कला साहित्य

आफन्तीका व्यंग्यरस कथा

आफन्तीका व्यंग्यरस कथा

पारिश्रमिक

एकजना सेठको गोरुले आफन्तीको गोरुमाथि हमला गरेर मारिदियो । आफन्ती इन्साफ माग्न सेठलाई समातेर काजी कहाँ पुग्यो । काजीले वादी प्रतिवादी दुवैको कुरा सुनेपछि फैसला सुनायो– ‘आफन्ती तैंले क्षतिपूर्तिका रुपमा सेठजीलाई पचास रुपियाँ दिनुपर्छ ।’ इन्साफप्रति आपत्ति जनाउँदै आफन्तीले भन्यो– ‘काजीसाब, मेरै गोरु मर्ने, मैले नै क्षतिपूर्ति दिनुपर्ने । तपाईंको यो कस्तो इन्साफ हो ?’ काजीले भन्यो– ‘सेठजीको गोरुले तेरो गोरु मार्न पूरा तागत लगाएको थियो । ५० रुपियाँ त्यसैको पारिश्रमिक हो ।’

कुरा पूरा हुन नपाउँदै आफन्तीले बलियो मुठ्ठी बनाएर काजीको गालामा एक थप्पड हान्दै भन्यो– ‘काजीसाब तपाईंको गाला रन्काउन पनि मैले ठूलो शक्ति सञ्चय गर्नुपर्यो । पारिश्रमिकको ५० रुपियाँ मलाई नदिएर सेठजीलाई नै दिनुहोला ।’
 

स्वर्ग वा नर्क
एकदिन काजीले आफन्तीसंग सोध्यो– ‘मरेपछि तँ स्वर्ग जान्छस् कि नर्क ?’ जवाफ दिनु साटो आफन्तीले प्रतिप्रश्न गर्यो– ‘पहिला तपाईं भन्नुस् तपाईंलाई कहाँ जाने इच्छा छ ?’ एकछिन सोचेर काजीले भन्यो– ‘मैले जीवनभर अरुको भलो गर्दै आएको छु । म भगवानले देखाएको बाटोमा इमान्दारसाथ हिँडिरहेको छु । त्यसैले म अवश्य स्वर्ग जान्छु ।’
काजीको कुरा सुन्नासाथ आफन्तीले भन्यो– ‘त्यसो भए म नर्क जान्छु । जहाँ तपाईं बस्नुहुन्छ, त्यो ठाउँ स्वर्ग भएपनि मेरा लागि नर्क हो ।’ 
 

उड्ने घोडा

एकदिन बादशाहले आफन्तीसंग सोध्यो– ‘आफन्ती, धेरै दिनदेखि मलाई आकाशमा उडेर पुरै दुनियाँ भ्रमण गर्न मन लागेको छ । म संसारका पहाड, नदी, शहर, गाउँ, जंगल र मैदान हेरेर आफ्नो ज्ञान बढाउन चाहन्छु । यो इच्छा पूरा गर्न कुनै उपाय बताउन सक्छौ ?’
आफन्तीले भन्यो– ‘अवश्य बताउन सक्छु, सरकार ।’ यो सुनेर बादशाह खुबै प्रसन्न हुँदै भन्यो– ‘तिमी साँच्चै बुद्धिमान छौ । आखिर के हो भन त त्यो  उपाय के हो ?’

‘आकाशमा  उड्नु कुनै मुस्किल काम होइन । तपाईं आफ्नो खैरो रंगको घोडा मलाई दिनुहोस । म त्यसमाथि चढेर टाढाको एउटा पहाडमा पुगी बुटी लिएर आउने छु । त्यो बुटी खाएपछि घोडाको पिठयूँमा पखेटा उम्रने छ । अनि हजुर त्यसमाथि चढेर आफ्नो इच्छा पूरा गर्न सक्नु हुनेछ । तर आउन जान करिव एक वर्ष लाग्नेछ । के हजुर पर्खन सक्नुहुन्छ ?’ आफन्तीको यस प्रश्नको उत्तरमा बादशाह भन्छन्– ‘एक वर्ष त के यसका लागि म तीन वर्ष पनि पर्खन सक्छु ।’ बादशाह खुशी हुँदै आफ्नो अंगरक्षकलाई तत्काल आफ्नो घोडा आफन्तीलाई दिन आदेश दिए । उनले बक्सिसका रुपमा प्रशस्त धनदौलत आफन्तीलाई दिने घोषणा समेत गरे । 

आफन्ती घोडा चढ्यो । एक कोर्रा बर्साउनासाथ घोडा बेगवान भएर कुद्यो । आफन्ती घर पुगेर पत्नीलाई भन्छ– ‘जाऊ छुरा लिएर आउ । आज हामी धेरै मासु खान पाउने छौं ।’ पतिका सारा कुरा सुनेपछि पत्नीको हाँसो रोकिएन । उसलाई चिन्ता पनि थपियो । अनि भनिन– ‘यो आपत किन बिसाएको ?’ आफन्तीले ढुक्क हुँदै भन्यो– ‘यस दुनियाँमा यदि हामी आपतसंग डराउने हो भने कसरी मासु खान पाउँछौं ?’ उसले घोडाको गर्धन काट्यो । झण्डै एक वर्षपछि आफन्ती दरबार पुग्यो ।

आफन्ती देखेर बादशाह निक्कै प्रसन्न भएर भने– ‘आफन्ती तीन दिनपछि एक वर्ष पूरा हुँदैछ, के मेरो घोडाको पिठुयूँमा पखेटा उम्रियो ?’ आफन्तीले जुँगा ताउ लगाउँदै भन्यो– ‘पखेटा उम्रियो सरकार ।’ बादशाहले खुशी हुँदै भने– ‘तिमीले साँच्चै ठूलो काम गर्यौ । तर घोडा चाहिँ किन नलिई आएको त ?’ आफन्तीले दुखी भएको अभिनय गर्दै भन्यो– ‘म घोडा लिएर आउँदै थिएँ, तर त्यो त बाटैमा पखेटा फड्पडाएर आकाशमा उडेर गायव भयो ।’ यो सुन्नासाथ बादशाह बेहोस भएर भूइँमा पछारिए । ‘विदा पाउँ सरकार’ भन्दै आफन्ती छिटो छिटो दरबारबाट बाहिरियो ।  
 

आफन्ती उड्ने घोडा