समाचार

एक वर्षमा ४५ लाख बिरुवा रोपियो, सिंहदरबारमा हर्रोबर्रो

एक वर्षमा ४५ लाख बिरुवा रोपियो, सिंहदरबारमा हर्रोबर्रो

काठमाडौं । पर्यावरणीय सन्तुलन तथा फलफूलको आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित सुरु गरिएको ‘एक नेपाली, एक फलफूलको बिरुवा’ अभियानअन्तर्गत असारसम्ममा ४५ लाख हाराहारी बिरुवा रोपिएको छ । अभियानअन्तर्गत तीन वर्षमा तीन करोड बिरुवा रोप्ने योजना छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको जेठ २२ गते विश्व वातावरण दिवसको अवसर पारेर अभियान सुरु गरेको थियो । त्यसबेला प्रधानमन्त्रीले सिंहदरबार परिसरभित्र लिची र एभोकाडोको बिरुवा रोपेका थिए । 

 

प्रधानमन्त्री ओलीले यो अभियानलाई एक वर्षमा सीमित नगरी निरन्तरता दिन आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं अभियानका संयोजक विनोदबहादुर कुँवरका अनुसार फलफूलका बिरुवा रोपेर देशलाई फलफूलमा आत्मनिर्भर बनाउने योजनासहित यो अभियान थालिएको हो । उनले यो अभियान सरकारको मात्र नभई सबैको हुनुपर्ने भन्दै बिरुवालाई आफ्ना सन्तानसरह माया गरेर हुर्काउन सबैसँग आग्रह गरेका छन् । 


उनले उपलब्ध गराको तथ्याङ्कअनुसार असारसम्म गण्डकी प्रदेशमा १३ लाख ४८ हजार ६७, प्रदेश ५ मा दश लाख ८३ हजार ६७, प्रदेश ३ मा पाँच लाख २९ हजार ७२६ बिरुवा रोपिएको छ । त्यसैगरी सो अवधिमा कर्णाली प्रदेशमा पाँच लाख १५ हजार ७३४, प्रदेश १ मा तीन लाख ९५ हजार ४९९, सुदूरपश्चिम प्रदेशमा तीन लाख १८ हजार ८८८ र प्रदेश २ मा ७५ हजार ६३९ गरी सातवटै प्रदेशमा जम्मा ४२ लाख ६६ हजार ६२० बिरुवा रोपिएको जानकारी उनले दिए । सबैभन्दा बढी गण्डकी प्रदेशमा र सबैभन्दा कम प्रदेश २ मा वृक्षरोपण गरिएको छ । 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार सो अवधिमा देशभरि नेपाली सेनाबाट ९० हजार ७५४, नेपाल प्रहरीबाट ७५ हजार ४७९, सशस्त्र प्रहरीबल नेपालबाट २८ हजार ५५६ र बैङ्क तथा वित्तीय संस्था एवं विभिन्न सामाजिक सङ्घसंस्थाबाट देशभरि २५ हजार ४०० गरी जम्मा दुई लाख बीस हजार १८९ वृक्षरोपण गरिएको छ ।

 

सिंहदरबारमा हर्रोबर्रो 
सिंहदरबारभित्र खाली रहेका ठाउँमा पनि फलफूलका बिरुवा लगाउने क्रम जारी छ । एक ठाउँमा एउटा निश्चित प्रकारका फलफूलका बिरुवा रोप्ने अभियानअन्तर्गत परिसरमा ल्वाङ, हर्रोबरो जातिका बोटबिरुवा लगाउँदै आइएको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

केपी शर्मा ओली सिंहदरबार हर्रोबर्रो