समाचार

केही दिनभित्र अहिलेसम्मकै ठूला भ्रष्टाचारी सार्वजनिक हुन्छन्ः अख्तियार प्रमुख घिमिरे

केही दिनभित्र अहिलेसम्मकै ठूला भ्रष्टाचारी सार्वजनिक हुन्छन्ः अख्तियार प्रमुख घिमिरे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरू सार्वजनिक हुने दाबी गरे । 

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४औँ स्थापना दिवसमा मङ्गलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल कार्यक्रममा उनले आयोगले अहिले विविध प्रकृतिका एक हजार पाँच सयवटा भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको जानकारी दिए । 

प्रमुख आयुक्त घिमिरेले भने, ‘राजनीतिक आवरणमै ठूला प्रकृतिका भ्रष्टाचार हुने गरेको छ, यसप्रति सबै सचेत नभएसम्म भ्रष्टाचार नियन्त्रण गर्न गाह्रो छ ।’ अख्तियारमा परेका उजुरीको प्रकृति हेर्दा अब कारागारका कोठा खाली गर्नुपर्ने अवस्था आएको उनले बताए । 

निर्वाचनका बेला उम्मेदवारले कहाँबाट पैसा जुटाउँछन् भन्ने विषय अहिले अनुसन्धानको विषय भएको छ भन्दै उनले अहिले वडाध्यक्षको निर्वाचनका लागि २० देखि ३० लाख र गाउँपालिका अध्यक्ष र नगरपालिकाको प्रमुखको निर्वाचनमा एक करोड रुपियाँसम्म खर्च हुने गरेको उजुरी आयोगमा पर्ने गरेको जानकारी उनले दिए । नेपालमा शक्तिको आडमा हुनेले भ्रष्टाचार गर्ने गरेको चर्चा गर्दै घिमिरले भ्रष्टाचारप्रति सञ्चारजगत् र नागरिक समाजको भूमिका प्रभावकारी हुनुपर्ने बताए । 

महालेखा परीक्षक टङ्कमणि शर्माले भ्रष्टाचार नियन्त्रणमा आफूले हिजो पनि खुट्टा नकमाएको र भोलि पनि खुट्टा नकमाउने बताए । राजनीतिक दलका नेता र कार्यकर्ताको गलत प्रवृत्तिका कारण नेपालमा भ्रष्टाचार हुने गरेको चर्चा गर्दै उनले हाम्रा संस्कार र व्यवहार परिवर्तन नगरेसम्म भ्रष्टाचार नियन्त्रण नहुने 
जिकिर गरे । 

राजनीतिक दलहरूको पार्टी सञ्चालन गर्ने आर्थिक स्रोत कहाँबाट जुट्छ भन्ने विषय महत्वपूर्ण भएको भन्दै यस विषयमा नागरिक समाजले सधैँ खबरदारी गर्नुपर्नेमा उनले जोड दिए ।  यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार