कभर स्टोरी राजनीति

महासचिव पौडेल फेरि विवादमा

महासचिव पौडेल फेरि विवादमा

काठमाडौं । ठूला भूमाफियासँगको ‘नेक्सस’ रहेको भन्दै विवादमा तानिएका नेकपाका महासचिव विष्णु पौडेल रुपन्देहीस्थित पाँच तारे टाइगर प्यालेस रिसोर्टले गरेको जग्गा अतिक्रमण प्रकरणमा समेत एक पक्षनिकट रहेर  विवाद अन्त्यका लागि क्रियाशील भएको विषय बाहिर आएको छ । 

जग्गा अतिक्रमण गर्ने टाइगर प्यालेसका प्रमुख कार्यकारी निर्देशक विदेशी नागरिक माइक बालसोभरलाई महासचिव पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गराएको विश्वस्त सूत्रले जानकारी दिएको छ । 

विदेशी लगानीको टाइगर प्यालेसले भैरहवा–लुम्बिनी सिँचाई आयोजनाको नौकठ्ठा जमिन अतिक्रमण गरेको भन्दै मुद्दा खेपिरहेको छ । भैरहवा–लुम्बिनी सिँचाईले आफ्नो जमिन अतिक्रमणमा परेको भन्दै जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरेको थियो । ‘अदालतमा मुद्दा विचाराधीन हुँदा हुँदै एक पक्षलाई प्रधानमन्त्रीसँगै भेट गराउँदा अर्को पक्षप्रति सत्तारुढ दल पूर्वाग्राही रहेको देखिन्छ’ जानकार स्रोत भन्छ, ‘ठूला नेताहरुलाई पहुँच पुर्याउन सक्नेहरुले दबाबमा पार्छन् । तर उहाँले अदालतमा विचाराधीन मुद्दामा आफूले सहयोग गर्न नमिल्ने भन्दै पन्छिँदा हुन्थ्यो ।’

सिँचाईले मुद्दा दायर गरेपछि टाइगर प्यालेसले भने आफ्नो चलअचल सम्पत्ति बेचेर नेपाल छाड्ने तयारी गरेको छ । तर जिल्ला अदालत रुपन्देहीले जग्गा अतिक्रमणसम्बन्धी विवाद निरुपण नभएसम्म रिसोर्टलाई सम्पत्ति बिक्री नगर्न आदेश दिएको छ ।
तीन अर्ब लागतमा निर्माणाधीन रिसोर्ट ५ अर्बमा किन्ने ग्राहक आए बेचेर नेपाल छाड्ने लगानीकर्ताको चाहनामा अदालतको अवरोध आएपछि  सो समूह विभिन्न शक्ति केन्द्र कहाँ हारगुहारका गर्दै आएको छ । 

जानकारस्रोत भन्छ, ‘बालुवाटारको सरकारी जमिनमा भूमाफिया शोभाकर ढकालसँग त्यसै पनि उहाँको निकटता देखिएको भन्ने चर्चा छ । यस्तो परिवेशमा असल नियतले नै एक विदेशी लगानकर्ताको अनुरोध नकार्न नसकेर उहाँले प्रधानमन्त्री कहाँ पुर्याउनु भएको हो भने पनि शंका गर्ने ठाउँ हुन्छ ।’

कुनै बेला सुकुम्बासी नेता भनेर चिनिएका महासचिव पौडेलको अर्को विवाद पनि रुपन्देहीमा छ । श्रीमतीको नाममा जमिन हुँदा हुँदै ऐलानी जमिनको श्रेष्ता छोराको नाममा कायम गरेको भनेर उनको आलोचना हुँदै आएको छ । 

५२ सालसम्म हालका नेकपा महासचिव विष्णुप्रसाद पौडेल रुपन्देहीको सुकुम्बासी बस्तीमा माटोको टायलवाला घरमा बस्थे । उनले १८ धुर ऐलानी जग्गामा आफू सुकम्बासी हुँ भन्दै घर बनाएर बसेका थिए ।

उनी बसेको ठाउँलाई दीपनगर भन्ने गरिन्छ । १८ धुर ऐलानी जमिन विष्णुले अहिले आफ्ना छोराको नाममा पास गराइसकेका छन् । सो जमिन पास गराउनु अघि नै उनकी पत्नीको जमिन नवलपरासीको भुताहामा थियो । त्यो जमिनसँग बालुवाटारको जमिन साटेका थिए – त्यो पनि भुमाफिया शोभाकर ढकालकी पत्नी उमासँग । 
जुन बेला विष्णुले आफू सुकुम्बासी रहेको भन्थे त्यही बेला उनकी पत्नी दोमायाको नाममा नवलपरासीमा १३ कठ्ठा जमिन थियो ।