मुख्य समाचार

काश्मिर मामिलामा नेपालको अस्पष्ट जवाफ, भारत र पाकिस्तान दुवै रिसाउन सक्ने 

काश्मिर मामिलामा नेपालको अस्पष्ट जवाफ, भारत र पाकिस्तान दुवै रिसाउन सक्ने 

बहुचर्चित काश्मिर मामिलामा नेपालले बल्लतल्ल मुख खोलेपनि जवाफ पनि अस्पष्ट छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कश्मीरमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताउँदै क्षेत्रिय शान्ति र स्थिरताप्रति चिन्ता प्रकट गरेका छन् । 

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको वर्तमान अध्यक्ष भए तापनि नेपालले यस क्षेत्रमा विकसित तिक्तता र द्वन्द्वको स्थितिबारे नबोलेको भन्दै कतिपयले प्रश्न उठाइरहेका बेला सोमवार मन्त्रालयकै कार्यकक्षमा पत्रकारहरूसँग बोल्दै उनले यो मामिलामा नेपालको चासो  रहेको बताए।

मन्त्री ज्ञवालीले स्पष्ट रुपमा भारतले लिएको निर्णय सही बेठिक केही भनेका छैनन् । उनले नेपालको दुईवटा मात्र चासो रहेको बताए । 

पहिलो, कश्मीर क्षेत्रमा विभिन्न ठाउँमा कार्यरत नेपालीहरूको स्थितिबारेको चिन्ता।

अनि, दोस्रो चाहिँ क्षेत्रीय शान्ति र स्थिरताबारेको चिन्ता।

पहिलो चिन्ताबारे दिल्लीस्थित नेपाली दूतावास भारत सरकारसँग निरन्तर सम्पर्कमा रहेको र हालसम्म कुनै अप्ठेरो परेको जानकारी नआएको मन्त्री ज्ञवालीले बताए।

दोस्रो विषयमा भने मन्त्री ज्ञवालीले निकै कूटनीतिक भाषा प्रयोग गर्दै नेपालले केवल क्षेत्रीय शान्ति र स्थिरता नखलबलियोस् भन्ने चाहेको बताए।

“भारतको नेतृत्वमा ती कुराहरूको समाधान गर्ने क्षमता छ भन्ने पनि हामीलाई विश्वास छ। क्षेत्रीय शान्तिमा कहीँकतै प्रतिकूल प्रभाव पर्नेछैन भन्ने हामीले आशा गरेका छौँ। सार्कको अध्यक्षको हिसाबले हामी त्यही सन्देश प्रवाहित गर्न चाहन्छौँ,“ उनले भने । 

जम्मु काश्मिर मामिलामा भारतको निर्णय ठीक बेठिक केही नभन्नु र काश्मिरका जनताको मानवअधिकार हननका विषयमा समेत मौन रहनुले भारत र पाकिस्तान दुवै नेपालको भूमिकाप्रति असन्तुष्ट हुनसक्ने विश्लेषकहरु बताउँछन् ।