प्रवास

एनआरएनए क्यानडा निर्वाचन : ४ जना पुरानै अनुहार, अध्यक्षमा थापा र घिमिरेको चर्चा 

बद्री तिमल्सिना 

एनआरएनए क्यानडा निर्वाचन : ४ जना पुरानै अनुहार, अध्यक्षमा थापा र घिमिरेको चर्चा 

टोरोन्टो ।  गैरआवासीय नेपाली संघ एनआरएनए क्यानडाको निर्वाचन सम्पन्न भएसंँगै अब कसलाई नेतृत्व दिने भन्ने विषयमा बहसको विषय बन्न थालेको छ ।  वर्तमान महासचिव चिरन्जिवी घिमिरे र तेस्रो पटकसम्म कार्य समितिमा बसेर काम गरेका उज्वल थापाको नाम चर्चामा आउन थालेको छ । तर जो गए पनि सर्वसम्मत बनाएर लैजानु पर्नेमा धेरैको जोड छ । कसलाई अध्यक्षमा लैजान भन्ने विषयमा अहिले छलफलको प्रक्रिया अघि बढाउन सुरु गरिएको एनआरएनए क्यानडाका वर्तमान अध्यक्ष गोपी काफ्लेले बताए । 

उता प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश थापा बाहिर हल्ला भएजस्तो नभएर जो सुकै व्यक्ति पनि सर्वसम्मत बनाएरै लैजानु पर्ने बताउछन् । तर अहिलेको माहोलमा थापा र घिमिरेबीच एकजनालाई सर्वसम्मत गरेर लैजाने सम्भावना उतिकै रहेको उनको भनाइ छ । 

हालै मात्र क्यानडाका विभिन्न शहरहरुमा सम्पन्न निर्वाचनमा कुल १३ एनसिसी सदस्य निर्वाचित भएका छन् । जसमध्ये ४ जना पूरानै अनुहारका छन् । सबैभन्दा धेरै पटक निर्वाचित भएका उज्जल थापा तेस्रो पटक निर्वाचित भएका हुन् भने वर्तमान महासचिव घिमिरे, तुला भट्टचन, देवेन्द्र सुवेदी पनि यसअघि एनआरएनएको कार्यकालमा काम गरिसकेका व्यक्ति हुन् । 

हालै सम्पन्न निर्वाचनमा ब्राम्पटन, मिसिसागामा र स्कारबोरो क्षेत्रमा नेपालकै जस्तो चुनावको झल्को देखिने गरि उम्मेद्धारहरुबीच कडा प्रतिस्पर्धा भयो, यस दौडमा सबै प्रतिस्पर्धीहरुले राम्रै एक्सरसाइज गरे । बाहिरीरुपमा नभनिए पनि भित्री कुरा दुइ फरक राजनीतिक विचार समुहबीचको प्रतिस्पर्धा नै हो भन्न सकिन्छ । निर्वाचनमा जनसम्पर्क समिति क्यानडा ( डेमोक्रयाट) र प्रगतिशिल युवा समाज ( वामपन्थी )का उम्मेद्वारहरु बीच नै प्रतिस्पर्धा भएको थियो ।

मतपरिणाम पछि प्रगतिशिललाई स्पष्ट बहुमत  मिलेको छ, उसले कुल १३ सिट सदस्य मध्ये आफ्ना ९  सदस्य पाएको छ भने जनसम्पर्क समितिले कुल ४ सदस्य पाएको छ । निर्वाचनको परिणाम पछि मिसिसागा क्षेत्रमा विजयी केहि उम्मेद्वारहरुले आफ्ना प्रतिद्धन्द्धीलाई पनि उपविजेता बनाएर फूल अविर र माला पहिर्याएका थिए, जसबाट निर्वाचनको दौडानमा भएका केहि तीता मीठा त्यहि अन्त्य भएको महशुस गर्न सकिन्छ । 

सबैभन्दा बढि मतदाता रहेको ब्राम्पटन निर्वाचन क्षेत्रबाट पिताम्बर भटट्राई र दिनेश खतिवडा तथा मिसिसागा निर्वाचन क्षेत्रबाट तुला भटट्चन र विजय पौडेल निर्वाचित भएका छन् । यस्तै टोरोन्टो स्कारबोरो क्षेत्रमा भएको निर्वाचन निकै नै प्रतिस्पर्धात्मक देखियो । जनसम्पर्क समिति र प्रगतिशिल नेपाली समाज क्यानडाका उम्मेद्धारीहरुविच नेपालकै राजनीति झल्काउने गरि प्रतिस्पर्धा भयो । आफूहरुलाई स्वतन्त्र उम्मेद्धार बताउदै आएपनि उनिहरुविच कतै न कतै राजनीतिक गन्ध आएको मतदाताहरु नै बताउंछन् ।

 एउटै साथी सर्कलबाट दुई उम्मेद्धार उठेपछि यस क्षेत्रमा पारिवारिक भोट समेत बाडिने अवस्थामा पुगेको थियो । यस क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर हेमन्त थापा ( उज्वल थापा ) र फडिन्द्र श्रेष्ठ निर्वाचित भए । एक मात्र महिला उम्मेद्धार रश्मि थापालाई भने निर्वाचनको परिणामले साथ दिएन । 

यस्तै निर्वाचन भएका क्यानडाका अन्य सहरमध्ये मोनिटोवाबाट शुशिल दोरंगा र भ्यानकुवरबाट शरद शेरचन निर्वाचित भएका छन् । क्यानडाका ९ निर्वाचन क्षेत्र मध्ये ५ क्षेत्रमा निर्वाचन गराउनु परेको थियो भने अन्य ४ क्षेत्रमा निर्विरोध चयन भइसकेका छन् । यसअघि निर्विरोध भएर भ्यानकुवरबाट अर्जुन रसाइली, क्यालगरिबाट अनन्त आचार्य, सस्क्याचुनबाट देवेन्द्र सुवेदी र टोरोन्टोबाट चिरन्जिवी घिमिरे र सरोज भट्टराई सदस्यमा चुनिइसकेका छन् ।

 निर्वाचित महिला सदस्यको संख्या भने यसपटक शून्य रहेको छ । सबै क्षेत्रमा भएका निर्वाचन शान्तिपूर्ण, प्रजातान्त्रिक एवं प्रक्रियागत ढंगले सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त चन्द्र राइले जानकारी दिए । निर्वाचन सम्पन्न भएसंगै निर्वाचित सबै सदस्यहरुले साथ र सहयोग गर्ने मतदाता तथा समर्थकहरुलाई धन्यवाद दिदै एनआरएनए क्यानडालाई नयां संस्कारको बाटोमा लैजाने प्रतिवद्धता जनाएका छन् । यहि अगस्ट महिनाको १७ मा हुने १२ औं साधारणसभाबाट एनआरएनए क्यानडाको नयां कार्यसमितिको टुंगो लाग्ने अध्यक्ष गोपी काफ्लेले जानकारी दिए ।