम्रो त यही हुन्छ, यो बचेको मासु म आफन्ती नै खाउँ ।’ आफन्ती बचेको मासु बोकेर बाहिर निस्कन्छ र पटांगिनीमा बसेर धमाधम खान थाल्छ ।  
 

आशिर्वाद र श्राप
तिनताका आफन्ती जुत्ता सिलाउने काम गथ्र्यो । एकजना मौलवी आयो र भन्न थाल्यो– ‘आफन्ती भाइ, मेरो जुत्ताको तलुवाले मुख बायो । यसलाई ठीक गरिदेउ । ईश्वरसंग म तिम्रा लागि आशिर्वाद मागिदिने छु । ‘माफ गर्नुहोस् मौलवी साहेव ! मलाई फुर्सद नै छैन् ।’ आफन्तीले टाउकै नउचाली काम जारी राख्दै भन्यो– ‘तपाईं आफ्नो जुत्ता अरु कसैबाट ठीक गराउनुस् ।’
‘कस्तो कुरा गरेको ?’ मौलवीले कड्किएर भन्यो– ‘मेरो काम तिमीले अहिले नै गर्नुपर्छ । होइन भने ईश्वरसंग म तिम्रा लागि श्राप माग्ने छु । कालान्तरमा तिमीले पछुताउनु पर्नेछ ।’ 
आफन्तीले काम रोकेर ठूलो ठूलो स्वरमा भन्यो– ‘वाह, यदि तपाईंको ईश्वरले कसैका लागि आशिर्वाद मागे आशिर्वाद, श्राप मागे श्राप दिने भए तपाईं तिनै ईश्वरसंग आफ्ना जुत्ता ठीक गरिदिन किन प्रार्थना गर्नुहुन्न ?’
 

विषको कटौरा
त्यसबेला आफन्ती एक काजीको घरमा नोकरी गर्दथ्यो । एकदिन एउटा सेठले काजीलाई एक कचौरा मह ल्याएर दियो । काजीले भर्खर खाना खाएको थियो । उ कतै जाने हतारोमा पनि थियो । त्यसैले आफन्तीलाई बोलाएर उसले भन्यो– ‘आफन्ती, म एकछिनका लागि बाहिर जाँदैछु । सेठले ल्याएको त्यो कचौरामा बिष छ । झुक्किएर पनि नछुनु ।’ यति भनेर काजी घोडा चढेर हिँड्यो । काजी बाहिर के निस्किएको थियो, आफन्तीले महको कचौरा तान्यो र एकै घुड्कोमा सिनित्तै बनायो । यसपछि उसले काजीका घरका सबै भाँडाकुँडा फोरफार गरेर धुलो पिठो बनायो । 
काजी घर फर्केर आफन्तीसंग सोध्यो– ‘कटौराको विष के भयो ?’ आफन्तीले बडो नाटकीय ढंगमा गला कमाउँदै भन्यो– ‘मालिक ! मबाट आज ठूलो गल्ती भयो । मेरा लापर्वाहीका कारण सारा भाँडाकुँडा नष्ट भए । अनि लाग्यो, तपाईं घर फर्किएपछि मलाई खुब गाली गर्नु हुनेछ । मसंग क्षतिपूर्ति माग्नु हुनेछ । म गरिब मान्छे । त्यो विधि पैसा मैले कहाँबाट ल्याउने ? यसैले आत्महत्या गर्ने विचार गरेर मैले कटौरामा भएको विष रित्याएँ । अब म मर्ने प्रतिक्षामा छु ।’