जब केराको बोक्रामा बुलेट बाईक चिप्लियो.....

भोजेन्द्र ‘हलहले’

जब केराको बोक्रामा बुलेट बाईक चिप्लियो.....

• छोरीलाई पढाउनुहुन्न भन्ने धारणामा कट्टर काइँला बाको घरमा बुहारी पनि नपढेको परेपछि (सबैले छोरी नपढाएपछि बुहारी कताबाट पढेका आउन्) अस्पतालले दिएको दबाई र मुसाको बिख छुट्याउन नसकेर दबाईको साटो मुसाको बिख खान पुगेर परलोक भए । 

• कारभित्र चिटिक्क र सुकिली भएर यात्रा गरिरहेकी झुमा दिदीले फालेको केराको बोक्रोमा चिप्लेर पछिपछि बुलेट बाइकमा आउँदै गरेको आफ्नो छोरो मिल्टन बल्ड्याङ्ग, ढाड ठनक्कै, जीवन चौपटक ।

• छोराछोरीलाई  सुख दिन र अरूकोभन्दा भिन्नै ट्यालेन्ट बनाउन एक रति काम नलगाउने तल्लो शहरका पिठुवाघरे बुढाबुढी छोराले दुःख र मेहनत कस्तो हुन्छ भन्ने भेउ नपाउँदा भएको झिटिझाम्टो मादकमा उडाएर रातदिन सताएपछि पो ए बाबा चेब्र्याइँ र सम्पत्तिले मान्छेलाई सक्ने रैछ भनेर बल्ल झल्यास्स भए । 

• ठूलो मोबाइल नबोक्नेलाइ पाखे ठान्ने लुतुर्काने दशरथको परिवार बिहानबेलुकै मोबाइलमा घोप्टिँदा घोप्टेयुगले छोराछोरीसहित सबैको आखाको ज्योति लगेछ, अहिले छाम्दै बार्तलीसम्म निस्कन्छन रे ! 

• माथ्लो खण्डमा बस्ने दाजुको परिवारले खोलामा हालेको फोहोर तल्लो खण्डमा बस्ने भाइको परिवारको पानीमा मिसिँएर बिरामीको उपचार गर्दागर्दै मान्छे नि गए, दुवै परिवारको घरखे नि गयो, बाँचेका अहिले ठन्डाराम । 

• घरको आँगनको २/४ इन्च जमिन जाला भनेर पाखुरा सुर्कँदै बाटो बढाउन नदिँएर पोहोर साल बुज्रुक्याइँ र रमिता देखाएका पिपलटारे जेठानको घर दमकल आउन नसकेर यसपालि आगोले खाएपछि बूढाको तारै खुस्कियो ।

• सार्वजनिक चउर बनाउन आधा आना जग्गा छोडौं भन्ने सल्लाह हुँदा मारपिट चल्यो, अर्को साल भूकम्पले हल्लाउँदा भाग्ने ठाउँ नभएर कत्लेबा र ज्यामिर वकिलसहित सुन्दरटोलका २० जनालाई भूकम्पले निल्यो ।

• सबै मिलेर एउटा पार्क बनाउँ न भन्ने सल्लाह नमिलेर बखानपुर शहरका टोलबासीबीच कुटाकुट भयो, छोरालाई भुलाउन बाटोमा लिएर फुटबल खेल्न तम्सिएका बखानपुरे परासर बा र छोरीलार्इ हातमा समातेर ताते गराउँदै हिँडेकी लक्ष्मी दिदीलाई  हुइँकिएर आएको गाडीले बजाएर हंस उडाइदियो ।

• गाडीको डरले बाहिर निस्कन नसक्ने बुइपा टोलका प्रोफेसर डिलाराम काका आफ्ना छोराछोरीलाई च्यान गेट तानेर सँधै भित्रै थुन्नुपर्ने बाध्यतामा पर्दा छोरा र छोरी दुवैमा अटिजम देखिएर रूँदै हिडेका छन् । 

• पति परदेशिएपछि सुख खोज्दै काठमाडौं पसेकी च्यान्टी दिनभर गिटी, बालुवा र इँटा बोक्न परिन्, दुईटा बालबच्चा राम्रो स्कुल पठाएर डाक्टर इन्जिनियर बनाउने सपना तब तुहियो जब दैनिक चाउचाउको भरमा स्कुल पठाउने गरिएका बालबच्चा दुवैलाई ब्लड क्यान्सर देखियो । 

• आम्मामामामा ! पानीको त क्या सुख भो भन्दै हनबेर्ने टोलमा ठूल्ठूला बोरिङ्ग मेसिन गाढेर प्रत्येक घरमा पानीको फोहोरा लगेर दिनै पखाले । पानी बाथरूम, ढल, सिमेन्टको कुलो हुँदै बगेर अन्तै गयो । पोहोर साल परकम्पले थर्काउँदा टोलका सबै घर छतबाट जमिनमै फुत्रुक्क हामफाल्न मिल्ने गरी सुतुतुतुतुतुतुतुतु तल गाडिए । चेतावनी रैछ प्रकृतिको, बाँकी त रह्यो सास, तर जमिनमुनिको बास । 

• सबैले झ्यापका झ्याप नोट छापेको सुनेर गाउँको बारी सबै बाँझो राखी गोलघरको च्यामे श्रीमति र एक छोरालार्इ सहरमा कोठा खोजिदिएर अरब हान्नियो । मरूभूमिमा दिनको १९ घन्टा उँट चराएर मासिक १५ हजार घरखर्च पठाउँथ्यो । बूढीले उताको दुःख बुझिन, यत्तिकै रैछन सुखका दिन भन्दै धनविरेसँग ट्यान्टरम्यान्टर गरेर सबै कुम्ल्याएर सुइँकेको खबर पाएपछि च्यामे मरूभूमिमै ढल्दा पानी छ्याप्ने र छ्याप्ने पानीसम्म पनि पाएन । थेत ! 

• उब्जाउ हुने जमिनमा भटाभट कंक्रिटको घर थुपारेर भएको पाखोरेखोमा पनि दुःख भो भनेर उपरखुट्टी लाउने र खाने बेलामा यसो बजारतिर चामल र तिहुनताहुन खोज्न हिँड्ने बानी लागेका हंसपुर सहरका मान्छे तीन वर्षपछि सबै हँहँ गर्न थालेपछि अस्पताल जाँदा आयातित विषादीले सर्पले निलेर फुत्किएको भ्यागुतोजस्तो खाइ पो सकेछ ज्यान, तेसिमालाने । सबलार्इ क्यान्सर । हैट !

• साइकल चढ्दा इज्जत भएन भनेर बैंकबाट ऋण निकाली गाडीमा फुइँ लाउन तम्सिएका पुडासैनी काका भतिज बिहेमा जन्ति जान र भोज खान भनेर बिहान १० बजे घरबाट निस्केका । ट्यूरो मोटरसाइकलमा पछि लागेको छिमेकी रम्तेल जन्ति गएर खाइवरी फर्किँदा त काका त आधा बाटैमा जाममा प्वाँप्वाँ हरन दाबिरहेका । फूर्तिले धुलो चटाएच काकालाई  भन्दै फर्के चोरबाटो हुँदै घर छिमेकी ।

• सीप सिकेर बाको छँदाखाँदाको कुटीर उद्योग सम्हाल्न छोडेर पैसाको भारी ल्याउन विदेश छिरेको पिड्के गाउँको श्यामेलाई गोराले लोथ फर्काएछ । ५०/१०० किलोका माछा बोक्ताबोक्ता बल्लतल्ल ३ वर्षमा फर्किँदा ५ लाख रूप्पे बोकेर फर्कियो । एकदिच च्वास्स भुँडी दुखेर जचाउँदा त दुवै मिर्गौला चट । बाको कुटीर उद्योग झिरिप, मान्छे नि चिरिप !

कट्टर काइँला बा घरको आँगन

संम्बधित खबर