अन्तरवार्ता भिडियो Breaking News कभर स्टोरी

संघीयता र धर्मनिरपेक्षता खारेजी नै कांग्रेसको एजेण्डा हुनुपर्छ  ( भिडियोसहित ) 

कश्मिरको विषयमा नबोलेर जित्नु बुद्धिमानी

संघीयता र धर्मनिरपेक्षता खारेजी नै कांग्रेसको एजेण्डा हुनुपर्छ  ( भिडियोसहित ) 

नेपाली कांग्रेस सिद्धान्त र एउटा विचारमा हिंड्ने पार्टी भएपनि यसको नीतिका सम्बन्धमा थुप्रै प्रश्न उठिरहेका छन् । नामले प्रजातान्त्रिक पार्टी भनिए पनि सबैको ध्यान पद र प्रतिष्ठामै देखिन्छ । 

जारी केन्द्रीय समिति बैठकमा आगामी महाधिवेशनबारे चर्को कुरा उठ्नु पदप्रतिको आशक्ति हो । संस्थापन र संस्थापन इतर दुवै पक्ष आ–आफनो स्थिति बलियो कसरी बनाउन सकिन्छ भन्ने ध्याउन्नमा छन् । 

कांग्रेसलाई बैचारिक रुपले कसरी बलियो बनाउने, तात्कालिक राजनीतिक मुद्दामा कस्तो धारणा बनाउने, संविधानका विवादित अन्तर्वस्तुमा के गर्ने लगायतका विषयमा कांग्रेस भित्रै मतभेद छ । यी विषयमा कांग्रेसमा पारदर्शी ढंगले छलफल समेत हुन सकेको छैन । 

कांग्रेसका नेता विनयध्वज चन्द भन्छन्, ‘कांग्रेसमा नेता भए पो छलफल हुन्छ । नेता नै छैनन्, प्रायः सबै एजेन्ट छन् । नेताले मागनिर्देश गर्नुपर्छ, दिशानिर्देश गर्नुपर्छ । यहाँ त सबै कसरी सत्तामा पुग्ने र धन थुपार्ने ध्याउन्नमा मात्र छन् । यिनीहरुले कांग्रेस पनि बिगारे र देश पनि डुबाए । ’

नेता चन्दका अनुसार कांग्रेसले अब ढुलमुले नीति लिएर हुँदैन । संघीयता र धर्मनिरपेक्षता खारेज गर्नुपर्छ भन्ने निर्णय गरेर स्पष्ट ढंगले अघि बढ्न सक्नु पर्छ । जबसम्म यो देशमा धर्मनिरपेक्षता र संघीयता रहन्छ, तबसम्म देश कहिल्यै उँभो लाग्दैन । देश समाप्त हुने दिशामा जाँदैछ । 

अर्को कुरा गणतन्त्रको पनि छ । नेपालका कम्युनिष्टहरुले भनेको गणतन्त्र र कांग्रेसले मानेको गणतन्त्र फरक हो । कम्युनिष्टहरुले भनेको गणतन्त्र कांग्रेसले मान्दैन । यो कुरा कांग्रेसले आफना कार्यकर्ता र देशभरका जनतालाई बुझाउनु पर्दछ । अहिलेको संविधानमा कतिपय चित्त नबुझेका कुराहरु छन्, ती विषयमा स्पष्ट भएर फाल्नुपर्ने कुरा फाल्ने र सच्याउनुपर्ने कुरा सच्याएर अघि बढ्ने तागत राख्नु पर्दछ । 

राष्ट्रिय अस्मिता संकटमा 

कांग्रेसलाई जनताको पार्टी बनाएर अघि लैजाने सम्भावना अझै छ । यसका लागि इमान्दार र प्रतिबद्ध नेताहरुलाई ठाउँ दिनुपर्छ । धोकाधडी गर्ने र विदेशीको एजेन्टहरुलाई मात्र ठाउँ दिने हो भने त राष्ट्रिय अस्मिता समाप्त भएको टुलुटुलु हेर्नु सिवाय केही हुँदैन । 

अहिले मुलुकको राष्ट्रिय अस्मिता संकटमा परेको छ । प्रायः सबै पार्टीका अधिकांश नेताहरु विदेशीको इशारामा चल्ने गरेका छन् । कोही ईयूको, कोही अमेरिका, कोही चीन र कोही भारतको इशारामा काम गर्छन् । यसले राष्ट्रिय अस्मिता धुजाधुजा भैरहेको छ, कुनैपनि नेता यो विषयमा गम्भीर नहुनु मुलुकको लागि दुर्भाग्य हो । 

प्रचण्ड हत्यारा 

अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूलाई शान्तिप्रिय नेताका रुपमा देखाइरहेका छन् । पति मारिएकी एक महिलालाई सोधेर हेरौं, प्रचण्ड को हुन ? आफनै आँखा अगाडि छोरी बलात्कृत भएको देखेका बाउलाई सोधैं प्रचण्ड को हुन ? प्राणभन्दा प्यारो छोरा मारिएका बाबुआमालाई सोधौं– प्रचण्ड को हुन ? अहिले नाटक गरेर हुन्छ ? 

वास्तवमा प्रचण्डले भित्रभित्रै डरले थुरथुर भएका छन् । उनको मनमा भित्रभित्रै आफूले गरेको अपराधले पोलिरहेको छ । आफूले गरेको अपराधको सजाय भोग्नुपर्छ कि भन्ने चिन्ताको लाभाले गालिरहेको छ । प्रचण्ड त यो देशका आतंकवादी र हत्यारा हुन् । 

प्रधानमन्त्री बन्ने दाउमा प्रचण्ड

अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुने खेल खेलिरहेका छन् । उनको दुबई भ्रमण र स्वदेशमै पार्टीका शीर्ष नेताहरुसंगको गोप्य भेटघाट यसैको एउटा कडी हो । उनी प्रधानमन्त्री हुन जस्तोसुकै निर्णय गर्न पनि पछि पर्दैनन् । यो निश्चित छ कि प्रचण्ड प्रधानमन्त्री बन्ने स्थिति भएन भने उनले पार्टी फुटाउँछन् । 

प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली एक सिक्काका दुई पाटा हुन् । प्रचण्ड र ओली दुवै एक अर्काका लागि खतरा हुन् । उनीहरु दुवै मिलेर पार्टी र देशलाई कसरी अगाडि बढाउने भन्नेमा नभई एक अर्कालाई कसरी सिध्याउने भन्ने षडयन्त्रमा लागेका छन् । 

जम्मु काश्मिरमा मौनता

भारतको जम्मु काश्मिरका विषयमा भारत सरकारले गरेको निर्णयमा नेपाल मौन रहनु नै उत्कृष्ट कुटनीति हुन्छ । हतारमा बोलेर फुर्सदमा पछुताउनु भन्दा यो विषयमा सबै राजनीतिक दल, विज्ञ र सरोकारवाला पक्षसंग बृहत परामर्श गरी निष्कर्षमा पुग्नुपर्ने हुन्छ । 

कुनै खास विशेष नेता, दल वा सरकार बोल्नुभन्दा पनि यो विषयमा देश बोल्नुपर्छ । सबैको सामुहिक निर्णय नै देशको आवाज हो । भारतको मामिलामा मात्र नभइ कुनैपनि महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा देश बोल्नुपर्छ । यसअघि भेनेजुयला, क्यूवा लगायतका विषयमा प्रचण्डको अभिव्यक्ति केटाकेटीपन हो ।