अपराध सुरक्षा

फेवाताल अतिक्रमण प्रकरण : प्रधानमन्त्रीलाई अवहेलना मुद्दा, फैसलाको फाइल साथै राख्न आदेश

फेवाताल अतिक्रमण प्रकरण : प्रधानमन्त्रीलाई अवहेलना मुद्दा, फैसलाको फाइल साथै राख्न आदेश

काठमाडौं । फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ। अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव डिल्लिराम घिमिरे, भूमि मन्त्रालयका सचिव सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ र प्रदेशमन्त्री विकास लम्सालसिहत ९ जनालाई विपक्षी बनाएर अवहेलना मुद्दा दायर गरेका हुन्।

सर्वोच्च अदालतको आदेशले प्रधानमन्त्री कार्यालयदेखि स्थानीय सरकारसम्मलाई कामको जिम्मेवारी तोके पनि त्यसको कार्यान्वनको लागि ढिलासुस्ती भइरहेको समयमा अवलेहनाको मुद्दा परेको हो। अवहेलना मुद्दाको पहिलो सुनुवाइसमेत भएको छ। मुद्दामा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले फेवाताल प्रकरणबारेको फाइल साथै राख्ने आदेश गरेको छ।

फैसला कार्यान्वयन गर्ने दायित्व आइपरे पनि त्यसको पालना नगरेको भन्दै अवहेलनामा एक वर्ष कैद र १० हजार जरिबानाको माग गरिएको छ। फेवाताल अतिक्रमण मुद्दामा न्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश सपना प्रधान मल्लको इजलासबाट २०७५ वैशाख १६ गते परमादेशको आदेश जारी भएको थियो।
निर्दिष्ट म्यादभित्र फेवातालको सिमांकन गरी चार किल्ला निर्धारण गरेको नदेखिएको हुँदा उक्त फैसलाको उल्लंघन हुन गएको वकिल सुवेदीको दावी छ। फैसला प्राप्त गरेको ६ महिना २०७ साउन ४ भित्र तालको किनारबाट ६५ मिटरभित्र बनेका अनियमित घर, होटल लगायतका स्थायी वा अस्थायी संरचना हटाउनु भनी परमादेशको आदेश जारी भएकोमा सो को पालना नगरी चुप लागी बसी अदालतको मर्यादामा ठेस र्पुयाएको उनको जिकिर छ। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

केपी शर्मा ओली