कभर स्टोरी अन्तरवार्ता भिडियो

रहरलाग्दी भएर हिँड्दा दु:ख पाएँ, डरलाग्दी भएर हिँड्न थालें

रहरलाग्दी भएर हिँड्दा दु:ख पाएँ, डरलाग्दी भएर हिँड्न थालें

गैंडालाई कुतकुती लगायो भने २४ घण्टापछि हाँस्छ रे ! सम्भवतः उसको बाक्लो छालाले कुतकुतीको त्यो स्पर्श भेट्न समय लागेपछि यस्तो व्यंग्य विनोद जन्मिएको हुनुपर्छ । संघर्षले गालेपछि मानिस पनि त्यही कोटीमा पुग्दो रहेछ । खुसी– विषाद, मिलन– विछोड, माया– घृणा, जन्म–मृत्यु मानव जीवनको क्यालेण्डरभित्र पर्ने यी कुनै तत्वले नछुने रहेछ । आफ्नो जीवनको एउटा पाटो अहिले स्पातभन्दा कडा र अर्को पाटो नौनीभन्दा नरम रहेको स्वीकारोक्ति छ, महिला रेस्लर मुना श्रेष्ठको ।

मुना आफूले भोगेको भुक्तमानको निष्कर्षमा भन्छिन– ‘मेरो शरीरमाथि गाडी गुडे पनि मलाई केही हुँदैन् ।’
नाम मुना तर जीवन काँडामाथिको यात्रामा वित्यो । १४ वर्षको बालवयमा अभिभावकको दवावमा विवाह भयो । जबकी उनको शब्दकोषमा विवाहको परिभाषाले प्रवेश नै पाएको थिएन । १६ वर्ष टेक्दानटेक्दै आमाको विशेषण उनको भाग्यमा थपियो । अहिले १६ वर्षे वयकै लर्के जोवनमा कुदिरहेको छोरासंग तुलना गर्दै भन्छिन– ‘अहिले हामी दिदी भाइ जस्ता छौं ।’
 

बाबुले विहे गरिदिएपछि भाग्य सम्झेर स्वीकारिन् । तर समयले उनका लागि काँडा उमार्न थाल्यो । घरेलु हिँसाको चरम यातना खेप्ने अध्याय शुरु भयो । उनले के भोगिन भन्दा पनि के भोगिनको अवस्था आयो । नाना, खाना र छानाको समस्याले एकैपटक आक्रमण गर्यो । काखमा तीन वर्षको बच्चा थियो । कर्तव्यबाट भाग्ने छूट थिएन् । मुनाले हिम्मत गरिन– ‘कि लास कि सास विदेश जान्छु ।’ तीन वर्षको सन्तान छोडेर कुवेत गइन् । अस्पतालको ड्यूटी, ११ घण्टा उभिएर ड्यूटी गर्नुपर्ने । दुई वर्ष मरीतरी काम गरिन् । स्वास्थ्यमा अचकाली समस्या आउने देखेर त्यहाँबाट ओमान हानिइन । 
             
                                                                         ओमानले पीडा, खुशी दुवै दियो

ओमानमा मुनाले व्यूटीपार्लरमा काम थालिन् । जुन काम शारीरिक श्रमका हिसावले पनि सहज थियो । त्यहाँ उनले आफ्नो कार्यक्षेत्रको दायरा बढाइन् । आफूले दुख पाएको क्षणले पछ्याउन नछोडेपछि उनलाई लाग्यो– ‘अब मैले जिन्दगीको काया नै फेर्नुपर्छ । त्यसपछि समाजसेवा तर्फ लागें । विदेशिएका चेलिबेटीको आँसु पुछ्न आफैं अध्यक्ष रहेको प्रवासीय महिला संघ गठन गरें । नेपालमा कुनै विपत्ति पर्नासाथ लाखौं रकम उठाएर पठाएँ । सामाजिक काममा दोस्रो नभई काम गरें । त्यहीँ बस्दा किताव लेखें । अचम्म त नेपाल आएपछि त जसलाई पठायो, उही धनी हुने रहेछ । मेरो त परिचय नै गायव ।’
खाडीमा नेपालीको अवस्था नाजुक छ । यसो हुनुमा हामी आफैं दोषी छौं ।

                                                       ">

दक्ष श्रमिक पठाउन नसक्दा यस्तो अवस्था आएको हो । सवैभन्दा ठूलो देश चलाउने पैसाको श्रोत रेमिट्यान्सलाई मानिन्छ । तर अदक्ष मानिसको हातमा यो उद्योग जिम्मा लगाइएको छ । ‘फिलिपिनो, ईण्डोनेशियनहरु भाषा र सीपमा अब्बल छन् । उनीहरुको स्वामित्व देशले लिएको हुन्छ । नेपाली महिला अदक्ष त्यो पनि चोरी बाटोबाट खाडी जान्छन् । घरेलु श्रममा एउटा मात्र मानिस हुँदैन् । जहाँ दक्ष र अदक्ष एकै ठाउँ हुन्छन, त्यहाँ स्वभावत दक्षको कदर हुन्छ । नेपाली श्रमिक महिला घरेलु हिंसामा पर्नुको कारण पनि यही हो । खोइ, फिलिपिनो महिला यस्तो केसमा परेको किन सुन्नमा आउँदैन त ?’ मुनाको अर्को बुझाई के छ भने यहाँ जसरी खाडीमा महिला असुरक्षित भए भन्ने बहस चल्छ त्यो असत्य हो ।

उनी भन्छिन– ‘बरु खाडीमा भन्दा आफ्नै घरमा महिला बिग्रिएका छन् । विदेशिएका पुरुषका धेरै महिलाको चरित्र मैले यहाँ ठीक देखेको छैन् । अझ ठूलाबडा त झन् लिभिङ टुगेदरका नाममा अवैध सम्बन्ध गाँसेर बसेका छन् । विदेशमा यसरी बस्न मिल्दैन । काम, काम, काम बाहेक उसले अरु केही सोच्ने मौकै पाउँदैन् । हप्ताको एकदिने छुट्टीमा गग, नयाँ लुगा लगाएर सामाजिक सञ्जालमा राखिएको फोटो परिवारलाई ढाड्स दिन हो । उसले बाँचेको जिन्दगी ठीक उल्टो छ ।’
                                                                   

                                                                           फलाम काट्न फलाम

घरमा कामै कुटाई खाने भएपछि कि गर कि मरको विकल्प थिएन । उनले लडाकू हुने नै रोजिन् । आफूले जन्माएका बाँसका तामाजस्तै दुईवटा सन्तानको बाउआमा दुवैको अभिभावकत्वका लागि पनि लड्नुको विकल्प थिएन् । शुरुमा त लाग्यो– ‘कतै हातगोडा भाँचिए भने मेरा सन्तान के गर्लान ? तर, जबर्जस्त निर्णय लिएर रेस्लिङमा होमिएँ ।’ बाध्यताको रोजाईले उनीभित्र खेलाडीको ढोका खोलिदियो । त्यसो त २०५८ सालमा माओवादी पस्न तम्तयारी गरेकी मुना घरायसी दबाबका कारण शुभचिन्तकले हौस्याउन थाले । शरीररले साथ दियो । थाहै नपाई उनी रेस्लिङको राष्ट्रिय खेलाडी बनिन् । थुप्रै खेलमा सहभागी भएर मै हुँ भन्नेलाई पछारिन् । अहिले आफैंले संस्था गठन गरेर नयाँपुस्तालाई खेल सिकाउन लागि परेकी छन् । यही भदौ महिनामा काठमाडौमा भव्य प्रतिस्पर्धा गराउने लक्ष्य छ । त्यसका लागि तयारी चलिरहेको छ । 

                                                                ">
                                                                     

                                                                            रहरलाग्दो मन, डरलाग्दो तन 

नेपाल फर्किएर कुर्ता सुरुवाल लगाएर सोझो भएर हिँड्दा हेपाइ बढ्न थाल्यो । उनले एकाएक आफूमा डरलाग्दो अवतार बनाइन । खैरो कपाल, छोटो कपाल, सर्ट पाइन्ट, जुत्ता, पुरुष चढ्ने भटभटे यति गरेपछि के थियो र ! सडक नियम तोड्ने,  आफूलाई हेप्ने, गिद्दे नजर लगाउने जो कोहीलाई ठाउँका ठाउँ चड्कन हान्न थालिन । यो क्रम रोकिएको छैन । तर दुखी, गरिब, असहायका लागि भने उनी ज्यान दिन पनि कठिन मान्दिनन् । आफ्नो गेटअप डरलाग्दो भएपनि मन रहरलाग्दो रहेको प्रष्ट पार्छिन मुना । 
                                                                               

                                                                                 मन बहलाउन अक्षर साथी

उनी गज्जब गजल लेख्छिन् । गजल संग्रह र उपन्यास प्रकाशित छ । खाडीको त्यो मरभूमिलाई यही अक्षरका माध्यमबाट सिंचेको मुना बताउँछिन् । साहित्य यात्रालाई थप फराकिलो बनाउँदै अघि बढ्ने सोचमा रहेकी मुना काठमाडौंमा हुने साहित्यिक कार्यक्रम छुटाउँदिनन् । यद्यपि काठमाडौंभित्रको जालझेल, अन्याय, अत्याचार व्यभिचारले छट्पटी हुने गरेको बताउने मुना राजनीतिको आवरणमा अपराध रहेसम्म मुलुक नबन्ने ठोकुवा गर्छिन् । काठमाडौं जीवन सक्कल बम्मोजिम नक्कल बुझिने भावमा उनले लेखेको मुक्तकको एउटा पंक्ति यस्तो छ– ‘स्वार्थी बस्ने शहरमा बेचें जिन्दगीलाई ।’ 

                                                                    ">