प्रविधि

कसरी जन्मियो प्रेसर कुकर ?

 विज्ञानको एउटा साधारण नियम छ– ‘यदि कुनै द्रवमा  चाप बढायो भने त्यसको उम्लिने तापक्रम बढ्छ ।’ प्रेसर कुकरको निर्माण यसै नियमको आधारमा गरिएको हो । यस नियमको ज्ञान मानिसलाई धेरै पहिले देखि नै थियो । तर यस आधारमा प्रेसर कुकर बनाउने विचार सबभन्दा पहिले फ्रान्सका डेनिस पपिनका मनमा उत्पन्न भयो । पेपिन इंग्ल्याण्डका प्रसिद्ध वैज्ञानिक सर रोबर्ट बोइलको सहायक भएर काम गर्थे । 

उनले सोचे– ‘यदि बन्द भाँडोमा पानी उमाल्यो भने वाष्पको चाप बढ्नाले पानीलाई सय डिग्री सेल्सियसभन्दा बढी तापक्रममा उमाल्न सकिन्छ ।’ उनले परीक्षण गरे । सफलता पनि हात लाग्यो ।  डेनिस पेपिनले आफूले आविष्कार गरेको पहिलो प्रेसर कुकरको नाम ‘डाइजेस्टर’ राखे । जसको अर्थ हो– पचाउने । यसको कारण के थियो भने डाइजेस्टरमा मासु आदि अनेक कडा पदार्थ पनि थोरै समयमा पाकेर नरम हुन्थ्यो । 

वातरुद्ध भाँडोमा वाष्पलाई रोक्नु खतरनाक सावित हुन सक्थ्यो । वाष्पको चाप धेरै हुन गएको खण्डमा वाष्पको शक्तिले भाँडोलाई टुक्रा टुक्रा पार्न बेर लाग्ने थिएन । त्यसकारण पेपिनले सुरक्षा भ्याल्भको उपयोग गरे । आज पनि झण्डै त्यस्तै सुरक्षा भ्याल्भको प्रयोग गरिन्छ । धेरै वाष्प बन्दा त्यसको शक्तिले सुरक्षा भ्याल्भ खुल्न जान्छ । फलस्वरुप वाष्प विना कुनै नोक्सानी बाहिर निस्कन्छ । 

बजारमा अनेक खालका प्रेसर कुकर उपलब्ध छन् ।  यसमा खाना पकाउँदा खाद्य पदार्थको स्वाद र गुणमा कुनै फरक आउँदैन् । बरु समय र इन्धनको पनि बचत हुन्छ । आधुनिक प्रेसर कुकरको ढकनीभित्र रबरको बार लगाइएको हुन्छ । जसलाई ग्यास्केट भनिन्छ । यसको मद्दतले वाफ बाहिर निस्कन पाउँदैन । ढकनीको बीचमा भारी सिटी लगाइएको हुन्छ । वाफको चाप बढेपछि सिटी बज्न थाल्छ । यसले खाना पाकेको संकेत गर्छ ।