अर्थ

भारतले दियो हुलाकी राजमार्गलाई ८० लाख

भारतले दियो हुलाकी राजमार्गलाई ८० लाख

काठमाडौं : भारतले हुलाकी राजमार्ग निर्माणका लागि ८० लाख भारतीय रुपैयाँ उपलब्ध गराएको छ । साथै, भारतले भूकम्प पुनर्निर्माणका २ अर्ब ४५ करोड रुपैयाँ शोधभर्ना नेपाललाई उपलब्ध गराएको छ।

पाँचौँ नेपाल भारत संयुक्त आयोगमा बैठकमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।

बैठकमा नेपालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थिति थिए। भारतले ०७२ को भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो। जसमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ।

भारतले नुवाकोट र गोरखाका ५० हजार लाभग्राहीहरुलाई अनुदान रकम उपलब्ध गराउने जनाएको थियो। भारतले उपलब्ध गराउने २५ अर्ब अनुदानमा भवन पुनर्निर्माणमा १० अर्ब, विद्यालय, स्वास्थ्य संस्था तथा सम्पदा पुनर्निर्माणमा ५–५ अर्ब रुपैयाँ रहेको छ।