अखाद्य वस्तु मिसावटको अपराध

अखाद्य वस्तु मिसावटको अपराध

खाद्य पदार्थमा मिसावटको भयले नेपाली समाज आक्रान्त छ । रातारात धनी हुन चाहने व्यापारिक मनोवृत्ति, जागिरका लागि जागिर खाने सरकारी कर्मचारी र अपराधलाई संरक्षण गर्ने राजनीतिका कारण उपभोक्ता अधिकार कागजमा सीमित बन्दै गएको छ । जसका कारण रुग्ण जनशक्ति देशका लागि बरदान कि अभिषाप ? वास्तवमा यो बहस पेचिलो बनेको छ । पदार्थमा कमसल र सस्तो खालको उही पदार्थ वा मानिसको शरीरलाई हानी पुर्याउने अन्य पदार्थ मिसाउने प्रक्रियालाई मिसावट भनिन्छ । थोरै समयमा धेरै धनार्जन गर्न पल्केका काला कर्तुत मन भएका व्यापारी नै यस्तो कुकर्म गर्दछन् । जसले गर्दा कुपोषणको समस्या बढ्न थाल्छ । आफ्ना उपभोक्तालाई दुई चार चिल्ला तर झूठा शब्दहरुले मख्ख पारी तिनीहरुको स्वास्थ्यमाथि खेलबाड गर्ने  ती व्यापारीदेखि सदैव सतर्क रहनुपर्छ । उनीहरु ठगेकोमा मख्ख पर्छन् । तर कमसल सामग्री तत्काल चिन्न सकिन्छ । खाद्य पदार्थमा मिसावट छ छैन भनेर विधि यहाँ उल्लेख छ । 

घिउ वा नौनीको परीक्षण : गाई, भैंसीको घिउ वा नौनीमा वनस्पति घिउको मिसावट गर्ने सम्भावना रहन्छ । यसको मिसावट थाहा पाउन एक चम्चा पग्लेको घिउ वा नौनी, त्यतिक्कै चिनी, एक चिम्टी नून र १० मिलि हाइड्रोक्लोरिक एसिड परीक्षण नलीमा राखेर एक मिनेटसम्म राम्ररी हल्लाउनु पर्छ । पाँच मिनेटसम्म नलीलाई उभ्याएर राखिसके पछि परीक्षण नलीको तल्लो भागमा गाढा रातो रंग देखापरेमा त्यो घिउ या नौनीमा मिसावट भएको बुझ्नुपर्छ । 

दूधको परीक्षण : गाईभैंसीको दूधमा पानी मिसाउने गरिन्छ । कतिपयले दूधमा स्टार्च (पीठो, मैदा) पनि मिसाउने गर्छन् । दूधमा कतिसम्म पानी मिसाइएको हो भन्ने पत्ता लगाउन कागतीको रस मिसाएर फाट्न दिएर हेर्न सकिन्छ  । त्यसैगरी सियो डुबाएर पनि यसको शुद्धता नाप्न सकिन्छ । यदि दूध शुद्ध छ भने सियोको टुप्पोमा दूध देखापर्छ । मिसावट भएमा दूध अडिदैन् । एउटा गिलासमा दूध भर्ने र त्यसमा ल्याक्टोमिटर डुबाएर पनि शुद्धता नाप्न सकिन्छ । शुद्ध दूधमा ३० देखि ३४ को अंक दूधको सतहमा रहन्छ । त्यसैगरी दूधमा स्टार्च हालेको भए एक थोपा आयोडिनको घोल दूधमा हालेर हेर्दा नीलो रंगको देखापर्छ  कि पर्दैन भनेर परीक्षण गर्नुपर्छ । यदि निलो रंग देखिएमा स्टार्च हालेको प्रमाणित भयो । दूध उमाल्दा पिंधमा डढ्यो भने स्टार्च मिसाइएको हो भने बुझ्नु पर्छ । 

खुवाको परीक्षण : अक्सर गरेर खुवामा चामलको पीठो, मैदा आदि मिसाएर बजार।मा बेच्ने गरिन्छ । खुवामा मिसावट छ छैन भनेर जाँच्न केही थोपा आयोडिनको घोल खुवामा हालेर हेर्न सकिन्छ । यदि त्यहाँ नीलो रंग देखापर्यो भने त्यो खुवामा गडबडी हुनसक्छ ।

महको परीक्षण : महमा चिनी, गुँड, उखु, स्याउ, मकै आदिको रस वा अरु नै गुलियो पदार्थ हालेर मिसावट गरिएको हुन्छ । धेरै नै बाक्लिएको वा ठोस भएको महलाई शंका गर्नुपर्छ । उखु , स्याउ, चिनी, केरा आदिको रस मिसाइएको भए महमा ती बस्तुहरुको रस तैरिन्छ । शुद्ध महलाई कुकुरले चाट्दैन् । अर्को घरेलु तरिका के भने शुद्ध मह लुगामा टाँसिदैन् । रुवाको बत्ती महमा भिजाएर बाल्दा सजिलै बल्छ । एक थोपा महलाई पानीमा हालेर पनि यसको परीक्षण गर्न सकिन्छ । पानीमा मह घोलियो भने त्यो मिसावट भएको बुझ्नुपर्छ । शुद्ध मह पानीमा घोलिदैन् । 

हिङको परीक्षण विधि : शुद्ध हिङलाई आगोमा राख्दा चहकिलो ज्वाला निकालेर बल्नुको साथै बासना पनि आउँछ । पानीमा शुद्ध हिङ मिलाउँदा पानी दूधालु हुन्छ । यसैगरी जीब्रोमा राख्द जीब्रो परपराएमा वा तीतो लागेमा शुद्ध हिङ भएको बुझ्नु पर्छ । 

तोरी तेलको परीक्षण : तोरीको तेलमा आर्जेमोन नामको विषालु तेल मिसाएर बजारमा बेच्ने गरिन्छ । शुद्ध तोरी तेल पहेँलो हुन्छ । अशुद्ध तोरी तेलमा हरियोपनको मात्रा मिसिएको हुन्छ । हाइड्रोक्लोरिक एसिडमा दुई चार थोपा तेल हालेर केही समयपछि विस्तारै फेरि क्लोराइड मिसाएर परीक्षण गर्न सकिन्छ । तेलमा आर्जेमोन नामक उक्त विषालु तेल मिसाइएको भए रातो खैरो रंग छुट्टिन्छ । 

बेसारको परीक्षण : बेसारमा मेटानिल नाम विषालु पहेँलो रंग मिसाएर बेच्ने गरेको पाइन्छ । बेसारमा मिसावट छ छैन भनेर परीक्षण गर्न बेसारको धूलोको घोल बनाउने र त्यसमा कन्सन्ट्रेटेड हाइड्रोक्लोरिङ एसिड हाल्ने गर्नुपर्छ । यसो गर्दा त्यहाँ गुलावी रंग देखा पर्दछ भने उक्त विषालु पहेँलो रंगको मिसावट भएको स्पष्ट हुन्छ । 

मरिचको परीक्षण : मेवाको बीउ मिसाएर मरिचमा मिसावट गरिएको हुन्छ । यसको परीक्षणका लागि दुईचार दाना मुखमा चपाएर हेर्न सकिन्छ । चपाउँदा पीरो हुँदैन भने त्यहाँ मेवाको बीउ रहेको बुझ्न पर्दछ । 

चिनीको परीक्षण : चिनीमा चक, पाउडरजस्ता पदार्थ मिसाइएको हुनसक्छ । तसर्थ यसलाई अलिकति पानीको गिलासमा फिट्नु पर्छ । यसरी फिटिसकेपछि साँच्चै मिसावट गरिएको छ भने ती पदार्थ गिलासको सतहमा तैरिन्छ । 

धनिया धूलो परीक्षण : धनियाको धूलोमा काठको धूलो वा धानको ढूटो मिसाएर नराम्रोसंग मिसावट गरिएको पाइन्छ । यसको परीक्षणको लागि धनियाँको धूलोमा आयोडिनको घोल हाल्नु पर्छ । यदि त्यहाँ कालो हुन गयो मिसावट भएको निश्चित हुन आउँछ । 
 

खाद्य पदार्थ मिसावट

संम्बधित खबर