खेल

नेपालद्वारा सिंगापुरलाई ३२७ रनको लक्ष्य, रित गाैतमकाे शतक 

नेपालद्वारा सिंगापुरलाई ३२७ रनको लक्ष्य, रित गाैतमकाे शतक 

काठमाडौंः मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो  खेलमा नेपालले सिंगापुरलाई ३२७ लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।

 

नेपालका लागि ओपनर रित गौतमले शतक बनाए । उनले नट आउट १३७ बलमा ११५ रन बनाए । यस्तै खडक बोहराले ९० बलमा ९०, कुसल मल्लले नट आउट २३ बलमा ५१ रनको योगदान दिए । यस्तै पवन सराफ ४५, कप्तान रोहित पौडेल ७ र विशालविक्रम केसी १ रनमा आउट भए । बलिङमा सिंगापुरका  राजेश कृष्णन र भिनित चितेश मेहताले समान २ विकेट हात पारे । किनारारा ओभल क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले आज तीन खेलाडी हेरफेर गरेको छ । चीन विरुद्धको खेलमा आराम दिएका कुशल मल्ल, विशाल बिक्रम केसी र तीब्र गतिका बलर राशिद खानलाई आज प्लेइङ–११ मा समावेश गरिएको छ ।  

 

अघिल्लो खेलमा टिममा स्थान पाएका प्रतिस जिसी, कमलसिंह ऐरी र लोकेश बमलाई आज आराम दिइएको हो । यदि सिंगापुरलाई हराए नेपाल समूह विजेता बन्नेछ । पहिलो खेलमा चीनविरुद्ध १० विकेटले विजयी भएको नेपाली टिम आत्मविश्वासले भरिएको छ ।

 

साथै उक्त जीतसँगै नेपाल सेमिफाइनलमा स्थान बनाउन सफलसमेत भइसकेको छ । समूह ‘ए’ मा रहेको नेपाल अंक तालिकाको शीर्ष र सिंगापुर दोस्रो स्थानमा छ । चीन अंकविहीन रहेको छ । हालसम्म नेपाल र सिंगापुरबीच १० पटक खेल भएको छ । जसमा नेपाल ९ खेलमा जीत दर्ता गर्न सफल भएको छ । एक खेल प्रतिकूल मौसमका कारण नतिजाविहीन भएको थियो ।  

 

  

रित गाैतम नेपाल भर्सेस सिंगापुर