अपराध सुरक्षा

‘बाबु अमेरिका, आमा डाक्टर म एअरहोस्टेज हुँ’ भन्दै ठग्दै 

‘बाबु अमेरिका, आमा डाक्टर म एअरहोस्टेज हुँ’ भन्दै ठग्दै 

काठमाडौं । आफूलाई विमान परिचारिका (एअर होस्टेज) हुँ भन्दै फेसबुकबाट ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापा अर्जुनधारा–६ की २७ वर्षीया तविता राइ छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट एयरलाइन्सको एयर होस्टेसका रुपमा काम गर्दै आएको बताउने राईलाई दुई पुरुषले दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

तविताले बुबा अमेरिका बस्ने, आमा डाक्टर, दाजु पाइलट भएको परिचय दिई मोबाइल र मेसेन्जरमा निरन्तर कुराकानी गरेर नजिक हुने र लामो समय कुराकानी गरेपश्चात् विवाह गर्नेसम्मको प्रलोभन दिएर विभिन्न आकस्मिक समस्या देखाई पुरुषसँग रकम ठग्ने गरेको प्रहरीको भनाइ छ । 

रकम नदिएमा आत्महत्या गर्ने भनी धक्कीसमेत दिने गरेको उनीहरूको उजुरीमा उल्लेख रहेको प्रवक्ता श्रेष्ठले बताए । 

राईलाई आइतबार झापा जिल्ला अदालतबाट छ दिनको म्याद थप भई जिप्रका झापाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताए ।