कला साहित्य

‘गुम्फन’ नाटक शिल्पी थिएटरमा

‘गुम्फन’ नाटक शिल्पी थिएटरमा

काठमाडौं । लामो समयको मौनतापछि थियटर भिलेज नयाँ नाटक लिएर दर्शकमाझ आएको छ । लाजिम्पाटमा रहेको आफ्नै  नाटक घर भत्केपछि थिएटर भिलेजले कुनै नाटक मञ्चन गरेको थिएन । 

चारुमती, सान्दाजुको महाभारत, सिंहदरबारको टेण्डर, मालीनी, ह्यामलेट, यार्मा जस्ता नाटकहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मञ्चन गरिसकेको थिएटर भिलेजको यो पछिल्लो नाटक “गुम्फन” लाई दिलिप रानाभाटले निर्देशन गर्दैछन् । उक्त नाटक शिल्पी नाटकघर बत्तिसपुतलीमा भदौ ५ देखि मञ्चन भइरहेको छ । भदौ २९ सम्म मञ्चन हुनेछ ।

एलिसा सालोको फिनिस नाटक “रयादेस्सवारा” बाट प्रभावित यस नाटकलाई नेली केइनानेन र लिया अब्सेसको अंगेजी अनुबाद “फलिङ” बाट जिवेश रायमाझीद्वारा नेपालीमा अनुवाद गरिएको हो । तर यसलाई नेपाली परिवेश र अहिलेको सामाजिक परिस्थितिसँग जोड्न निर्देशक आफैंले अनुकरण गरी निर्देशन गरेका हुन् ।

भर्खरै किशोरावस्था पार गरेकी एलिना दुःखी हुनुपर्ने कुनै कारण छैन । अलिअलि मोटोपन बाहेक उनको अरु कुनै समस्या छैन । तर एक्लो युवा भएकै कारणले यी कुराहरुले मानिसलाई असर गरिरहेका हुन्छन् । त्यसपछि उनी आफ्नो साथीको पासवर्ड प्रयोग गरेर अनलाइन गार्डेनमा पुग्छिन् । जहाँ तँपाई जे चाहनुहुन्छ त्यो बन्न सक्नुहुन्छ । गार्डेनमा एलिना र डार्क फ्लोको भेट हुन्छ जसले एलिनालाई राम्रोसँंग बुझ्छ । जबकी डार्क फ्लो आफैं पनि एलिना जस्तै निराश हुन्छ ।

यो साइबर संसारमा हराएर आफ्नो ब्यतिmगत जीवन, आफन्तसंँगको सम्बन्ध तथा मानवियतानै गुमाइरहेको यो पुस्ताले प्रत्यक्ष जिवनमा आफ्नो समस्यासंग जुध्ला त ? नाटक यसै सेरोफेरोमा आधारित छ ।

राजनैतिक नाटक मात्रै धेरै भइरहेको अहिलेको समयमा युवापुुस्तालाई लक्षित गरेर खासै नाटकहरु हुँदैनन् यस्तो अवस्थामा युवापुस्तालाईनै लक्ष्यित गरी उनीहरुकै कथामा नाटक गर्ने सोचेर यो नाटक तयार पारीएको निर्देशक रानाभाट बताउछन् ।

यसअघि सिंहदरबारको टेण्डर तथा ‘झिमिक् झिमिक् झ्याप्प’ निर्देशन गरेर युवा निर्देशकका रुपमा आफ्नो पहिचान बनाइसकेका उनको यो तेश्रो निर्देशन हो ।

दिपेश राईको सहनिर्देशन तथा  बिमल सुवेदीको मञ्च तथा प्रकाश परिकल्पना रहेको यस  नाटकमा अभिषेक गैरे, आयुष्ना गिरी, इष्टु कार्की, एच. के अधिकारी, गुगल लामा, पि. बि. एस रिदम सुनुवार, प्रमोद खड्का, बिजेश गौतम, मदन सुवेदी, संगिता थापा लगायतको अभिनय छ ।

साजन कुमार सुनुवार ब्यवस्थापक रहेको नाटकमा श्रवण रानाको प्रकाश परिचालन रहने छ भने दिपेश राई निर्देशन सहयोगी छन् ।
यो नाटक मङ्गलबार बाहेक भदौ २९ सम्म शिल्पी थिएटर, बत्तीसपुतलीमा प्रदशन भैरहेको छ ।
 

ADVERTISEMENT