प्रवास

आकाश यात्राकी  आमा

आकाश यात्राकी  आमा

काठमाडौं न्यूरोडकी सुमिका बज्राचार्य एक दशकअघि सम्म टीभीमा समाचार पढ्थिन् । मिस नेपालको टपटेन प्रतिस्पर्धी पनि भइन् । नेपालभाषाको फिचर फिल्म, टेलिफिल्म पनि खेलिन् ।  मोडलिङ गरिन् ।  यी सवै कर्मले उनको तिर्खा मेटिएन् । सानैदेखि हिँड्ने, घुम्नेको शोख थियो । पैसा तिरेर घुमफिर गर्न सम्भव थिएन् । सञ्चारकर्ममै रहँदा ओमान एयरले एयर होस्टेजको आवश्यकता खुलायो । ‘भगवानले तँ चिता म पुर्याउँछु’ भने झै भयो । उनले तत्काल आवेदन दिइन् । ओमान एयरका प्रतिनिधि काठमाडौं आएर अन्तर्वार्ता लिए । केही दिनपछि उनी छानिएको खबर आयो । अपवाद छोडेर काठमाडौंको चारकिल्ला नकटेकी सुमिकाका लागि परदेशको जागिर कल्पना बाहिरको थियो । परिवारमा एकप्रकारको सन्नाटा छायो । आखिर आकाश परीको जागिरका लागि उनी लागिन– ओमान ।

 

केही समयको तालिमपछि उनी उत्रिइन् कार्यक्षेत्रमा । शुरुका दिनमा काम बिग्रेला, भत्केला भन्ने त्राहीमाम भयो । हरेक काममा उनी जिज्ञासु बन्थिन् । अरुभन्दा केही फरक गर्न पाए हुन्थ्यो भन्ने मनमा लाग्थ्यो । अझ सजिलो के भयो भने ११ जना नेपाली ओमान एयरमा क्याविन क्रू मै काम गर्थे । सानै किन नहोस, जहाजको नेपाली समाजले ‘होम सिक’ हुनबाट बचायो । जीवनमा सोचेअनुसार नै आकाशको यात्रा शुरु भयो । कमाई पनि सन्तोषजनक थियो । ड्यूटीमा सुत्न नपाइने । कुनबेला कुन देशको जमिन छुँदा कति बज्ने हो, पत्तो नहुने । घण्टौं विमानभित्र एसीमा बस्नुपर्ने । न भोक, न निद्रा । यी दुईको तालमेल नमिल्दा शुरु शुरुमा शरीरमा आलस्य बढ्थ्यो । यति हुँदाहुदै पनि दिनैपिच्छे फरक फरक अनुहार अलग, अलग माटोको स्पर्शले सुमिकालाई भोक तिर्खा बिर्साउँथ्यो । 

‘अवतरण गर्ने क्रममा प्लेनको झ्यालबाट देखिने लण्डन, पेरिस, रोम, थाइल्याण्ड, श्रीलंका र नयाँदिल्ली शहरको दृश्यले मलाई सधैं लोभ्याउँछ । कहिलेकाहीँ त त्यहाँको अद्भूत दृश्य हेरेर चिच्याउन मन लाग्छ । यी ठाउँमा जति गएपनि भोक मर्दैन् ।’ ओमान एयरको नेटवर्क रहेको संसारका सवै भाग पुगिसकेकी सुमिका थप्छिन्– ‘यति हुँदाहुँदै पनि नेपालको जस्तो उच्चकोटीको मौसम भएको ठाउँ संसारमा विरलै छ । सानो भूगोलमा यस्तो विविधता कहीँ भेटिदैन् । ओमान एयरको जहाज नेपाल पनि आउँछ । क्याविन नेतृत्व गरेर धेरै पटक नेपाल आएकी छु । विदेशी जहाजमा नेपालीले नेपाली नै एयरहोस्टेज देखेपछि अति आत्मीयता देखाउँछन् । आफ्ना मनका कुरा निर्धक्क भन्छन् । त्यो बेला मलाई जहाजमा नभएर नेपाली घरपरिवारमा बसेको भान हुन्छ ।’

उनीहरुले पालैपालो एयरबस र बोइङमा काम गर्नुपर्छ । एयरबसमा चालक र क्याबिन क्रू को संख्या १२ हुन्छ । सानोमा चालक दल २, क्याविन क्रू ५ जना हुन्छन् । एयरबसमा काम गर्दा महिनाको ६ बोइङमा १५ उडानसम्म गर्नुपर्छ । पारिश्रमिक कति हुन्छ त ? यो निश्चित हुँदैन् । एउटा उडानको ५ सय रियाल न्यूनतम भत्ता हुन्छ ।  सुरक्षित यात्रा, भौतिक तथा आत्मिक सुरक्षा र प्राथमिक उपचार क्याविन क्रू को मुख्य दायित्व हो । क्याविन क्रू भनेको यात्रामा रहेका सयौं यात्रुको यात्राभर आमाको दायित्व निर्वाह गर्नुपर्ने पद हो । जहाजमा काम गर्नु भनेको एक किसिमको यायावर जिन्दगी हो । जुन देश गयो, होटलमा बस्नुपर्छ । पाइलटलाई सुपर डिलक्स, सुपरभाइजरलाई डिलक्स र अन्यलाई भीआईपी कोठा जहाज कम्पनीले नै उपलब्ध गराउँछ । हातमा पैसा पनि हुने । देश विदेश घुम्न पनि पाइने । वास्तवमा बाहिरबाट एकप्रकारको स्वर्ग  देखिन्छ । साथीभाई डाह गर्छन् । सुमिकालाई पनि त्यस्तै लाग्छ । उनी थप्छिन्– ‘हो, नयाँ ठाउँ गयो, बजार घुम्यो । जुन ठाउँ गयो, नयाँ सामान देखिन्छ । किन्न मन लाग्छ । किन्यो, त्यसको उपयोगिता भने छैन् । ओमानमा के  फेसन गरेर हिँड्नु ? जहाजमा आफ्नै युनिफर्म हुन्छ । बजारमेनियाको रोगबाट बच्न आजकल त म बजार नै जान्न होटलमै समय काट्छु । फेरि विदेशमा पैसा कमाउन आउनेले उडाएरै सक्नु पनि भएन् । म त समय र ठाउँ अनुकूल हेरेर दालरोटी बोकेर जान्छु । आकासमा अप्राकृतिक जीवन बाँच्नेको स्वास्थ्यमा थोरै पनि गडबडी भयो भने भविष्य अन्धकार हुन्छ भन्नेमा सचेत छु । त्यसै पनि शरीरमा थोरै एसीको प्रभाव देखिन थालेको छ ।’

ओमान एयरमा करियर बनाएर त्यो भन्दा ठूला जहाज कम्पनीमा काम गर्न पनि जाँदा रहेछन् । सुमिकाका साथी कृष्टिना अष्ट्रेलिया लागिन् । सोफिया चिमोरिया युनाईटेड एयरमा काम पाएर अमेरिका उडिन् । रमिला श्रेष्ठ चाहिँ नेपाल फर्किइन् । प्रसार योगी, बबिता राई, शिष्मा भण्डारी, शितल मास्के उनका अरु साथी हुन् । यिनै मध्येका कति नेपाली त क्याविन क्रू जन्माउने प्रशिक्षक नै बनिसके ।

 

सुमिका अहिले ओमान एयरमा क्याविन डाइरेक्टर भएकी छन् । यो पद क्याविन क्रूको कमाण्डर हो । कमाण्डर हुन कम पापड बेल्नु परेको थिएन् । दिनरात पढेर लिखितमा नाम निकालिन । अन्तर्वार्ताको अग्निपरीक्षा पनि यसरी नै पार गरिन् । जसमा देश विदेशका १ सय २० प्रतिस्पर्धी थिए । सुमिकालाई पद र पैसाले पीछा गर्दै गएको छ । नयाँ नयाँ अवसरका खोजीमा अझै पनि उनको आँखा विचरण गरिरहन्छ । विगत विर्सनु, वर्तमानलाई प्रचुर उपयोग गर्नुमा उनको रुचि छ । त्यसैले भविष्यसंग लिनुदिनु केही छैन् । वर्तमान राम्रो बनाउन सकियो भने भविष्य स्वतः बन्छ भन्ने उनको ठम्याई छ ।

 

सधैं विदेश बसेर काम गर्न सकिन्न भन्नेमा निश्चिन्त सुमिका ५,७ वर्षपछि फर्किएर आफ्नै देशमा कुनै व्यापार व्यवसाय गर्ने सोचमा छिन् । ‘विदेशको जागिर बल, बैंस हुन्जेल मात्र हो । गर्ने त आफ्नै भूमिमा हो । राजनीतिक नेतृत्वले भाषणको साटो आफ्नै देशमा काम गर्ने उचित वातावरण मिलाई दिए हुन्थ्यो ।’ सुमिकाको अभिष्ट छ ।  
 

सुमिका बज्राचार्य