झापामा हात्ती नियन्त्रणका लागि ६ करोड : वनमन्त्री

झापामा हात्ती नियन्त्रणका लागि ६ करोड : वनमन्त्री

वनमन्त्री शक्ति बस्नेतले चालू आर्थिक वर्ष झापामा हात्ती नियन्त्रणका लागि  ६ करोड विनियोजन गरिएको जानकारी दिनुभएको छ । उहाँले वन्यजन्तु व्यवस्थापनका लागि सरोकारवालासंगको समन्वयमा सरकारले थुप्रै प्रभावकारी योजना अघि बढाएको बताउनुभयो । 

 विनियोजन विधेयक, २०७६ माथि वन तथा वातावरण मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “वनलाई आर्थिक विकास, प्रकृतिमा आधारित पर्यटन, उद्यमशीलता र काठमा आत्मनिर्भर बनाउने गरी काम अगाडि बढेको छ ।”

मन्त्री बस्नेतले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा सरकारले गरेको जानकारी दिँदै नेपाल आउने कूल पर्यटकमध्ये ६० प्रतिशत बढी पर्यटक संरक्षण क्षेत्रमा जाने गरेको तथ्याङ्क पेश गर्नुभयो ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउन पनि संरक्षण क्षेत्रमा थप पर्यटक पुर्याउन लाग्नुपर्नेमा जोड दिँदै उहाँले संरक्षण क्षेत्रमा पर्यटकलाई सेवा दिन अगाडि सारिएका केही कार्यक्रमलाई अनावश्यकरूपमा चर्चा गरिएकोप्रति गुनासो व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले वृक्षारोपण वर्षलाई अझ प्रभावकारी बनाउन निर्देशिका, अवधारणापत्र तयार भएको, वृक्षारोपण कार्यक्रम एकाइ गठन गरेर जानेतर्फ सोच राखिएको जानकारी दिनुभयो ।

सरकारका नर्सरीमा नै दुई करोड र निजी नर्सरीमा थप तीन करोड बिरुवा रहेको बताउँदै उहाँले वृक्षरोपण गरिएको बिरुवालाई संरक्षण गर्नु सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा सरोकार भएका सबै निकाय एवं आम नागरिकको समेत दायित्व भएको स्पष्ट पार्नुभयो ।

मन्त्री बस्नेतले चुरे क्षेत्रको संरक्षणका लागि योजनाबद्ध प्रयास भइरहेको र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाइने दृढता व्यक्त गर्दै मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले त्यसलाई न्यूनीकरण, व्यवस्थापन गर्न साझा प्रयास जरुरी रहेको जानकारी दिनुभयो ।


हरियाली प्रवद्र्धन, फोहरमैला व्यवस्थापन, शहरी क्षेत्रमा प्रदुषण नियन्त्रण र हरित ग्यास उत्सर्जनलाई कम गर्नका लागि पनि योजनाबद्ध प्रयास गरिने उहाँले सदनलाई जानकारी गराउनुभयो । मन्त्री बस्नेतले नदी जलाधार क्षेत्रको संरक्षणका लागि तीन वटै सरकारले योजनाबद्ध प्रयास गरेको र भू–संरक्षणको काम समेत शुरु भएकोे स्पष्ट पार्नुभयो ।
 

वनमन्त्री शक्ति बस्नेत

संम्बधित खबर