अन्तरवार्ता भिडियो कभर स्टोरी देश

फेल पनि नहुने, पढन पनि नपाउने कस्तो शैक्षिक सुधार ?

फेल पनि नहुने, पढन पनि नपाउने कस्तो शैक्षिक सुधार ?

एसईई परीक्षाको नतिजा आएसँगै अहिले देशभरका ‘प्लस टु’ विद्यालयहरुमा भर्नाको चाप छ । विद्यालयहरुबीच पनि विद्यार्थीहरुलाई आफूतिर तान्न रस्साकस्सी नै चलेको छ ।  राम्रो ग्रेडिङ ल्याएका विद्यार्थीलाई विद्यालयहरुले विभिन्न प्रलोभन देखाएर आफूकहाँ तान्ने प्रयास गरिरहेका छन् । 

उच्च माध्यमिक विद्यालय संघ, नेपाल हिसानका वरिष्ठ उपाध्यक्ष नवराज पाण्डे भन्छन्, ‘फोर जीपीए ल्याएका विद्यार्थीलाई निःशुल्क पढाउने मात्र होइन अन्य सुविधा पनि दिइन्छ । ल्यापटप, शैक्षिक सामग्री, कतिपयलाई नगद लगायत विभिन्न सुविधा दिएर पनि राम्रो जीपीए ल्याएको विद्यार्थीलाई आफू कहाँ भर्ना गर्ने प्रयास गरिन्छ । दुई चार जना राम्रा विद्यार्थी भर्ना हुँदा त्यसले अन्य विद्यार्थीलाई पनि आकर्षित गर्ने गर्छ । साथै, विद्यालयको नजिता पनि उत्कृष्ट आउने भएकाले यसतर्फ विद्यालय संचालकहरुको बढी ध्यान जानु स्वाभाविक हो ।’

">

नेपालमा धेरैजसो विद्यार्थीको आकर्षण विज्ञान विषयमा बढी देखिन्छ । एउटा त उम्दा विद्यार्थीले विज्ञान नै पढ्नुपर्छ भन्ने  आम मानिसको मनोविज्ञान छ भने अर्कोतर्फ आफनो सन्तान इन्जिनियर र  डाक्टर नै बनाउनुपर्छ भन्ने परम्परागत सोचका कारण विज्ञान विषयमा आकर्षण बढी देखिएको हो । 

विद्यार्थीले कुनै पनि विषय पढ्न पाउनुपर्छ र सबै विषयको आ–आफनो महत्व र भूमिका छ भन्ने कुरा बुझाउन पनि जरुरी छ । 
नोबेल एकेडेमी तथा नोबेल अस्पतालको सञ्चालक समेत रहेका पाण्डे भन्छन्, ‘अहिले ग्रेडिङ प्रणालीले कम ग्रेड ल्याएका विद्यार्थीलाई पढन नपाउने पनि व्यवस्था गरेको छ । यो आफैंमा विरोधाभाषपूर्ण भयो । एकातर्फ फेल नहुने व्यवस्था गर्ने, अर्कोतर्फ पढन पाउने व्यवस्था नराख्ने, यसलाई सच्याउनुपर्छ भनेर हामीले सरकारलाई भनिसकेका छौं ।’

अहिले कतिपय विद्यालयहरुको पूर्वाधार मापदण्ड पुगेको देखिदैन । सिकाइको गुणस्तरमा पनि कमी देखिन्छ । अभिभावकहरुले आफना विद्यार्थीलाई भर्ना गर्दा यी कुरामा ध्यान दिन जरुरी छ । हुन त अहिलेका विद्यार्थी अभिभावक भन्दा दुई कदम अगाडि छन् । उनीहरुले सबथोक बुझिसकेका हुन्छन्, तैपनि अभिभावक चनाखो हुन जरुरी छ ।

 ">

नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन केन्द्र बनेको स्वीकार गर्दै उपाध्यक्ष पाण्डेले भने, ‘सरकारले पहिले विकास गर्नुपर्यो । रोजगारीका अवसर सृजना गर्न पर्यो । हामी त उपयुक्त जनशक्ति उत्पादन गर्ने मात्र हौं । त्यस्तो जनशक्तिलाई खपत गर्ने काम सरकारले गर्न सक्दैन भने विद्यार्थीहरु विदेश त जान्छन् । यो स्वाभाविक कुरा हो । कोही पढ्न जान्छन्, कोही पढ्ने बाहानामा कष्टपूर्ण कामका लागि पनि जान्छन् । ’
उपाध्यक्ष पाण्डेका अनुसार नेपालको शिक्षा भनेको अहिले विदेशमा कामदार ओसार्ने प्रणाली जस्तै भएको छ । जबसम्म मुलुकमा राम्रो आयआर्जनको अवसर सृजना हुँदैन, यो नियति दोहोरिने निश्चित छ । 

पाण्डे भन्छन्, ‘छात्रवृत्रिमा विदेशमा गएकाहरु बाहेक प्रायः सबै विद्यार्थीको शैक्षिक जीवन जोखिममा छ । उनीहरुको पढाइ कुनै हालतमा अघि बढ्नेवाला छैन । उनीहरु त्यहाँ दुःख गरेर न्यून तहको काम गरिरहेका छन् । म त विभिन्न देश गएर देखेर आएको छु । ठूलो दुःख गरेर उनीहरु घरमा आमा बुवालाई पैसा पठाइरहेका छन् । आफनो पढाइ खर्च पनि जुटाउँछन् । यो तरिकाले पढाइ हुँदैन । उनीहरुले पढेर, सीप सिकेर पछि देशको लागि केही गर्ला भन्नु दिवास्वप्न मात्र हो । ’

नेपालमा शिक्षाको अवस्था वास्तवमा ठीक छैन । सरकारी तथा सामुदायिक विद्यालयको गुणस्तर सुध्रिन नसक्ने र निजी संघसंस्थालाई माफियाको ट्याग लगाइरहने हो भने शिक्षा ठगी खाने भाँडो मात्र हुने निश्चित छ । सरकारले निजीक्षेत्रलाई प्रोत्साहनको नीति लिनुपर्नेमा उल्टो माफियाका 
रुपमा व्यवहार गर्न थालेको देखिन्छ । 

">

विद्यार्थी संगठन, अभिभावक तथा अन्य क्षेत्रबाट समेत निजी विद्यालय भनेको लुट्नकै लागि हो भन्ने आरोप लगाउने गरेका छन् । अझ विद्यार्थी संगठन र तिनका नेताहरुले त सहयोगको नाममा दिनुसम्म दुःख दिने गरेका छन् । उनीहरुलाई आर्थिक सहयोग नगर्ने हो भने विद्यालय नै चलाउन सकिने अवस्था छैन । उनीहरुले आएर बन्द गरिहाल्छन्, सवारीसाधनमाथि तोडफोड सुरु गरिहाल्छन् । 

पाण्डे भन्छन्, ‘यो सबै रकम हामीले अभिभावकबाट उठाउनु पर्छ । यसको मारमा विद्यार्थी र अभिभावक नै परेका छन् । के गर्ने ? यहाँ यस्तै चलन चलाएका छन् । कि काम छोडेर भाग्नु पर्यो, कि यहींको चलेको संस्कृति मान्नु पर्यो ।’

">
    


 

एसईई परीक्षा
ADVERTISEMENT